


विद्यालयको नाममा उधारो, निजी घरमा प्रयोग: नमुना मावि लुप्लुङ्गमा बिव्यस अध्यक्षमाथि गम्भीर अनियमितताको आरोप
प्यूठान — नौबहिनी गाउँपालिका–स्थित लुप्लुङ्गको नमुना माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीराम भण्डारीमाथि गम्भीर अनियमितता तथा पद दुरुपयोगको आरोप लागेसँगै विवाद चर्किएको छ। पछिल्लो घटनाक्रमले विद्यालयको शैक्षिक तथा प्रशासनिक वातावरण नै प्रभावित हुने अवस्था सिर्जना भएको देखिन्छ।


प्राप्त विवरण अनुसार अध्यक्ष भण्डारीले विद्यालयको नाममा उधारोमा निर्माण सामग्री खरिद गरी व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोप सार्वजनिक भएको हो। प्यूठान नगरपालिका–८ बाग्दुलास्थित नितेस अडर एण्ड सप्लायर्स का अनुसार विद्यालयको नाममा सिमेन्ट, सरिया, पेन्ट लगायतका सामग्री लगिएको र करिब १ लाख ९० हजार ९ सय २१ रुपैयाँ बराबर रकम हालसम्म विद्यालयकै नाममा बक्यौता रहेको देखिएको छ।

करिब ६ महिनासम्म भुक्तानी नभएपछि सप्लायर्सले विद्यालयका प्रधानाध्यापकलाई सम्पर्क गरेपछि मात्र उक्त प्रकरण सतहमा आएको बताइएको छ। विद्यालय प्रशासनले यस विषयमा कुनै पनि आधिकारिक योजना, निर्णय वा स्वीकृति नभएको स्पष्ट पारेको छ, जसले प्रकरणलाई अझ गम्भीर बनाएको छ।

आन्तरिक खोजतलासपछि अध्यक्ष भण्डारीले गैरकानुनी रूपमा सामग्री मगाई आफ्नै घर निर्माण तथा मर्मतमा प्रयोग गरेको खुलेको स्रोतको दाबी छ।

यसैबीच, अध्यक्ष भण्डारीमाथि आफूलाई पत्रकार बताउँदै शिक्षक, अभिभावक तथा विद्यालय प्रशासनमाथि दबाब सिर्जना गर्ने, विद्यालयको नियमित कामकाजमा हस्तक्षेप गर्ने तथा बार्गेनिङ गर्ने जस्ता गतिविधिमा संलग्न रहेको आरोप पनि लागेको छ। कानुनी रूपमा कुनै निर्णयबिना विद्यालयको नाममा भ्याट बिल जारी गर्न नमिल्ने भए पनि व्यक्तिगत स्वार्थका लागि संस्थाको नाम प्रयोग गरिएको घटनाले शैक्षिक संस्थाको पारदर्शिता, विश्वसनीयता र सुशासनमाथि गम्भीर प्रश्न खडा गरेको छ।
यस्तै, घटनालाई ढाकछोप गर्न प्रयास भएको आरोप समेत उठेको छ। स्रोतका अनुसार नौबहिनी गाउँपालिका–८का वडा सदस्य हुमलाल भण्डारी (अध्यक्षका दाजु) ले उक्त प्रकरणलाई दबाउन खोजेको आरोप लगाइएको छ।















#Pyuthan #Naubahini #EducationCorruption #BreakingNews #NepalNews #LocalNews #ArghakhanchiCom #ArghakhanchiDotCom #ArghakhanchiComHD



