


काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न सम्बन्धित व्यक्ति, संस्था तथा निकायलाई निर्देशन दिएको छ । मन्त्रालयका अनुसार सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९ (दोस्रो संशोधन सहित) को दफा २१ को उपदफा (२) बमोजिम साविकमा भोगाधिकार प्राप्त गरेका पक्षलाई उक्त जग्गा लिजमा परिणत गर्न ६ महिनाको समय दिइएको थियो । यसका लागि मिति २०७३/०२/३१ र २०७४/०१/२१ मा तत्कालीन भूमि सुधार तथा व्यवस्थापन विभागले सूचना प्रकाशित गरेको थियो । तर तोकिएको म्यादभित्र लिजमा परिणत गर्न निवेदन नदिएका व्यक्ति, संस्था तथा निकायहरूको हकमा भोगाधिकार कानुनतः स्वतः समाप्त भइसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले सम्झौता बमोजिम तिर्न बाँकी रकम भए सरकारी कोषमा दाखिला गरी त्यस्ता जग्गा तथा त्यसमा निर्माण गरिएका संरचना समेत यथाशीघ्र खाली गर्न सम्बन्धित सबैलाई सूचित गरेको छ ।

२- नेपाली कांग्रेसको नीति तथा अनुसन्धान प्रतिष्ठानले सातै प्रदेशमा ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेश स्तरीय भेलाको आयोजना गर्ने भएको छ । बुधबार बसेको प्रतिष्ठानको बैठकले बैशाख २६ गतेदेखि जेठ १५ गतेसम्म सातै प्रदेशमा प्रदेश स्तरीय भेला गर्ने निर्णय गरेको हो ।कांग्रेसका सभापति गगनकुमार थापाको उपस्थितिमा तथा उपसभापति एवं प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले सुदूरपश्चिम प्रदेशमा वैशाख २६ र २७ गते धनगढी, कैलालीमा, कर्णाली प्रदेशमा वैशाख २८ र २९ गते लेकवेसी, सुर्खेतमा, गण्डकी प्रदेशमा वैशाख ३१ र जेठ १ गते पोखरा, कास्कीमा भेला आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तै, बागमती प्रदेशमा जेठ ४ र ५ गते धुलिखेल, काभ्रेपलाञ्चोकमा, मधेश प्रदेशमा जेठ ६ र ७ गते वर्दिवास, महोत्तरीमा, कोशी प्रदेशमा जेठ ८ र ९ गते लौकी, सुनसरीमा भेला र लुम्बिनी प्रदेशमा जेठ १४ र १५ गते तिलोत्तमा, रुपन्देहीमा भेला हुने भएको छ । त्यसैगरी बैठकले प्रतिष्ठानको उपप्रमुख पदमा मधु आचार्यलाई चयन गरेको छ ।

३- नेपाली फिल्म ‘लालीबजार’ प्रदर्शन गर्ने बाटो खुलेको छ। बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय खडानन्द तिवारी र नेत्रप्रसाद आचार्यको संयुक्त इजलासले यसअघि ‘लालीबजार’ को प्रदर्शनमा रोक लगाउँदै दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। यस आदेशसँगै फिल्म आगामी शुक्रबार, अर्थात् वैशाख २५ गतेदेखि प्रदर्शनमा आउने निर्माण कम्पनी षट्कोण आर्ट्सले जनाएको छ । फिल्मका निर्माता म्याक्स दीपेश खत्रीले सम्मानित अदालतको आदेशसँगै फिल्म आगामी शुक्रबारदेखि प्रदर्शन हुने जानकारी दिए। उनले भने, ‘हामीले कुनै पनि समुदाय वा वर्गको भावनामा ठेस पुग्ने गरी फिल्म तयार गरेका थिएनौँ। हामीले आमा र छोरीको कथामा फिल्म निर्माण गरेका छौँ। फिल्मले छोरीका लागि आमाले गर्ने संघर्षको कथा प्रस्तुत गर्छ।’ निर्देशक तथा लेखक यम थापाले फिल्म हेरेपछि कुनै पनि समुदायको भावना आहत नहुने विश्वास व्यक्त गरे। उनले भने, ‘अहिले अनुमानका भरमा फिल्मलाई लिएर विभिन्न अडकलबाजी भएका छन्। फिल्म हेरेपछि कसैको चित्त दुख्दैन भन्नेमा म विश्वस्त छु।’फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा आर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थी, विरवल चौधरीलगायतका कलाकारहरूको अभिनय रहेको छ। यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गर्दैछन्। विशाल थियटरमा अभिनेता तथा निर्देशकका रूपमा सक्रिय कलाकार हुन् भने प्रशंसा जेन–जी पुस्ताकी उदीयमान अभिनेत्रीका रूपमा परिचित छिन्। निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन्। फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता रहेका छन्। फिल्मका क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादक मित्रदेव गुरुङ, प्रोडक्सन हेड रुपकप्रताप अधिकारी, कलरिस्ट रेनिश फागो, भिएफएक्स समिर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउन्ड म्युजिक तथा मिक्सिङ रोहित शाक्य र शैलेश श्रेष्ठ, कला निर्देशक उमेश चौधरी, पब्लिसिटी डिजाइनर रोयल भीमसेन (ट्राइडेन्ट), मिडिया संयोजक सिपी जैशी, कस्ट्युम डिजाइनर तथा स्टाइलिस्ट जानकी कडायत, मेकअप आर्टिस्ट काव्या थापा तथा सङ्गीतकार प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको योगदान रहेको छ।

४- सरकारले सरकारी कर्मचारीका १२ वटा ट्रेड युनियन संगठनको दर्ता खारेज गरेको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले बुधबार निजामती कर्मचारीका ८ र स्वास्थ्यकर्मीका ४ वटा ट्रेड युनियनहरू खारेज गरेको जानकारी दिएको हो । खारेज गरिएका संगठनहरुमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, नेपाल स्वास्थ्यकर्मी संघ, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल, एकीकृत सरकारी कर्मचारी संगठन, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन खारेज गरेको हो । त्यस्तै नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ र राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन पनि खारेज गरिएको छ । विभागले निजामती सेवा ऐन, २०४९ (दोस्रो संशोधन, २०६४) तथा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ (चौथो संशोधन, २०७०) अन्तर्गत विभागमा दर्ता भई क्रियाशिल रहेका तपसिलमा उल्लेखित लगायत सम्पूर्ण राष्ट्रिय स्तरको निजामती कर्मचारीहरुको ट्रेड युनियन र राष्ट्रिय स्तरको स्वास्थ्य सेवाका कर्मचारीहरुको ट्रेड युनियन संवत् २०८३ सालको अध्यादेश नम्बर ०७ केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशको आधारमा यस विभागको पञ्जिकाधिकारीको बैशाख २३ गतेको निर्णयबाट खारेज भएको सूचनामार्फत जानकारी दिएको छ ।
५- नेपाल क्रिकेट संघ (क्यान) ले एशियन गेम्स क्वालिफायर्स र एसीसी वुमन्स प्रिमियर कप खेल्ने राष्ट्रिय महिला क्रिकेट टिमको घोषणा गरेको छ । क्यानले दुवै प्रतियोगिताका लागि इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको छ । नेपाली टिममा इन्दु बर्मा (कप्तान), पूजा महतो (उपकप्तान), बिन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, सिता राना मगर, अनु कठायत, सोनी पाख्रिन, सिमाना केसी, मनीषा उपाध्याय र रुबिना छेत्री । त्यस्तै बैकल्पिक खेलाडीहरुमा सावित्री धामी, सोमु बिस्ट, सना प्रवीण र लक्ष्मी साउदलाई राखिएको छ । एशियन गेम्सको क्वालिफायर्स प्रतियोगिता मलेसियामा मे २३ देखि ३१ सम्म हुदै छ भने एसीसी वुमन्स प्रिमियर कप जुन १ देखि १३ सम्म मलेसियामा नै हुदैछ ।
६- नेपाली कांग्रेसका सभापति गगन थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका छन् । बुधबार बिहान खड्काको गोल्फुटारस्थित निवासमा उपसभापति विश्वप्रकाश शर्मासहित सभापति थापाले खड्कासँग पार्टीको विवादका बारेमा छलफल गरेका हुन् । सर्वोच्च अदालतले थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता प्रदान गरेपछि देउवा समूहले छुट्टै भेला गर्दै आएको छ भने थापा नेतृत्वको काँग्रेस आगामी असोजमा महाधिवेशन गर्ने गरी अगाडी बढेको छ । आज भएको छलफल सकारात्मक भएको र दुई पक्षबीच सहकार्य गरेर अघि बढ्ने विषयमा कुराकानी भएको बताइएको छ । यसअघि सभापति थापाले मंगलबार काँग्रेस नेता डा. शेखर कोइरालासँग पनि छलफल गरेका थिए । देउवा र कोइराला पक्षका नेताहरुले अहिले चलाइएको क्रियाशील नवीकरणको अभियानको विरोध गरेका छन् । उनीहरुले यसअघिकै सदस्यता कायम गरिनुपर्ने बताउदै आएका छन् । अर्को सभापति थापाले काँग्रेसलाई पुनर्जीवन दिन सदस्यता नवीकरण आवश्यक रहेको बताउदै अभियान चलाइरहेका छन् ।

७- अमेरिकाले हर्मुज जलडमरूमध्यमा फसेका जहाज उद्धार गर्न सुरु गरेको ‘प्रोजेक्ट फ्रीडम’ असफल बनेको छ । सोमबार सुरु गरिएको उक्त अभियान मंगलबार राति नै बन्द गरिएको हो । अभियानका क्रममा अमेरिका केवल तीन वटा जहाज सुरक्षित रूपमा बाहिर निकाल्न सफल भएको जनाइएको छ । यसबीच इरानले अमेरिकी युद्धपोतलाई हर्मुज क्षेत्रमा प्रवेश गर्न नदिन गोली प्रहार गरेको थियो । जवाफमा अमेरिकाले इरानका साना डुंगाहरू डुबाएको दाबी गरेको छ । यस घटनाले दुई देशबीचको युद्धविराम झनै जोखिममा परेको छ । फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्वपछि हर्मुज क्षेत्रमा जहाज आवतजावत लगभग ठप्प भएको छ । हाल खाडी क्षेत्रमा करिब १ हजार ५५० व्यापारिक जहाज फसेका छन्, जसमा करिब २२ हजार ५०० नाविक रहेका छन् । आपूर्ति घट्दै जाँदा नाविकहरूको शारीरिक र मानसिक अवस्थाबारे चिन्ता बढेको छ । अमेरिकी केन्द्रीय कमान्डका अनुसार उक्त अभियानमा मार्गनिर्देशित क्षेप्यास्त्र बोकेको युद्धपोत, १०० भन्दा बढी हवाई तथा समुद्री विमान, ड्रोन र करिब १५ हजार सैनिक परिचालन गरिएको थियो । कमान्डर एडमिरल ब्राड कूपरका अनुसार ८७ देशका जहाज उक्त क्षेत्रमा फसेका छन् र विभिन्न जहाज कम्पनीसँग सम्पर्क गरेर आवतजावत पुनः सञ्चालन गर्ने प्रयास गरिएको थियो । अभियानको सुरुवातमा अमेरिका जहाजहरूलाई प्रत्यक्ष सैन्य सुरक्षा दिएर बाहिर निकाल्ने वा ननिकाल्ने स्पष्ट थिएन । धेरै विज्ञहरूले अमेरिका प्रत्यक्ष सुरक्षा दिनेभन्दा पनि हवाई सुरक्षा, ड्रोन तथा क्षेप्यास्त्र आक्रमणबाट बचाउने रणनीतिमा केन्द्रित हुने अनुमान गरेका थिए । ट्यांकर कम्पनीहरूको संगठनका एक अधिकारीले अभियानका लागि पर्याप्त समन्वय नभएको बताएका छन्, जसका कारण जहाज मालिकहरूमा सुरक्षाबारे चिन्ता बढेको थियो । विज्ञहरूका अनुसार यो अभियान अत्यन्त जोखिमपूर्ण र तनाव बढाउने कदम थियो। केही जहाज बाहिर निकाल्न सफल भए पनि त्यो केवल अस्थायी राहत मात्रै हुने र दीर्घकालीन समाधानका लागि थप ठूला कदम आवश्यक पर्ने उनीहरूको भनाइ छ ।

८- सम्पत्ति शुद्धीकरणको अभियोगमा अनुसन्धानका लागि हिरासतमा रहेका व्यवसायीद्वय दीपक भट्ट र शुलभ अग्रवाललाई हिरासतमा राख्न पुनः म्याद थप भएको छ । विशेष अदालतका न्यायाधीशहरु हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार थप १२ दिन थुनामा राख्न अनुमति दिएको हो । भट्टको हकमा म्याद थप गरिएको यो पाचौँपटक हो । उनलाई गत चैत्र १९ गते पक्राउ गरिएको थियो । त्यस्तै अग्रवाललाई भने छैटौँ पटक म्याद थप भएको छ ।
९- जारी इन्डियन प्रिमियर लिग (आइपिएल) का प्लेअफ खेलहरूको तालिका सार्वजनिक गरिएको छ । प्रतियोगिता अन्तिम चरणमा पुग्नेक्रममा पुगेको समयमा प्लेअफ चरण २६ मेबाट सुरु हुने भएको छ भने फाइनल खेल ३१ मेमा अहमदाबादमा हुने तय गरिएको छ । भारतीय क्रिकेट बोर्डले प्लेअफका सबै विवरण सार्वजनिक गरेको हो । यस सिजनमा ५ मेसम्म ४८ खेल सम्पन्न भइसकेका छन् । कुल ७० लिग खेलपछि प्लेअफ चरण सुरु हुनेछ । प्लेअफ अन्तर्गत पहिलो खेल अर्थात् पहिलो क्वालिफायर २६ मेमा धर्मशालास्थित एचपिसिए रंगशालामा हुनेछ । यस खेलमा अंक तालिकाका शीर्ष दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ । त्यसपछि प्रतियोगिता चण्डीगढस्थित नयाँ अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सर्नेछ । त्यहाँ २७ मेमा एलिमिनेटर तथा २९ मेमा दोस्रो क्वालिफायर खेलाइने कार्यक्रम रहेको छ । यस सिजनको उपाधि भिडन्त ३१ मेमा अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा हुनेछ । उक्त रंगशालाले लगातार दोस्रो वर्ष फाइनल आयोजना गर्न लागेको हो । अघिल्लो सिजनको फाइनल पनि यहीँ भएको थियो, जहाँ रोयल च्यालेन्जर्स बेङ्गलुरुले पञ्जाब किंग्सलाई हराउँदै उपाधि जितेको थियो । आईपीएल २०२६ मा ७० लिग खेलसहित कुल ७४ खेल हुनेछन् । २८ मार्चबाट सुरु भएको प्रतियोगितामा हालसम्म ४८ खेल सकिँदा प्लेअफ प्रतिस्पर्धा झन् रोमाञ्चक बनेको छ । पञ्जाब किंग्स १३ अंकसहित शीर्ष स्थानमा छ भने लखनउ सुपर जायन्ट्स पुछारमा रहेको छ । यस वर्ष प्लेअफका लागि तीन फरक स्थान चयन गरिएको छ । सुरुमा फाइनल खेल बेङ्गलुरुमा गर्ने योजना थियो । तर स्थानीय क्रिकेट संघ र सम्बन्धित निकायले राखेका केही मागहरू बोर्डका नियम र मापदण्डभन्दा बाहिर रहेपछि स्थान परिवर्तन गर्नुपरेको जनाइएको छ । त्यसपछि फाइनल आयोजना गर्ने जिम्मा अहमदाबादलाई दिइएको हो ।

१०- नेप्सेमा आज सामान्य गिरावट आएको छ । आज बुधबार नेप्से १.६४ अंकले बघटेर २७११.२२ विन्दुमा पुगेर रोकिएको छ । आज ३३६ कम्पनिका ७१ लाख ३१ हजार ५५७ कित्ता शेयर ३ अर्ब १९ करोड ७७ लाख ६६ हजार ७७९ मा कारोबार भएको थियो । आज विकास बैंक, हाइड्रो, जीवन बीमा, उत्पादन र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी फरवार्ड माइक्रो फाइनान्सको शेयरमा १३.७४ प्रतिशतले बढेको छ भने आज सबै भन्दा बढी भगवती हाइड्रोको शेयर ८.९० प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी सोलु हाइड्रोको २२ करोड ११ लाखको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको १६ करोड बराबरको कारोबार भएको छ ।
११- नेपाली काँग्रेसका सभापति गगन थापाले सरकारले संबैधानिक परिषदसम्बन्धि अध्यादेशमा आफुहरुको आपत्ति रहेको बताएका छन् । काँग्रेस संसदीय दलको बैठकपछि बल्दै संबैधानिक परिषदसम्बन्धि अध्यादेशमा जालझेल गरिएको बताउदै कांग्रेसको आपत्ति रहेको बताएका हुन् । उनले यसअघि पनि यस्तै गरिएको थियो र त्यति बेला पनि आफुहरुले विरोध गरेको र अहिले पनि सोहि कुरा दोहोरिएको बताउदै आफुहरुले संसदमा यस विषयमा कुरा उठाउने बताएका छन् । उनले सरकारले संबिधानको मर्म विपरित परिषदमा हेरफेर गरिएको बताउदै यो काँग्रेसलाई स्वीकार्य नहुने बताए । उनले सरकारले कुनै बिधि नबनाएको र पहिला जस्तै आफुले चाहेको व्यक्ति नियुक्त गर्न आध्यादेश ल्याएको आरोप लगाए । साथै उनले सुकुम्बासी बस्ति हटाएकोप्रति आपत्ति जनाउदै अपराधीलाई जस्तो व्यबहार गरिएको प्रतिक्रिया दिए । विकल्प बारे कुनै तयारी नगरेर सरकारले निर्मम र क्रुरता अपनाएको भन्दै यस्तो नेपालको व्यवस्था र संबिधानले कल्पना नगरेको जिकिर गरे । उनले आफुहरुले विगतमा नदी किनारका बस्ति हटाउन कानुन प्रस्ताव गरेको उल्लेख गर्दै थापाले आफुहरुलाई भोट बैंक बचाएको आरोप लगाइएकोमा अपात्ति जनाएका छन् । उनले सुकुम्बासीहरु काँग्रेसका भोट बैंक नभएको तर उनीहरु राज्यका नागरिक भएकोले उनीहरुमाथि हुने व्यबहार नागरिकको सरह हुनुपर्ने काँग्रेसको भनाई रहेको सबताएका थिए । सभापति थापाले सरकारले सुशासनको पक्षमा चालेका कदम र लिपुलेक बारे भारत र चीनलाई पठाएको कुटनीतिक नोटमा समर्थन गरेको तर गलत कदमको निरन्तर विरोध गर्ने बताए ।
१२- चलचित्र १२ गाउँ २ को शुभमुहूर्त गरेसँगै छायांकन शुरु गरिएको छ । निर्माता तथा निर्देशक विराज भट्टले निर्माण गरिरहेको यस फिल्ममा समीर भट्ट मुख्य भूमिकामा देखिँदैछन् । नयाँ अनुहारका रूपमा कृशु शाही ‘काफिया’ सहित अन्य कलाकारहरूको पनि सहभागिता रहनेछ । आज शुभसाइत गर्दै दशैंमा रिलिज गर्ने तयारीका साथ फिल्मको छायांकन प्रारम्भ गरिएको हो । विराज भट्टको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा विराजको साथमा समीर भट्ट, अनुप विक्रम शाही, कृतु शाही, वर्षा इतानी, सुनिल पोखरेल, प्रकाश शाह लगायतका कलाकारहरुको अभिनय रहनेछ । पहिलो भाग ‘१२ गाउँ’ ले नेपाली बक्स अफिसमा सुपर हिट बन्दै करिब २० करोड कमाएको थियो ।
१३- सरकारले वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद् प्रा. डा. जगदिश प्रसाद अग्रवाललाई प्रधानमन्त्री बालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. अग्रवाललाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का पूर्व डीन समेत रहेका डा. अग्रवालले मुलुकको स्वास्थ्य नीति, जनस्वास्थ्यका चुनौती र चिकित्सा शिक्षाको सुधारका लागि प्रधानमन्त्रीलाई आवश्यक परामर्श दिने छन् । डा. अग्रवालले राज्यबाट कुनै पनि पारिश्रमिक वा आर्थिक सुविधा नलिई केवल विशेषज्ञका रूपमा आफ्नो सेवा पुर्याउने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
१४- नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट उपाध्यक्षमा प्रबलजंग पाण्डे विजयी भएका छन् । बुधबार सम्पन्न मतगणनामा उपाध्यक्ष पाण्डेले १०७९ मत प्राप्त गर्दै विजयी भएका हुन् भने उनको प्रतिद्वन्द्वी ज्योत्सना श्रेष्ठले ७५० मत प्राप्त गरेकी छन् । त्यस्तै एसोसियटतर्फको महिला सदस्यमा अभिज्ञा मल्ल र जुना माथेमा विजयी भएका छन् । मल्लले १०१४ मत र माथेमाले ११४६ मत प्राप्त गरेकी थिइन् । उनीहरुका प्रतिद्वन्द्वी जमुना पौडेलले ७०२ र शोभा ज्ञवालीले ७२१ मत प्राप्त गरेका थिए । एसोसियट्सतर्फको १७ सदस्यमा सचिन ढकाल, हेमन्त गोल्छा, अम्बिकाप्रसाद पौडेल, उज्ज्वलकुमार श्रेष्ठ, शक्तिकुमार बेगानी, ऋषि अग्रवाल, सुशील थापा, राजेशकुमार अग्रवाल, सुयस प्याकुरेल, रामशरण भण्डारी, बाबुकाजी कार्की, दिवश न्यौपाने, कृष्णलाल महर्जन, प्रियराज रेग्मी, ईश्वरबहादुर जिसी, सुरज उप्रेती र बटु लामिछाने विजयी भएका छन् ।
१५- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको काममा सक्रिय हुन थालेका छन् । पत्थरीको शल्यक्रियापछि संक्रमण भएको भन्दै भेटघाट बन्द गरेर आराम गरिरहेका ओलीले बुधबार सुदूरपश्चिम प्रदेशका एमाले सांसद र नेताहरूसँग छलफल गरिरहेका छन् । ओलीको सचिवालयका अनुसार भक्तपुरको गुण्डु निवासमा ओलीले एमालेका सुदूरपश्चिमका सांसद र नेताहरुसँग छलफल गरिरहेका छन् । निर्वाचनको परिणाम लगत्तै पक्राउ र त्यसपछि अप्रेशन गरेका ओली निष्कृय रहदा एमालेका गतिबिधि समेत ओझेलमा परेको बेला उनले भेटघाट शुरु गरेका हुन् ।

१६- प्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक परिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले वैशाख २४ गते साँझ ५ बजे बस्नेगरि संबैधानिक परिषदको बैठक बोलाएका हुन् । बैठकले प्रधानन्यायाधीशको सिफारिस बारे निर्णय गर्ने एजेण्डा रहेको छ । सरकारले अध्यादेश मार्फतयसअघि व्यवस्था संशोधन गर्दै चार जना उपस्थित भएमा बैठक बस्न सकिने र तीन जनाको सहमतिमा निर्णय गर्न सकिने व्यवस्था गरेको छ । नेपालको संविधानको धारा २८४ अनुसार संवैधानिक परिषद्को अध्यक्षता प्रधानमन्त्रीले गर्ने व्यवस्था छ । परिषद्का सदस्यहरूमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाको विपक्षी दलको नेता र प्रतिनिधिसभाको उपसभामुख रहने व्यवस्था रहेको छ । परिषदमा प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डीपी अर्याल, प्रधानन्यायाधीश राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहाल, उपसभामुख रुवीकुमारी ठाकुर र विपक्षी दलका नेताका रूपमा भीष्मराज आङ्देम्बे रहेका छन । त्यस्तै प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने बैठकमा कानुनमन्त्री पनि परिषदको सदस्यको रुपमा बैठकमा सहभागी हुन पाउने कानुनी व्यवस्था रहेको छ । त्यस्तै नेपाल सरकारका मुख्यसचिवले परिषदको सचिवको रुपमा काम गर्ने व्यवस्था रहेको छ ।
१७- भारतको पश्चिम बंगालमा निर्वाचन परिणामपछि हिंसात्मक घटना सुरु भएका छन् । उत्तर २४ परगना जिल्लाको सन्देशखालीस्थित बामनघेरी क्षेत्रमा मंगलबार राति गस्तीमा रहेको प्रहरी र केन्द्रीय सुरक्षाबलमाथि आक्रमण भएको छ । भारतीय मिडियाहरुका अनुसार अज्ञात व्यक्तिहरुले गोली प्रहार गर्दा पाँच जना सुरक्षाकर्मी घाइते भएका छन् । घाइते हुनेहरूमा नाजाट प्रहरी चौकीका प्रमुख, एक प्रहरी जवान, एक महिला प्रहरी तथा केन्द्रीय बलका दुई जवान रहेका छन् । पछिल्लो २४ घण्टामा राज्यका विभिन्न स्थानमा चार जनाको हत्या भएको जनाइएको छ । मृतकमध्ये भारतीय जनता पार्टी र तृणमूल कांग्रेसका दुई–दुई कार्यकर्ता रहेका छन् । भारतीय जनता पार्टीले उत्तर २४ परगनाको न्यू टाउन र हावडाको उदय नारायणपुरमा आफ्ना दुई कार्यकर्ताको हत्या तृणमूल कांग्रेसले गरेको आरोप लगाएको छ । यता, तृणमूल कांग्रेसले पनि कोलकाताको बेलेघाटा र वीरभूमको नानुरमा आफ्ना दुई सदस्यको हत्या गरिएको दाबी गरेको छ । यसैबीच, कोलकाताको न्यू मार्केट क्षेत्रमा भीडले तृणमूल कांग्रेसको पार्टी कार्यालय डोजर प्रयोग गरी भत्काएको छ । उपद्रवीहरूले आसपासका पसलहरूमा पनि तोडफोड गरेका छन् । घटनाबारे प्रतिक्रिया दिँदै तृणमूल कांग्रेसले सामाजिक सञ्जालमार्फत ‘परिवर्तन’को नाममा हिंसा भएको आरोप लगाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
१८- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मुल्य तोलाको ५८ सयले बढेर तोलाको २ लाख ९६ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ९१ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १७५ रुपैयाँले बढेर ५०५५ मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४८८० मा कारोबार भएको थियो ।

१९- आर्सनल यस बर्षको युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा एटलेटिको म्याड्रिडलाई १-० गोल अन्तरले पराजित गर्दै समग्रमा २-१ को नतिजासहित आर्सनल फाइनलमा पुगेको हो । आर्सनलको जितमा खेलको ४४औं मिनेटमा बुकायो साकाले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो । अब आर्सनलले फाइनलमा बायर्न म्युनिख र पिएसजीबीचको विजेतासँग उपाधिका लागि भिड्ने छ । फाइनल खेल मे ३० मा हुने छ । आर्सनल २००५-०६ सिजनपछि पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । सो बर्ष फाइनलमा आर्सनल बार्सिलोनासँग पराजित भएर उपविजेता बनेको थियो ।
२०- चेन्नई सुपर किंग्सले जारी आइपिएलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेन्नईले दिल्लीलाई ८ विकेटले पराजित गरेको हो । दिल्लीले दिएको १५६ रनको लक्ष्य पछाएको चेन्नईले १७.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । चेन्नईको जितमा संजु साम्सनले अविजित ८७ रन बनाएका थिए भने कार्तिक शर्माले अविजित ४१ रन बनाएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो । दिल्लीका लागि समीर रिज्वीले अविजित ४० रन बनाएका थिए भने ट्रीस्टान स्टब्सले ३८ रन बनाएका थिए । त्यस्तै पाथुम निसान्काले १९, नितिश रानाले १५ र आशुतोष शर्माले १४ रनको योगदान दिएका थिए । त्यसैगरी चेन्नईका बलर नूर अहमदले २ विकेट लिएका थिए । यो जितपछि चेन्नईको १० खेलमा १० अंक भएको छ र छैटौं स्थानमा उक्लिएको छ । त्यस्तै दिल्लीको भने यो छैटौं हार हो । दिल्लीको १० खेलमा ८ अंक रहेको छ र हाल सातौं स्थानमा रहेको छ । जारी आइपिएल अन्तर्गत आज सनराइजर्स हैदरावाद र पञ्जाव किंग्सबीच खेल हुदैछ ।



