


दक्षिण कोरियाकी पूर्वप्रथम महिला किम केओन–ही संलग्न ‘ड्युच मोटर्स’ शेयर बजार चलखेल र अन्य भ्रष्टाचारको मुद्दामा पुनरावेदन सुनुवाइ गरिरहेका एक न्यायाधीश मृत फेला परेका छन् । योनहाप समाचार एजेन्सीकाअनुसार सोल उच्च अदालतका न्यायाधीश शिन जोङ–ओ बुधवार बिहान सबेरै सोलस्थित अदालत भवन नजिकै मृत फेला परेका हुन् ।
मध्यरातमा प्रहरीलाई प्राप्त सूचनाका आधारमा खोजी गर्दा स्थानीय समयअनुसार करिव १ बजे उनी मृत भेटिएका थिए । प्रहरीले उनको मृत्युको वास्तविक कारणबारे गहन अनुसन्धान सुरु गरेको छ ।


उक्त मुद्दा दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक–योलकी पत्नी किम केओन–हीसँग सम्बन्धित छ । गत सोमवार मात्रै विशेष अभियोजक टोलीले किमलाई शेयर बजार चलखेल र भ्रष्टाचारको अभियोगमा चार वर्षको जेल सजाय सुनाउने उच्च अदालतको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो ।

यसअघि अप्रिल २८ मा सोल उच्च अदालतले तल्लो अदालतको फैसलालाई उल्ट्याउँदै किमको जेल सजाय २० महिनाबाट बढाएर चार वर्ष पु¥याउने निर्णय गरेको थियो । अदालतले जेल सजायका साथै ५ करोड वन (करिव ३३,९१० अमेरिकी डलर) जरिवाना समेत तोकेको थियो । यद्यपि, विशेष अभियोजक टोलीले भने किमलाई १५ वर्षको जेल सजाय हुनुपर्ने माग गर्दै आएको थियो । न्यायाधीश शिन यसै संवेदनशील मुद्दाको सुनुवाइ प्रक्रियामा संलग्न थिए ।



