


इण्डोनेसियाको सुमात्रा टापुस्थित एक प्रमुख राजमार्गमा बुधवार यात्रुवाहक बस र ट्याङ्कर ट्रक एकआपसमा ठोक्किँदा १६ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूकाअनुसार दक्षिण सुमात्रा प्रान्तको करङ जया जिल्लास्थित ट्रान्स–सुमात्रा राजमार्गमा स्थानीय समयअनुसार दिउँसो करिव १२ः३९ बजे सो दुर्घटना भएको हो ।

लामो दूरीको अन्तरशहर बस र विपरीत दिशाबाट आइरहेको ट्याङ्कर ट्रक एकापसमा ठोक्किएको स्थानीय सञ्चारमाध्यम ‘जकार्ता ग्लोब’ले जनाएको छ । स्थानीय विपद् व्यवस्थापन एजेन्सीका अधिकारीहरूले दुर्घटनालगत्तै उद्धार टोली परिचालन गरिएको जानकारी दिएका छन् ।


दुर्घटनाग्रस्त सवारीसाधनको भग्नावशेषमा धेरै यात्रुहरू अड्किएकाले उनीहरूको उद्धारका लागि तत्काल पहल गरिएको थियो । उद्धारकर्मी र ट्राफिक प्रहरीले दिउँसो अबेरसम्म घटनास्थलबाट भग्नावशेष हटाउने, मृतकको पहिचान गर्ने र क्षेत्रलाई सुरक्षित बनाउने कार्य जारी राखेका थिए ।
अधिकारीहरूले घाइतेहरूको उपचार र सुरक्षित उद्धार कार्यलाई पहिलो प्राथमिकतामा राखिएको बताएका छन् । दुर्घटनाको यकिन कारण र मृतकहरूको पूर्ण विवरणका लागि अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन् ।



