आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

 

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- सर्वोच्च अदालतले  सुकुम्वासी बस्ती हटाउने सरकारको निर्णयविरुद्ध पेस भएको रिटमा अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।   सुकुम्वासी बस्तीमा बसोबास गर्दै आएका गोपाल रनपहेली, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र माजिद अन्सारीसमेतले दायर गरेको रिटमा सर्वोच्चले दोस्रो सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेको हो । रिटमा नेपाल राज्यभर सुकुम्बासी बस्तीमा डोजर चलाएर भत्काउने काम रोक्न अन्तरिम आदेशको माग गरिएको थियो । आदेशको विस्तृत विवरण आउनेक्रममा रहेको छ ।

२- प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माको संसदीय सुनुवाई प्रक्रिया शुरु भएको छ । शुक्रबार बसेको संसदीय सुनुवाई संसदीय सुनुवाई समितिले प्रक्रिया शुरु गर्दै प्रसतावित प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको हो ।  बैठकले प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध जेठ ४ गतेभित्र उजुरी दिन सकिने गरि समय तोकेको छ । समितिका सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन दस दिनको समय तोकिएको जानकारी दिएका छन् । समितिले सो अवधिभित्र प्रमाणसहित उजुरी दिन उजुरीकर्ताको नाम गोप्य राखिने जनाएको छ । बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले न्यायाधीश डा. शर्मालाई प्रधानन्यायाधीश पदमा सिफारिस गरेको थियो ।

३- नेपाल ए ले लगातार दोस्रो जित हासिल गरेको छ । शुक्रबार माथिल्लो मूलपानी मैदानमा सम्पन्न खेलमा नेपाल ए ले अमेरिकालाई ३ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछाएको नेपाल ए ले मयन यादवको ७२, सन्दीप जोराको ३६, कुशल मल्लको ३३, कप्तान अनिल कुमार शाहको २७ र पवन सराफको अविजित २४ रनको सहयोगमा ४९.१ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गरेको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाएर २६२ रन बनाएको थियो । अमेरिकाका लागि समित पटेलले ११६ रनको शतकीय पारी खेलेका थिए । अब नेपाल ए ले यसअघि विहिबार सम्पन्न खेलमा स्कटल्याण्डलाई पनि पराजित गरेको थियो । अब अर्को खेल मे ९ मा स्कटल्याण्डसँग र मे ११ मा अमेरिकासँग खेल्ने तालिका रहेको छ ।

४-  भारतीय जनता पार्टीले पश्चिम बंगालमा नयाँ मुख्यमन्त्रीका रूपमा शुभेन्दु अधिकारीलाई चयन गरेको छ । विधायक दलको बैठकले उनलाई सर्वसम्मत रूपमा नेता चयन गरेपछि मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । बैठकमा केन्द्रीय गृहमन्त्री समेत रहेका अमित शाह केन्द्रीय पर्यवेक्षकका रूपमा सहभागी भएका थिए । प्रदेश अध्यक्ष समिक भट्टाचार्यले शुभेन्दु अधिकारीको नाम प्रस्ताव गरेका थिए । त्यसपछि उपस्थित सबै विधायकको समर्थनपछि अमित शाहले औपचारिक घोषणा गरेका हुन् । अमित शाहले चुनाव प्रक्रिया सम्पन्न भइसकेपछि विभिन्न प्रस्ताव र समर्थन प्राप्त भएको, तर सबैले एउटै नाममा समर्थन जनाएकाले शुभेन्दु अधिकारीलाई पश्चिम बंगाल विधानमण्डल दलको नेता घोषणा गरिएको बताएका छन् । अब नयाँ मन्त्रिमण्डलमा मन्त्रालय बाँडफाँट, सरकारको प्राथमिकता तथा प्रशासनिक संरचनाबारे समेत छलफल भएको छ । पश्चिम बंगालका लागि अमित शाहलाई केन्द्रीय पर्यवेक्षक तथा मोहन चरण माझी लाई सह–पर्यवेक्षक तोकिएको छ । शनिबार ब्रिगेड परेड ग्राउन्डमा हुने शपथ ग्रहण समारोहको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न केन्द्रीय मन्त्री र राज्यका मुख्यमन्त्री सहभागी हुने बताइएको छ । कार्यक्रममा ५० हजारभन्दा बढी मानिस सहभागी हुने अनुमान गरिएको छ । हालै सम्पन्न विधानसभा चुनावमा भाजपाले ऐतिहासिक सफलता हासिल गरेको थियो । २९४ सदस्यीय विधानसभामा भाजपा २०६ सिट जित्दै पहिलोपटक पश्चिम बंगालमा सरकार गठनको अवस्थामा पुगेको हो । सत्तारुढ तृणमूल कांग्रेस भने ८० सिटमा सीमित भएको छ ।

images

५- नेपाली कांग्रेसले नेपाल महिला संघको अध्यक्षको जिम्मेवारी मीनाकुमारी खरेललाई दिएको छ । समाजसेवीको पहिचान बनाएकी चितवनकी खरेल हालै सम्पन्न निर्वाचनमा रास्वपा सभापति रवि लामिछानेसँग प्रतिष्पर्धा गरेर चर्चामा आएकी थिइन् । काँग्रेस सभापति गगन थापाले खरेललाई अध्यक्षको जिम्मेवारी दिदै आगामी फागुन १५ भित्र महिला संघको महाधिवेशन सम्पन्न गर्नेसहित १७ बुँदे कार्यादेश र कार्यविवरण दिएका छन् ।  खरेललाई जेष्ठ १५ गतेभित्र पार्टी सभापतिसँग परामर्श गरेर सबै क्षेत्र, वर्ग, उमेर समुह, समुदाय र भुगोलको समेत समावेशी प्रतिनिधित्व हुनेगरी संघको केन्द्रीय कार्यसमितिलाई पूर्णता प्रदान गर्ने जिम्मेवारी दिइएको छ ।  साथै उनलाई फागुन १५ गतेभित्र संघको केन्द्रीय महाधिवेशन सम्पन्न गर्न श्रावण १ गतेभित्र महाधिवेशनको विस्तृत कार्यतालिका पार्टी समक्ष पेश गर्न भनिएको छ ।

६- विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पेश गरिएको छ । शुक्रबार आठ संगठनले विद्यार्थी संगठन कायम हुनुपर्ने मागसहितको रिट सर्वोच्चमा पेश गरेका हुन् । उनीहरूले विश्वविद्यालयहरुमा विद्यार्थी संगठन हटाउने सरकारको निर्णय कार्यान्वयन नगराउन माग गरेका छन् । विचारका आधारमा संगठनमा आवद्ध हुन पाउने अधिकार संविधान प्रदत्त अधिकार भएको र विद्यार्थी संगठनहरुको खारेज गर्ने सरकारी निर्णय स्वेच्छाचारी भएको दाबि गर्दै उनीहरुले सरकारी निर्णय कार्यान्वयन नराउन अन्तरिम आदेशको माग गरेका छन् । आठ विद्यार्थी संगठनले सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालयलाई विपक्षी बनाएर निवेदन पेस गरेका छन् । रिट दायर गर्नेमा अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, अखिल छैटौं, अखिल समाजवादी, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, जनपक्षीय विद्यार्थी युनियनलगायत रहेका छन् ।

७- हन्ता भाइरस संक्रमण फैलिएपछि ‘एमभी होन्डियस’ नामक समुद्री क्रुज जहाज अन्तर्राष्ट्रिय स्वास्थ्य निगरानीमा परेको छ । जहाजमा यात्रा गरिरहेका पाँच जनामा संक्रमण पुष्टि भएको छ भने आठ जना शंकास्पद बिरामी फेला परेका छन् । संक्रमितमध्ये एक डच महिलाको मृत्यु भइसकेको छ । एक बेलायती नागरिक दक्षिण अफ्रिकाको अस्पतालमा सघन उपचारमा छन् भने एक स्विस नागरिकको ज्युरिख अस्पतालमा उपचार भइरहेको छ । शंकास्पद बिरामीमा एक बेलायती पुरुष, एक डच चालकदल सदस्य र एक जर्मन नागरिक रहेका छन् । उनीहरूमध्ये दुई जना उपचारका लागि नेदरल्यान्ड्स पुगिसकेका छन् भने अर्का एक जनाको अवस्था स्थिर रहेको बताइएको छ । दुई बेलायती यात्रु सम्भावित सम्पर्कपछि घरमै अलग्गै बसिरहेका छन् । जहाजमा हाल २३ देशका १४६ जना सवार छन् । जहाज क्यानरी द्वीपसमूहतर्फ जाँदैछ र त्यहाँ पुगेपछि सबैको स्वास्थ्य परीक्षण गरिने जनाइएको छ । अमेरिका पनि आफ्ना तीन यात्रुमाथि निगरानी गरिरहेको छ, जो केप भर्डे पुग्नुअघि जहाजबाट ओर्लिएर फर्किएका थिए । विश्व स्वास्थ्य संगठनका अनुसार हन्ता भाइरस कुनै एक रोग नभई भाइरसहरूको समूह हो ।

यसको २० भन्दा बढी प्रकार छन् । अधिकांश संक्रमण मुसा, गिलहरीजस्ता कुतरिने जनावरको मलमूत्र, र्‍याल वा सम्पर्कबाट फैलिन्छ । ‘एन्डिज भाइरस’ नामक प्रकार भने मानिसबाट मानिसमा पनि सर्न सक्ने मानिन्छ, यद्यपि यस्तो घटना दुर्लभ हुने चिकित्सकहरूको भनाइ छ । यो भाइरस मुख्य रूपमा अर्जेन्टिना र चिली मा पाइन्छ । सन् २०१८ मा अर्जेन्टिनामा फैलिएको संक्रमणमा एक व्यक्तिबाट ३४ जनामा भाइरस सरेको र ११ जनाको मृत्यु भएको थियो । डब्ल्यूएचओले जहाजमा नजिकको सम्पर्क र सम्भावित रूपमा मुसाजन्य संक्रमणबाट भाइरस फैलिएको हुन सक्ने अनुमान गरेको छ । संक्रमण रोक्न यात्रुहरूलाई आ–आफ्नै केबिनमा सीमित गरिएको छ ।

स्वास्थ्य विज्ञहरूले संक्रमितलाई अलग राख्ने, हात सफा राख्ने, सम्पर्कमा आएका व्यक्तिको निगरानी गर्ने र संक्रमण नियन्त्रणका उपाय अपनाउनुपर्ने बताएका छन् । विशेषज्ञहरूका अनुसार हन्ता भाइरसले मुख्य रूपमा दुई गम्भीर रोग निम्त्याउँछ । पहिलो ‘हन्ता भाइरस पल्मोनरी सिन्ड्रोम’ हो, जसमा ज्वरो, थकान, मांसपेशी दुखाइपछि गम्भीर श्वासप्रश्वास समस्या देखिन सक्छ । यसको मृत्युदर २० देखि ४० प्रतिशतसम्म रहने बताइएको छ । दोस्रो ‘हेमोरेजिक फिभर विथ रेनल सिन्ड्रोम’ हो, जसले मिर्गौलामा असर पार्न सक्छ । यो भाइरसको कुनै विशेष उपचार वा व्यापक रूपमा उपलब्ध खोप छैन । प्रारम्भिक उपचार पाए बिरामी निको हुने सम्भावना भने बढ्ने चिकित्सकहरूको भनाइ छ । अक्सिजन उपचार, भेन्टिलेटर र डायलाइसिससम्म आवश्यक पर्न सक्छ । अमेरिकामा सन् १९९३ देखि २०२३ सम्म ८९० वटा हन्ता भाइरस संक्रमण पुष्टि भएका थिए । हालै सन् २०२५ फेब्रुअरीमा अस्कर विजेता अभिनेता जिन ह्याकम्यान की पत्नी बेट्सी अराकावाको पनि हन्ता भाइरससम्बन्धी श्वासप्रश्वास रोगका कारण मृत्यु भएको थियो ।

८- सरकारले विभिन्न देशका १५ अवैतनिक दूतहरुलाई बर्खास्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले विदेशस्थित १५ स्थानमा रहेका नेपाली अवैतनिक दूतहरूलाई जिम्मेवारीबाट मुक्त गरिएको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले शुक्रबारको नियमित ब्रिफिङका क्रममा पदमुक्त गरिएका १५ स्थानका अवैतनिकदूतको जानकारी दिएका छन् । जसमा अमेरिकाका क्यालिफोर्निया, मासाचुसेट्स र सियाटल, अस्ट्रेलियाका एडलेड, मेलबर्न र सिडुनी, न्युजिल्यान्ड, मलेसियाको क्लाङ भ्याली, इन्डोनेसियाको जाकर्ता, इजरायलको रेहोवोट सिटी, साइप्रसको निकोसिया, जर्मनीका एनआरडब्ल्यू, ब्रेमिन र लोवर स्याक्सोनी र वार्सा, स्लोभेनिया र माल्टाका अवैतनिकदूत रहेका छन् ।

Nepal life insurance

९- रियल म्याड्रिडले प्रशिक्षणका क्रममा खेलाडीबीच भएको झडपपछि मिडफिल्डर फेडेरिको भाल्भेर्डे र ओरेलियन चुआमेनीमाथि आन्तरिक अनुशासनात्मक अनुसन्धान सुरु गरेको छ । क्लबका अनुसार दुई खेलाडीबीच गम्भीर शारीरिक झडप भएको थियो, जसमा भाल्भेर्डेको टाउकोमा %A