


गाजा शहरको पश्चिमी क्षेत्रमा रहेको एक प्रहरी सुरक्षा चौकीलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा तीन जना प्यालेस्टिनीको मृत्यु भएको छ । प्रत्यक्षदर्शी र प्यालेस्टिनी सुरक्षा स्रोतहरूका अनुसार सो आक्रमणमा अन्य कैयौँ व्यक्ति गम्भीर घाइते भएका छन् । हमासद्वारा सञ्चालित आन्तरिक सुरक्षा निकायले जारी गरेको संक्षिप्त विज्ञप्तिअनुसार गाजा शहरको पश्चिममा पर्ने अन्सार क्षेत्रस्थित सुरक्षा मुख्यालयको गार्ड पोष्टलाई लक्षित गरी इजरायली विमानले आक्रमण गरेको हो । प्रत्यक्षदर्शीहरूकाअनुसार इजरायली हेलिकप्टरले हमासको आन्तरिक सुरक्षा मुख्यालय अगाडि रहेको सुरक्षा चौकीमा क्षेप्यास्त्र प्रहार गरेको थियो ।

सो आक्रमणमा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएकाहरूलाई तत्काल अस्पताल लगिएको थियो । घाइतेमध्ये एक जनाको गाजाको अल–शिफा अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या तीन पुगेको हो । यस घटनाका सम्बन्धमा इजरायली सेनाले हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।

सन् २०२५ अक्टोबरमा भएको कमजोर युद्धविराम सम्झौताका बाबजुद गाजा क्षेत्रमा सैन्य तनाव र इजरायली हवाई आक्रमणहरू निरन्तर जारी छन् । गाजास्थित स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टामा मात्रै अस्पतालहरूमा ९ जनाको शव र ३९ जना घाइतेहरू ल्याइएको छ ।

आधिकारिक तथ्याङ्कअनुसार सन् २०२५ अक्टोबर १० मा युद्धविराम लागू भएयता ८४६ जनाको ज्यान गइसकेको छ भने २ हजार ४ सय १८ जना घाइते भएका छन् । सन् २०२३ अक्टोबर ७ मा द्वन्द्व शुरु भएयता गाजामा कूल मृतकको संख्या ७२ हजार ६ सय २८ पुगेको छ भने १ लाख ७२ हजार ५ सय २० जना घाइते भएका छन् ।



