रुस र युक्रेनबीच तीनदिने युद्धविराम र एक हजार युद्धबन्दी साटासाट गर्ने सहमति

 

रुस र युक्रेन तीन दिनका लागि युद्धविराम गर्न र एक–एक हजार युद्धबन्दी साटासाट गर्न सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा अघि सारिएको यस प्रश्तावलाई दुवै पक्षले स्वीकार गरेका हुन् । रुसी राष्ट्रपतिका सल्लाहकार युरी उसाकोभले राष्ट्रपति भ्लादिमिर पुटिनको निर्देशनअनुसार ट्रम्पको प्रश्तावलाई रुसी पक्षले स्वीकार गरेको सञ्चारकर्मीहरूलाई जानकारी दिएका छन् ।

यता, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समार्फत रुससँग १ हजार–१ हजारको अनुपातमा युद्धबन्दी साटासाट गर्न सहमति भएको पुष्टि गर्नुभयो । उहाँले मे ९, १० र ११ का लागि युद्धविराम लागू हुने बताउँदै बन्दी साटासाटका लागि आवश्यक तयारी तत्काल शुरु गर्न आफ्नो टोलीलाई निर्देशन दिनुभयो ।

यसैबीच, मे ९ मा मस्कोमा आयोजना हुने विजय दिवस परेडलाई लक्षित गर्दै राष्ट्रपति जेलेन्स्कीले एक विशेष आदेशमा हस्ताक्षर गर्नुभयो । मानवीय दृष्टिकोणलाई ध्यानमा राख्दै उक्त परेडको समयमा मस्कोको रेड स्क्वायर क्षेत्रलाई युक्रेनी हतियार प्रयोगको योजनाबाट बाहिर राखिएको युक्रेनी राष्ट्रपतिको वेबसाइटमा प्रकाशित दस्ताबेजमा उल्लेख छ ।

यसअघि डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमार्फत यस सहमतिको बारेमा जानकारी दिँदै दुवै देशबीच सबै प्रकारका सैन्य गतिविधि स्थगित हुने र ठूलो सङ्ख्यामा युद्धबन्दीको साटासाट हुने बताउनुभएको थियो ।
रुसी रक्षा मन्त्रालयले मे ८ को मध्यरातदेखि मे १० सम्मका लागि युद्धग्रस्त क्षेत्रमा रहेका सबै रुसी सैन्य समूहहरूले आफ्ना सैन्य कारबाहीहरू पूर्ण रूपमा बन्द गर्ने जनाएको छ ।

 

Nepal life insuranceimagesimagesimages