


हंगेरीको नवनिर्वाचित संसद्को पहिलो अधिवेशनले ‘टिसुजा’ पार्टीकी उपाध्यक्ष एग्नेस फोस्र्टहोफरलाई नेशनल एसेम्बलीको सभामुखमा निर्वाचित गरेको छ ।

शनिवार सम्पन्न संसदको उद्घाटन सत्रमा उनलाई सभामुख चयन गरिएको हो । १९९ सदस्यीय संसदका नवनिर्वाचित सांसदहरूले सोही दिन पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । सभामुख पदका लागि भएको मतदानमा कूल १९५ सांसद सहभागी भएकोमा फोस्र्टहोफरको पक्षमा १९३ मत परेको थियो भने विपक्षमा २ मत मात्र खसेको थियो । उहाँ सो पदका लागि एकमात्र उम्मेदवार हुनुहुन्थ्यो ।

संसदले सभामुखका साथै ६ जना उपसभामुखलाई पनि निर्वाचित गरेको छ । निर्वाचित भएपछि शपथ ग्रहण गर्दै सभामुख फोस्र्टहोफरले आफ्नो पहिलो निर्णयस्वरूप १२ वर्षपछि हंगेरीको संसद् भवनमा युरोपेली संघ (ईयू) को झण्डा पुनः राखिने घोषणा गर्नुभयो ।

सन् १९८० को मार्चमा जन्मिएकी फोस्र्टहोफरसँग अर्थशास्त्र, वित्त, लेखा र मार्केटिङमा विशेषज्ञता सहितको शैक्षिक योग्यता छ । सन् २०२४ मा राजनीतिमा प्रवेश गर्नुअघि उहाँले विभिन्न संघसंस्थामा प्रमुख वित्तीय अधिकृत र महाप्रबन्धकका रूपमा कार्य गर्नुभएको थियो । उहाँ सन् २०२५ को सेप्टेम्बरमा टिसुजा पार्टीको उपाध्यक्ष निर्वाचित हुनुभएको थियो भने गत अप्रिल १२ मा सम्पन्न संसदीय निर्वाचनमार्फत संसद्मा प्रवेश गरेगर्नुभएको हो ।



