


दक्षिण लेबनानको साक्साकिया शहरमा इजरायलले गरेको हवाई आक्रमणमा परी एकै परिवारका नौ सदस्यको मृत्यु भएको छ । स्थानीय नागरिक रक्षा टोली र प्रत्यक्षदर्शीहरूकाअनुसार इजरायली सेनाले एक आवासीय भवनलाई लक्षित गरी सो आक्रमण गरेको हो ।

उक्त भवनमा दक्षिण लेबनानकै जेबचिटबाट विस्थापित भएका तीनवटा परिवारले आश्रय लिइरहेका थिए । आक्रमणका कारण भवन पूर्ण रूपमा ध्वस्त भएको छ भने वरपरका क्षेत्रमा समेत ठूलो क्षति पुगेको छ । घटनामा अन्य कैयौँ व्यक्ति घाइते भएका छन् भने केही अझै हराइरहेको बताइएको छ ।

मारिएका आफन्तको शोकमा डुबेका स्थानीयले मृतकहरूको सम्मानमा प्रार्थना गरेका थिए । नागरिक रक्षा टोलीले शवहरूलाई अन्त्येष्टिका लागि तयार पार्दै गर्दा ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । अन्तर्राष्ट्रिय समुदायले तनाव कम गर्न बारम्बार आग्रह गरे पनि दक्षिण लेबनानका विभिन्न शहरहरूमा इजरायली आक्रमण जारी छ ।

सीमा क्षेत्रमा बढ्दो तनावका बीच भएका यी आक्रमणहरूले मानवीय संकट थप गहिरो बनाएको छ । लेबनानको सार्वजनिक स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रकाअनुसार गत मार्च २ देखि मे १० सम्मको अवधिमा इजरायली आक्रमणका कारण मृत्यु हुनेको कुल संख्या २ हजार ८ सय ४६ पुगेको छ भने ८ हजार ६ सय ९३ जना घाइते भएका छन् ।



