मे १३ देखि १५ सम्म चीन भ्रमणमा जादै ट्रम्प

 

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ तारिखसम्म चीन भ्रमण गर्ने भएका छन् । चीनले सोमबार यसको औपचारिक पुष्टि गरेको हो ।

भ्रमणका क्रममा ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता हुने तय भएको छ । भेटमा इरान, व्यापार, ताइवानलगायत विभिन्न महत्वपूर्ण विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ताले राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा ट्रम्पले चीनको राजकीय भ्रमण गर्न लागेको जानकारी दिएका छन् ।

यसअघि ट्रम्प मार्च वा अप्रिलमै चीन भ्रमणमा जाने तयारीमा थिए । तर इरानसँग सम्बन्धित युद्ध सुरु भएपछि उनले भ्रमण स्थगित गरेका थिए । अमेरिकी अधिकारीहरूका अनुसार ट्रम्पले चीनमाथि इरानको विषयलाई लिएर दबाब बढाउन सक्नेछन् । चीन इरानी तेलको प्रमुख खरिदकर्ता मानिन्छ । विशेषगरी चिनियाँ तेल प्रशोधन कम्पनीहरूले सहुलियत दरमा इरानबाट तेल खरिद गर्दै आएका छन् ।

अमेरिका र चीनबीच व्यापारिक महसुलको विषयलाई लिएर लामो समयदेखि तनाव कायम छ । विभिन्न रिपोर्टअनुसार दुवै देशले व्यापारिक व्यवस्था स्थिर बनाउने तथा नयाँ व्यापार सम्झौताबारे छलफल गर्न सक्छन् ।

ताइवानको विषय पनि वार्ताको मुख्य एजेन्डामध्ये एक बन्न सक्ने बताइएको छ । चीनले ताइवानलाई आफ्नो भूभागको हिस्सा मान्दै आएको छ भने अमेरिकाले ताइवानलाई सैन्य तथा राजनीतिक समर्थन दिँदै आएको छ ।

अमेरिकी राष्ट्रपति कार्यालयकी प्रमुख उपप्रेस सचिव एना केलीले यो भ्रमण निकै महत्वपूर्ण हुने बताएकी छन् । उनले ट्रम्प केवल औपचारिकताका लागि भ्रमण नगर्ने भन्दै अमेरिकी नागरिकले यस भ्रमणबाट सकारात्मक सम्झौताको अपेक्षा गर्न सक्ने बताइन् ।

ह्वाइट हाउसका अनुसार ट्रम्पको भ्रमण तालिकामा बेइजिङस्थित ‘टेम्पल अफ हेवन’ भ्रमण र भव्य राजकीय भोजसमेत समावेश गरिएको छ ।

 

Nepal life insuranceimagesimagesimages