


नेदरल्याण्ड्सको ‘एमभी होन्डियस’ नामक क्रुज जहाजमा सवार एक अमेरिकी नागरिकमा हन्टाभाइरसको संक्रमण पुष्टि भएको छ । अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागले आइतबार दिएको जानकारीअनुसार उक्त जहाजमा रहेका अर्का एक अमेरिकी यात्रुमा पनि सोही भाइरसको सामान्य लक्षण देखिएको छ ।

संक्रमण पुष्टि भएका र लक्षण देखिएकासहित जहाजमा रहेका सबै १७ जना अमेरिकी नागरिकलाई अहिले हवाई मार्गमार्फत अमेरिका लगिँदैछ । विभागले सामाजिक सञ्जाल ‘एक्स’ मा दिएको जानकारीअनुसार उच्च शतर्कताका लागि दुईजना बिरामीलाई विमानभित्रको विशेष ‘बायोकन्टेनमेन्ट युनिट’ मा राखेर ल्याइएको छ ।

ती यात्रुहरूलाई सुरुमा ओमाहास्थित नेब्रास्का विश्वविद्यालयको मेडिकल सेन्टरमा रहेको ‘रिजनल इमर्जिङ स्पेसल प्याथोजेन ट्रिटमेन्ट सेन्टर’ मा लगिनेछ । त्यहाँ उनीहरूको स्वास्थ्य परीक्षण र प्रारम्भिक उपचार भएपछि सामान्य लक्षण देखिएका बिरामीलाई उनको अन्तिम गन्तव्यमा रहेको अर्को उपचार केन्द्रमा स्थानान्तरण गरिने विभागले जनाएको छ ।

शनिवारसम्मको तथ्यांकअनुसार यस भाइरसको प्रकोपसँग सम्बन्धित ८ जना शंकास्पद बिरामी भेटिएका छन् भने ३ जनाको मृत्यु भइसकेको छ ।
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार हन्टाभाइरसको संक्रमण भएपछि लक्षण देखिन एकदेखि आठ हप्तासम्म लाग्न सक्छ । यो रोग सामान्यतया मुसाजन्य जीवहरूबाट सर्ने भए तापनि विरलै अवस्थामा मानिसबाट मानिसमा पनि सर्न सक्छ। संक्रमितमध्ये एक तिहाइभन्दा बढी व्यक्तिको मृत्यु हुने जोखिम रहने भएकाले यसलाई निकै घातक मानिन्छ ।




