


संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेस र केन्याका राष्ट्रपति विलियम रुटोले नैरोबीस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा ३४ करोड अमेरिकी डलर लागतको विस्तार परियोजनाको सोमवार औपचारिक शुभारम्भ गरेका छन् । दुई नेताहरूले सम्मेलन सुविधाहरूको विस्तारका लागि आयोजित शिलान्यास समारोहको नेतृत्व गर्नुका साथै अत्याधुनिक तथा जलवायु–अनुकूल कार्यालय भवनहरूको उद्घाटन गर्नुभयो । यस परियोजनाले ग्लोबल साउथमा नैरोबीको कूटनीतिक केन्द्रको छविलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

संयुक्त राष्ट्र संघको महासभाद्वारा स्वीकृत यस विस्तार परियोजना अन्तर्गत ६ करोड ६२ लाख डलरको लागतमा नयाँ ‘ग्रिन’ कार्यालय भवनहरू निर्माण गरिनेछ । त्यसैगरी, २६ करोड ५७ लाख डलरको लागतमा सम्मेलन सुविधाहरूको स्तरोन्नति गरिनेछ । यसबाट बैठक कक्षहरूको संख्या १४ बाट वृद्धि भई ३० पुग्नेछ भने प्रतिनिधिहरूको बस्ने क्षमता २ हजारबाट बढेर ९ हजार पुग्नेछ । सन् २०२९ सम्ममा सम्पन्न हुने लक्ष्य राखिएको यस परियोजनापश्चात् नैरोबी न्युयोर्क र जेनेभापछि विश्वकै तेस्रो ठूलो राष्ट्र संघीय केन्द्र बन्नेछ।


हाल भियना चौथो स्थानमा रहेको छ । समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति रुटोले राष्ट्र संघको कार्यालय विस्तारले बहुपक्षीय प्रयासहरूलाई आधुनिकीकरण गर्ने र मानवताका चुनौतीहरू समाधान गर्ने केन्याको प्रतिवद्धतालाई प्रतिबिम्बित गर्ने बताउनु भयो ।
यो विस्तार कार्यले केन्या र संयुक्त राष्ट्र संघबीचको कुटनीतिक सम्बन्धमा ऐतिहासिक कोशेढुंगा सावित हुने र भविष्यको बहुपक्षीय सहयोगका लागि नयाँ मार्ग प्रशस्त गर्ने विश्वास गरिएको छ ।



