


टर्कीको दक्षिणपूर्वी सानलिउर्फा प्रान्तमा अवस्थित अक्चाकाले सीमा नाका १२ वर्ष लामो अन्तरालपछि मंगलवारदेखि सर्वसाधारणका लागि पुनः खुला गरिएको छ । सिरियाको उत्तरी सहर ताल अब्यादको ठीक विपरित दिशामा रहेको यो नाका सन् २०१४ देखि पूर्ण रूपमा बन्द रहेको थियो ।
स्थानीय सञ्चारमाध्यमका अनुसार मंगलवार बिहानैदेखि नाकामा सर्वसाधारणको उल्लेख्य चहलपहल देखिएको छ । नाका खुला गरिएसँगै राहदानी जाँच कक्षहरूमा आवतजावत शुरु भएको छ भने सुरक्षा व्यवस्थालाई अत्यन्तै चुस्त बनाइएको छ ।


सानलिउर्फा प्रान्तीय प्रशासनले सोमवार नै एक सूचना जारी गर्दै मंगलवारदेखि राहदानीका आधारमा प्रवेश र बर्हिगमन प्रक्रिया सुचारु हुने जानकारी दिएको थियो । सिरियामा जारी आन्तरिक द्वन्द्वका कारण सन् २०१४ मा यो नाका व्यापारिक तथा नागरिक आवतजावतका लागि बन्द गरिएको थियो।
टर्कीको सैन्य अभियानपछि सन् २०१९ मा व्यापार, दाहसंस्कार र सरकारी अधिकारीहरूको विशेष प्रयोजनका लागि यसलाई आंशिक रूपमा खोलिए पनि सर्वसाधारणका लागि भने यो अझै प्रतिबन्धित नै थियो ।

हालको निर्णयसँगै यो नाका सर्वसाधारणका लागि पूर्ण रूपमा सञ्चालनमा आएको छ । टर्की र सिरियाबीचको करिब ९०० किलोमिटर लामो सीमा क्षेत्रमा हाल सञ्चालनमा रहेका ६ वटा नाकाहरूमध्ये यो पनि एक हो। सन् २०११ मा सिरियाली द्वन्द्व शुरु भएयता दुई देशबीचका अधिकांश सीमा नाकाहरू लामो समयदेखि बन्द वा प्रतिबन्धित रहँदै आएका छन् ।



