


काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई रिहा गर्न आदेश दिएको छ । शुक्रबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्तिसिंह थापाको इजलासले पाण्डेलाई रिहा गर्न आदेश दिएको हो । उनकी श्रीमती निरु दाहालले बुधबार दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्चले सो आदेश दिएको छ । यसअघि बिहीबार न्यायाधीश अजीज मुसलमानको इजलासले रिटमाथि सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको थियो । सर्वोच्चले अन्तरिम आदेश दिने कि नदिनेबारे निर्णय गर्न दुवैपक्षलाई आज छलफलका लागि बोलाएको थियो । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले स्मार्ट टेलिकमका उपकरण लिलामी गरेको विषयमा ठगी तथा आपराधिक विश्वासघात गरेको भन्दै पाण्डेलाई मंगलबार राति पक्राउ गरेको थियो ।

२- महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले स्थानीय तहमा १९ अर्ब ५ कारोड रुपैयाँ बेरुजु देखाएको छ । आर्थिक बर्ष २०८१/८२ मा ४ महानगरपालिका, १० उपमहानगरपालिका, २६१ नगरपालिका र ४४६ गाउँपालिकासहित ७२१ स्थानीय तहको ११ खर्ब ९ अर्ब ५२ करोड करोड ३८ लाख रुपैयाँ बराबरको लेखापरीक्षण सम्पन्न भएको छ । लेखापरीक्षणका क्रममा ७२१ स्थानीय तहमा २१ अर्ब ४७ करोड ५० लाख रुपैयाँ बेरुजु देखिएको थियो । प्रारम्भिक प्रतिवेदन उपलब्ध गराइएपछि २ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ फस्यौट भएको छ भने अझै १९ अर्ब ४ करोड ७७ लाख रुपैयाँ फस्यौट हुन बाँकी रहेको उल्लेख गरिएको छ । बाँकी बेरुजुमध्ये २ अर्ब १ करोड ३३ लाख रुपैयाँ असुल गर्नुपर्ने, १५ अर्ब १८ करोड ९४ लाख रुपैयाँ नियमित गर्नुपर्ने तथा १ अर्ब ८४ करोड ५० लाख रुपैयाँ म्याद नाघेको पेश्की रहेको जनाइएको छ । यस वर्ष लेखापरीक्षणबाट औँल्याइएपछि ४९१ स्थानीय तहले ३२ करोड १९ लाख रुपैयाँ असुल गरेका छन् । त्यस्तै प्रारम्भिक प्रतिवेदन जारी भएपछि ५०२ स्थानीय तहले थप ४७ करोड ९६ लाख रुपैयाँ असुल गरेका छन् । यसरी कुल ८० करोड १४ लाख रुपैयाँ असुली भएको छ । यस्तै विगत वर्षको बेरुजु सम्परीक्षणका क्रममा ४८२ स्थानीय तहबाट १ अर्ब १ करोड ८७ लाख रुपैयाँ असुल गरिएको छ । यस वर्ष कुल १ अर्ब ८२ करोड १ लाख रुपैयाँ असुल भई सम्बन्धित राजस्व खातामा दाखिला भएको प्रतिवेदनमा उल्लेख छ । स्थानीय तहतर्फ गत वर्षसम्मको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ रहेकोमा यस वर्ष सम्परीक्षणबाट ८ अर्ब १४ करोड ६४ लाख रुपैयाँ फस्यौट भएको छ । साथै समायोजन तथा सम्परीक्षणबाट २८ करोड २२ लाख रुपैयाँ थप भएको र चालु वर्षको १९ अर्ब ४ करोड ७७ लाख रुपैयाँ बेरुजुसमेत जोडिँदा अद्यावधिक बेरुजु २ खर्ब २० अर्ब ४७ करोड २६ लाख रुपैयाँ पुगेको छ ।

३- मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जेठ ८ गते विश्वासको मत लिने भएका छन् । शुक्रबारका लागि तय गरिएको विश्वासको मत जेठ ८ गते लिने गरी नयाँ मिति तोकिएको हो । नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले मुख्यमन्त्रीले जेठ ८ गते विश्वासको मत लिने जानकारी गराएका छन् । सत्ता गठबन्धन र पार्टीभित्रको असन्तुष्टिका कारण मुख्यमन्त्री यादवले फ्लोर क्रसको जोखिम देखेर विश्वासको मत लिनबाट पछि हटेको बताइएको छ । मुख्यमन्त्री यादव नेपाली कांग्रेसको नेतृत्वमा पाँच दलको समर्थनमा सरकार गठन गरेका थिए । तर, जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता बनेको हो । जनमत पार्टीका संसदीय दलका नेता चन्दनकुमार सिंहले समर्थन फिर्ता लिएसँगै प्रदेश सरकारको राजनीतिक समीकरण फेरिएको छ । यसैबीच, नेपाली कांग्रेस, जसपा नेपाल, नेकपा तथा लोसपाबीच गठबन्धनलाई निरन्तरता दिने सहमति भएपनि आन्तरिक असन्तुष्टि बढेको बताइएको छ । मधेश प्रदेशसभामा कांग्रेसका २२, जसपाका १७, नेकपाका १५ र लोसपाका ८ सांसद रहेका छन् । यी चार दलको गरेर कुल ६२ सिट रहेको जुन बहुमतका लागि आवश्यक ५२ भन्दा बढी हो ।

४- नेपाली काँग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित भएका छन् । कांग्रेस सभापति गगन थापाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य श्रेष्ठलाई कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनयन गरेको कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।
५- जापानको मियागी क्षेत्रमा शुक्रबार शक्तिशाली भूकम्प गएको छ । रिक्टर स्केलमा ६.७ मापन गरिएको भूकम्पपछि उत्तरी जापानका पाँच प्रान्तमा आपतकालीन सतर्कता जारी गरिएको छ । जापानी अधिकारीहरूले हालसम्म सुनामीको तत्काल खतरा नरहेको बताएका छन् । भूकम्प जापानी समयअनुसार राति ८ बजेर २२ मिनेटमा गएको थियो । यसको केन्द्र मियागी प्रान्तको तटीय क्षेत्र नजिक जमिनबाट करिब ४३ किलोमिटर गहिराइमा रहेको जनाइएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले सुरुमा भूकम्पको तीव्रता ६.६ जनाएको थियो । पछि त्यसलाई संशोधन गर्दै ६.७ कायम गरिएको हो । जापानको १ देखि ७ सम्मको भूकम्प तीव्रता मापन प्रणालीमा यसलाई पाँच श्रेणीमा राखिएको छ । भूकम्पपछि सुरक्षाका कारण टोकियो र सिन–ओमोरी स्टेशनबीचको द्रुतगतिको रेल सेवा अस्थायी रूपमा रोकिएको छ । मियागीका तोमे, ओसाकी र इशिनामाकी सहरमा भूकम्पको धक्का निकै शक्तिशाली महसुस गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । हालसम्म ठूलो क्षति वा मानवीय हताहतीको विवरण सार्वजनिक भएको छैन । यद्यपि प्रशासनले अवस्थामाथि निरन्तर निगरानी राखेको जनाएको छ । यसअघि अप्रिल २० मा पनि उत्तरी जापानमा ७.७ मापनको शक्तिशाली भूकम्प गएको थियो । त्यसपछि सुनामीको चेतावनीसमेत जारी गरिएको थियो । लगातार भूकम्पीय गतिविधि बढेपछि अन्तर्राष्ट्रिय यात्रा एजेन्सीहरू तथा बेलायतको विदेश मन्त्रालयले जापान भ्रमण गर्ने यात्रुलाई सतर्क रहन आग्रह गरेका छन् । जापानी प्रशासनले यात्रुहरूलाई स्थानीय निकायका निर्देशन पालना गर्न र भूकम्प सम्भावित क्षेत्रमा अतिरिक्त सावधानी अपनाउन अनुरोध गरेको छ ।

६- महालेखा परीक्षकको कार्यालयले २०८१/८२ आर्थिक वर्षमा सङ्घीय, प्रदेश, स्थानीय तह, संगठित संस्था तथा सङ्घीय कानुनद्वारा स्थापित अन्य संस्था र समितिसमेत गरी ९४ खर्ब ८४ अर्ब ५० करोड बराबरको लेखापरीक्षण सम्पन्न गरेको जनाएको छ । कार्यालयका अनुसार २०८२ भदौ २३ र २४ गते देशभर भएको आन्दोलन तथा घटनाका कारण १७९ कार्यालय र निकायले लेखा तथा सम्बन्धित स्रेस्ता पेश नगर्दा १ खर्ब ४७ अर्ब ९० करोड बराबरको लेखापरीक्षण हुन नसकेको जानकारी दिएको छ । लेखापरीक्षणबाट नीतिगत तथा प्रणालीगत सुधार आवश्यक देखिएको उल्लेख गर्दै यस आर्थिक बर्षमा मात्र ८८ अर्ब ९ करोड बेरुजु औँल्याइएको छ । जसमध्ये सङ्घीय सरकारी कार्यालयतर्फ ५३ अर्ब ४९ करोड, प्रदेशतर्फ ५ अर्ब २३ करोड, स्थानीय तहतर्फ १९ अर्ब ५ करोड तथा समिति र अन्य संस्थातर्फ १० अर्ब ३२ करोड बेरुजु कायम भएको छ । गत वर्षसम्मको बेरुजुमध्ये प्रतिवेदन अवधिमा ६६ अर्ब ११ करोड सम्परीक्षण तथा समायोजन भएको छ । बाँकी बेरुजु र चालु वर्षको बेरुजुसहित अद्यावधिक बेरुजु रकम ७ खर्ब ५५ अर्ब १७ करोड पुगेको कार्यालयले जनाएको छ । यस अवधिमा विगतको बेरुजुको सम्परीक्षण तथा चालु वर्षमा औँल्याइएका बेहोराको फर्छ्योटबाट १४ अर्ब ६३ करोड असुल भएको उल्लेख गरिएको छ । प्रतिवेदन अनुसार कुल बेरुजु २१ अर्ब ९८ करोडले बढेको छ । आर्थिक बर्ष २०८०/८१ सम्म कुल बेरुजु ७ खर्ब ३३ अर्ब १९ करोड रहेको थियो । प्रतिवेदनअनुसार लेखापरीक्षणका सुझावका आधारमा विभिन्न नीतिगत, कानुनी तथा प्रणालीगत सुधारसमेत भएका छन् । प्रदेश मन्त्रालय तथा निकायतर्फ सातै प्रदेशअन्तर्गत १ हजार १२४ निकायको ३ खर्ब २० अर्ब ३० करोड बराबरको लेखापरीक्षण सम्पन्न गरिएको छ । गत वर्षसम्म २४ एकाइको २ अर्ब २३ करोड लेखापरीक्षण बाँकी रहेकामा यस वर्ष चार एकाइले १ अर्ब २२ करोडको लेखापरीक्षण गराएका छन् । यद्यपि तीन प्रदेश कार्यालयले भने यस वर्ष पनि लेखापरीक्षण नगराएको जनाइएको छ । स्थानीय तहतर्फ चार महानगरपालिका, १० उपमहानगरपालिका, २६१ नगरपालिका र ४४६ गाउँपालिकासहित ७२१ स्थानीय तहको रु. ११ खर्ब ९ अर्ब ५२ करोड बराबरको लेखापरीक्षण सम्पन्न भएको छ। यस वर्ष एक स्थानीय तहले भने लेखापरीक्षण नगराएको प्रतिवेदनमा उल्लेख छ । यस्तै, ५७७ समिति तथा अन्य संस्थाको ४ खर्ब ४७ अर्ब ७७ करोडको लेखापरीक्षण गरिएको छ। यसमा प्रदेशतर्फका १३३ संस्था पनि समावेश छन् । संगठित संस्था तथा सङ्घीय कानुनद्वारा स्थापित संस्थातर्फ ४४ संस्थाको ५४ आर्थिक वर्षसम्बन्धी ४६ खर्ब ८८ अर्ब ९६ करोड बराबरको लेखापरीक्षण सम्पन्न गरिएको छ । यसमा सङ्घीय कानुनद्वारा स्थापित ६ संस्थाको सात आर्थिक वर्षको ९ खर्ब ५६ अर्ब ५४ करोड पनि समावेश रहेको छ । यस अतिरिक्त ४० संस्थाको ४६ आर्थिक वर्षसम्बन्धी १८ खर्ब ३२ अर्ब ६२ करोडको लेखापरीक्षणका लागि परामर्श प्रदान गरिएको कार्यालयले जनाएको छ । अन्य कोषतर्फ गत वर्षको जिम्मेवारी ३५ अर्ब १६ करोड २६ लाख र चालु वर्षको आम्दानी ३ खर्ब ७२ अर्ब ८८ करोड ७२ लाखसहित कुल ४ खर्ब ८ अर्ब ४ करोड ९८ लाख आम्दानी भएको उल्लेख छ। त्यसमध्ये ३ खर्ब ६६ अर्ब ९५ करोड ९३ लाख खर्च भई वर्षान्तमा ४१ अर्ब ९ करोड ५ लाख मौज्दात रहेको छ। महालेखा परीक्षकको कार्यालयले यस वर्ष १५ विषयमा कार्यमूलक, एक विषयमा वातावरणीय तथा एक विषयमा विशेष लेखापरीक्षणसमेत गरेको जनाएको छ। नेपाल सरकार र दातृ निकायबीचको सम्झौताअनुसार सञ्चालित विश्व बैंक, एसियाली विकास बैंक तथा अन्य दातृ निकायअन्तर्गतका ४९ आयोजनाको आयोजना हिसाब प्रमाणीकरण गरी रायसहितको लेखापरीक्षण प्रतिवेदन उपलब्ध गराइएको पनि उल्लेख गरिएको छ ।
७- राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको निलम्बन फुकुवा गरेको छ । एन्फाका प्रवक्ता सुरेश शाहले परिषदले फुटबलमा देखिएको गतिरोध अन्त्य गर्दै बिना सर्त एन्फा माथिको प्रतिबन्ध फुकुवा गरेको जानकारी दिएका छन् । उनले भनेका छन्- ‘नेपाली फुटबलमा देखिएको गतिरोध अन्त्य गर्दै बिना सर्त एन्फा माथिको प्रतिबन्ध फुकुवा गरिदिएकोमा नेपाल सरकार, माननीय शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलज्यू, प्रमुख सल्लाहकार सिद्दी ब्यन्जन्कारज्यू, सल्लाहकार राजु सिंहज्यू, सदस्य सचिव राम चरित्र मेहताज्यू लगायत यस कार्यमा संलग्न सम्पूर्ण व्यक्तित्वहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु । नेपाली फुटबलको विकासका लागि यो अत्यन्त सराहनीय र ऐतिहासिक निर्णय हो ।’ परिषद्ले एन्फालाई गत चैत ११ मा तीन महिना निलम्बन गरेको थियो ।

८- लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । शुक्रवार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले नयाँ आर्थिक वर्ष साउन १ गतेदेखि लागू हुने गरी हाल कायम १२ बाट घटाएर ८ मन्त्रालय कायम गर्ने निर्णय गरको हो । लुम्बिनीमा प्रदेशमा शुरुमा ६ मन्त्रालय रहेको भएपनि त्यसपछि ११ हुदै १७ सम्म पुर्याइएको थियो । एमाले नेता चेतनारायण आचार्य मुख्यमन्त्री भएपछि मन्त्रालयको संख्या १० बाट १२ पुर्याए पनि अहिले उनैले मन्त्रालयको संख्या ८ बनाउने निर्णय गरेका छन् । प्रदेश मन्त्रिपरिषद्को बैठकले मन्त्रालय घटाउन प्रमुख सचिव कृष्णप्रसाद काप्रीको अध्यक्षतामा कार्यदल गठन गरेको र कार्यदलको सुझावको आधारमा मन्त्रालयको नाम र कार्य विभाजन टुंगो लगाइने बताइएको छ ।
९- नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज शुक्रबार नेप्से १.७७ अंकले बढेर २७३१.९४ विन्दुमा पुगेर रोकिएको छ । आज ३३८ कम्पनिका ७९ लाख ३४ हजार ४४४ कित्ता शेयर ३ अर्ब ९ करोड ७९ लाख ५३ हजार ४८६ मा कारोबार भएको थियो । आज विकास बैंक, लगानी, जीवन बीमा, उत्पादन, माइक्रो फाइनान्स र म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी नबिल डिभेन्चरको शेयर ७.७१ प्रतिशतले बढेको छ भने मोदी इनर्जीको शेयर ५.२६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी युनियन हाइड्रोको शेयर १४.७९ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी युनियन हाइड्रोको ३० करोड ६६ लाखको कारोबार भएको छ भने अपि पावरको ११ करोड ४४ लाख बराबरको कारोबार भएको छ ।
१०- संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेनजी प्रतिनिधिहरूसँग आज गर्न लागेको छलफलका विषयमा देखिएका केही अन्योल चिर्दै सकारात्मक संवादका लागि आह्वान गरेको छ । कार्यदलका संयोजक असिम शाहले सबै सरोकारवालाको सुझाव समेटेर बहसपत्रलाई पूर्णता दिनु नै कार्यदलको मुख्य ध्येय रहेको र सोहीअनुरूप जेन्जीहरूलाई पनि छलफलका लागि आमन्त्रण गरिएको स्पष्ट पारेका छन् । आज तय गरिएको छलफलका सन्दर्भमा केही जेन्जी प्रतिनिधिहरूले अघिल्लो सरकारसँग भएका सहमतिको विषयलाई लिएर असन्तुष्टि र बहिष्कारका कुरा उठाएपछि संयोजक शाहले त्यसको वास्तविकता प्रष्ट पारेका थिए । उनका अनुसार अघिल्लो सरकारसँग भएका सहमतिहरू कार्यान्वयनकै चरणमा छन् र जेनजी परिषद् निर्माणको कार्य पनि अन्तिम चरणमा पुगेको छ। यो कार्यदलले आयोजना गरेको छलफल संविधान संशोधनका लागि सुझाव संकलन गर्ने विशेष र फरक उद्देश्यका लागि भएकाले यसलाई अन्य विषयसँग नमिसाउन उनले आग्रह गरेका छन् । कार्यदलले जेनजीहरूबाट मौखिक र लिखित दुवै माध्यमबाट सुझाव लिने गरी समय व्यवस्थापन गरेको छ । बोल्नका लागि समय कम दिइएको भन्ने जस्ता केही भ्रमपूर्ण प्रचारहरू भइरहेकोप्रति संकेत गर्दै संयोजक शाहले कसैका आवाजलाई पनि नजरअन्दाज नगरिने विश्वास दिलाए । उनले कुनै पनि राजनीतिक विवाद वा भ्रमको पछि नलागी आफ्नो अधिकार र दायित्व सम्झेर छलफलमा सहभागी हुन निमन्त्रित सबै जेनजीहरूलाई अनुरोध गरेका छन् । कार्यदलले गत चैत २५ गतेदेखि सरोकारवालासँग छलफल सुरु गरेको थियो । यस क्रममा हालसम्म संविधानविद्, पूर्वप्रशासक र सञ्चार क्षेत्रका विज्ञहरूसँग परामर्श गरिसकिएको छ भने आगामी दिनमा अन्य सरोकारवालासँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ । शासकीय स्वरूप, निर्वाचन प्रणाली र संघीयता जस्ता महत्त्वपूर्ण विषयमा सबैको साझा धारणा बनाउन सरकारको १०० बुँदे कार्यसूची अनुसार यो प्रक्रिया अघि बढाइएको हो । विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सम्मिलित यस कार्यदलले संविधानमा सबै वर्ग र समुदायको अपनत्व सुनिश्चित गर्न जेन्जीहरूको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिएको छ । छलफलका लागि बोलाइएका अमृता वन, अमित खनाल उर्जा, अर्णव चौधरी, आयुष बस्याल, उपार्जुन चाम्लिङ, कमल मगर, जनक पोखरेल, तनुजा पाण्डे, प्रभात लाभ, प्रज्वल विक्रम राणा, पेमा वाङमो लामा, माजिद अन्सारी, मोनिश चौधरी, मोनिका निरौला, यतिष ओझा, यादव अर्याल, रक्षा बम, रिजन राना मगर, रुक्शना कपाली, लक्ष्मीई घिमिरे, विप्लवी न्यौपाने, सरिस्मा थापा, सांकेंन राई र सुदिप सेठले शुक्रबार विज्ञप्ति जारी गर्दै आफूहरूसँग विगतमा भएको सम्झौता कार्यान्वयन नभएको र सरकार अपारदर्शी ढंगले अघि बढेको आरोप लगाउदै छलफलमा सहभागी हुन अस्वीकार गरेका थिए । उनीहरुले लिखित रूपमै सम्पन्न भइसकेको सम्झौताको कार्यान्वयन नगरेर ३ मिनेट सुझाव दिन आमन्त्रण गर्ने कार्य केवल औपचारिकता पूरा गर्न मात्रै बोलाइको भन्ने संशय उत्पन्न भएको बताउदै छलफलमा सहभागी हुन के कस्तो प्रक्रिया र आधारमा छनौट गरिएको हो भन्ने समेत स्पष्ट नभएको उनीहरुले बताएका छन् ।
११- बलिवुड अभिनेत्री मौनी रोय र उनका पति सुरज नाम्बिआरले चार वर्षको वैवाहिक सम्बन्ध अन्त्य गरेका छन् । दुवैले संयुक्त वक्तव्य जारी गर्दै वैवाहिक सम्बन्ध अन्त्य गरेको बताएका हुन् । उनीहरूले व्यक्तिगत जीवनबारे फैलाइएका गलत हल्ला र अनावश्यक चर्चाप्रति असन्तुष्टि पनि जनाएका छन् । यसअघि सामाजिक सञ्जालमा दुवैले एकअर्कालाई इन्स्टाग्राममा अनफलो गरेपछि सम्बन्धमा समस्या आएको चर्चा सुरु भएको थियो । मौनीको प्रोफाइलबाट सुरजसँगका केही तस्बिर हटाइएको तथा सुरजले आफ्नो इन्स्टाग्राम खाता निष्क्रिय बनाएपछि चर्चा झन् बढेको थियो । संयुक्त वक्तव्यमा मौनी र सुरजले सम्मान र समझदारीसहित अलग–अलग बाटो रोज्ने निर्णय गरेको उल्लेख गरेका छन् । साथै भविष्यमा पनि मित्रता कायम राख्ने प्रयास गर्ने बताएका छन् । दुवैले सन् २०२२ जनवरीमा गोवामा बंगाली र मलयाली परम्परा अनुसार विवाह गरेका थिए । उनीहरूको विवाहका तस्बिर त्यतिबेला सामाजिक सञ्जालमा निकै चर्चित बनेका थिए । बैंगलुरुका सुरज हाल दुबईमा व्यवसाय गर्छन् भने इन्भेस्टमेन्ट बैंकर हुन् । व्यावसायिक रूपमा मौनी राय अहिले आगामी चलचित्र ‘है जवानी तो इश्क होना है’को प्रदर्शन तयारीमा रहेकी छन् । उक्त चलचित्र आगामी जुनमा प्रदर्शन हुने तय गरिएको छ ।

१२- नारायणघाट-बुटवल सडक योजनाको पूर्वी खण्डको बैशाखसम्मको भौतिक प्रगति ९१.३४ प्रतिशत रहेको छ । सडक योजनाका अनुसार यो खण्डको दाउन्ने क्षेत्रको सम्पूर्ण लम्बाईको यात्रा ढलान सडकमा गर्न सकिने भएको छ । योसँगै नारायणघाटदेखि ६५ किलोमिटर दाउन्ने सम्मको सम्पूर्ण यात्रा अब पक्की सडकमा गर्न सकिने आयोजनाले जनाएको छ । नारायणघाट-बुटवल सडकलाई दुई खण्डमा विभाजन गरी ठेक्का गरिएको छ । ११४ किमी सडकमध्ये ७० किमी ६ लेन, २९ किमी ४ लेनसहित दुवैतर्फ ६-६ मिटरको सर्भिस लेन, दाउन्नेमा १४ किमी ३ लेनको सडक हुनेछ । बिचमा ६४ वटा पुल र ४६२ वटा कलभर्टलगायत संरचना निर्माण अब अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । २०७५ माघ २२ मा सरकार र निर्माण कम्पनी चिनियाँ निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडबीच २०७९ साउन २२ भित्र काम सक्ने गरी ठेक्का सम्झौता भएको थियो । ११४ किलोमिटर सडकलाई गैँडाकोट–दाउन्ने (६५ किलोमिटर) र दाउन्ने–बुटवल (४९ किलोमिटर) गरी दुई खण्डमा विभाजन गरी आह्वान गरिएको बोलपत्रमा दुवै खण्ड निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सनले पाएको थियो । २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलबाट दुवै खण्डको शिलान्यास गरेपछि सडक विस्तारको औपचारिक काम सुरु भएको थियो । निर्धारित समयमा एकचौथाइ पनि काम नसकेपछि पहिलोपटक २०८० साउन ८, दोस्रोपटक २०८१ साउन ८ सम्मका लागि म्याद थप गरिएको थियो । निर्माण कम्पनीले कोभिड, निर्माण सामग्रीको अभावलगायत विभिन्न समस्या देखाउँदै तीनपटकसम्म ठेक्का सम्झौताको म्याद थप गराएको छ । त्यसपछि २०८२ साउन ८ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी सरकारले तेस्रोपटक म्याद थप गरेको थियो । म्याद थप गरिएको चार महिना काम नै नगरी समय तिाएको निर्माण कम्पनीलाई सरकारले कारबाही गर्ने गरी पत्राचार गरेपछि डिसेम्बर २०२४ बाट पुनः काममा फर्किएको थियो । गत साउनसम्म पनि काम सम्पन्न नभएपछि सरकारले अन्तिम पटक भन्दै आगामी २०८३ साउन ९ गतेसम्मका लागि चौथो पटक म्याद थप गरेको थियो । अब यहि म्याद भित्र काम सकिसक्नुपर्ने छ ।
१३- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण सकेर शुक्रबार अमेरिका फर्किएका छन् । विश्वका दुई ठूला अर्थतन्त्रबीच देखिएका विभिन्न मतभेद समाधान गर्ने उद्देश्यसहित भएको वार्तापछि उनी बेइजिङबाट अमेरिका प्रस्थान गरेका हुन्। स्थानीय समयअनुसार शुक्रबार दिउँसो एयर फोर्स वन बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो । प्रस्थानअघि आयोजित औपचारिक कार्यक्रममा ट्रम्पले विमान चढ्ने क्रममा हात उठाएर अभिवादन गरेका थिए । निलो पोसाकमा रहेका सहभागीहरूले अमेरिकी र चिनियाँ झण्डा हल्लाउँदै स्वागत र बिदाइ गरेका थिए । ट्रम्पको तीन दिने चीन भ्रमणका क्रममा राजकीय भोज, ऐतिहासिक स्थलहरूको भ्रमण, द्विपक्षीय चियापान तथा कार्यकारी भोजन कार्यक्रम आयोजना गरिएको थियो । ट्रम्प र सी जिनपिङबीच दुई दिनसम्म भएको वार्ताबाट हालसम्म सीमित सहमति मात्र सार्वजनिक भएको छ । यद्यपि अधिकारीहरूले आगामी दिनमा थप सम्झौताहरू हुन सक्ने संकेत दिएका छन् । विश्लेषकहरूका अनुसार अमेरिका र चीनबीचको सम्बन्ध लामो समयदेखि उतारचढावपूर्ण रहेकाले अहिले भएका सहमतिहरू भविष्यमा फेरि प्रभावित हुन सक्ने सम्भावना कायम छ । बहुअर्ब डलरका सम्झौता कार्यान्वयन हुन वर्षौं लाग्न सक्ने र त्यस अवधिमा तनाव फेरि बढ्न सक्ने आकलन गरिएको छ । शिखर वार्ताअघि नै विश्लेषकहरूले ठूलो उपलब्धिको अपेक्षा कम गरेका थिए । विशेषगरी प्रविधि निर्यात नियन्त्रण र ताइवानको विषयले दुई देशबीचको सम्बन्ध अझै जटिल बनाइरहेको बताइएको छ । ट्रम्पले बिहीबार सी जिनपिङले २०० वटा बोइङ विमान खरिद गर्न सहमति जनाएको बताएका थिए । त्यस्तै अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले चीनले अमेरिकी कृषि उत्पादन खरिद गर्न अर्बौँ डलर बराबरको सम्झौता गर्ने अपेक्षा रहेको जानकारी दिएका छन् । विश्लेषकहरूले यी सम्झौताहरूलाई तुलनात्मक रूपमा सहज रूपमा कार्यान्वयन गर्न सकिने उपलब्धिका रूपमा व्याख्या गरेका छन् । तर अमेरिका–चीन सम्बन्धमा बेला–बेला देखिने तनावले यस्ता सहमतिहरूलाई पनि प्रभावित पार्न सक्ने चेतावनी दिइएको छ ।
१४- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा मागेको विषयको जवाफ दिदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले जवाफ दिएका छन् । सांसद साम्पाङले चार कारण देखाउदै प्रधानमन्त्रीको राजीनामा माग गरेपछि शाहीले जवाफ दिदै प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने कारण नभएको बताएका हुन् । शाहीले प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायित्व हुन भनेको भन्दै राजीनामा भने दिन नहुने बताएका छन् । उनले भनेका छन्- ‘माननीय हर्क साम्पाङज्यूलाई मेरो विनम्र अपिल छ। प्रधानमन्त्रीज्यूको राजीनामा माग्नुपर्ने कुनै कारण छैन । याद गर्नुस्, तिनै शक्तिहरूले ३५ वर्षसम्म यो देश लुटे, भ्रष्टाचार गरे । तिनैका विरुद्धको लडाइँमा अहिलेका जनताले मतदान गरेका हुन् । त्यसैले हामीले जनताको मत र जनादेशको सम्मान गर्नुपर्छ । हामी सबै मिलेर देशलाई अगाडि बढाउनुपर्छ । हाम्रो माग यति मात्रै हो कि प्रधानमन्त्री प्रजातान्त्रिक भइदिनुहोस्, संसदप्रति उत्तरदायी भइदिनुहोस् । किनकि संसद जनताको आवाज बोल्ने थलो हो, जनताका कुरा सरकारलाई सुनाउने सर्वोच्च प्रजातान्त्रिक मञ्च पनि संसद नै हो ।’ साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले संसदलाई अपमान गरेको, संसद मार्फत सारा नेपाली जनताको लोकतन्त्र प्रतिको विश्वासलाई लत्याएको प्रमाणित भएको भन्दै संसदमा मर्यादा र थिति बासाउन नसक्ने प्रधानमन्त्री असक्षम र असफल भएको देखिएको उल्लेख गर्दै राजीनामा माग गरेका थिए ।
१५- बागमती प्रदेश सभाको चालु सत्रौ अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति ११: ५९ बजेदेखि अन्त्य गरेको प्रदेस प्रमुखको कार्यालयले जानकारी दिएको छ । कार्यालयले प्रदेश प्रमुख देवकोटाले नेपालको संबिधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्य गरेको जानकारी दिएको छ । बागमती प्रदेश सभाको सत्रौ अधिवेशन गत चैत्र २३ गतेदेखि शुरु भएको थियो ।

१६- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको ४ हजार घटेर तोलाको २ लाख ९८ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ३ लाख २ हजार ५ सयमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५५ रुपैयाँले घटेर ५३९० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ५७४५ मा कारोबार भएको थियो ।
१७- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चार कारण देखाउदै प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा मागेका छन् । साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले संसदलाई अपमान गरेको, संसद मार्फत सारा नेपाली जनताको लोकतन्त्र प्रतिको विश्वासलाई लत्याएको प्रमाणित भएको भन्दै संसदमा मर्यादा र थिति बासाउन नसक्ने प्रधानमन्त्री असक्षम र असफल भएको देखिएको उल्लेख गरेका छन् । उनले यो घटनाले संसदीय अभ्यासको इतिहासमा कालो धब्बा लगाएको उल्लेख गर्दै जनताको सार्बभौम सदनलाई अपमान गरेर त्यही संसदबाट चुनिएको प्रधानमन्त्रीले कुन नैतिकताको आधारमा आफुलाई प्रधानमन्त्री ठानिरहेको छ ? भन्दै प्रश्न गरेका छन् । आफ्नो धारातल बिर्सेर जनताका प्रश्नहरुको उत्तार दिन नसक्ने लुकेर बस्ने के प्रवृति हो यो ? यसले कस्तो नजीर बसाउछ ? भन्दै कर्तब्य पूरा नगर्दा अधिकार प्राप्त नहुने हुँदा न्युनतम कर्तब्य समेत पूरा नगरेको कारण नैतिकताको आधारमा पदबाट राजीनामा दिएर मार्ग प्रसस्त गर्दा लोकतन्त्र सम्मानित हुने, जनता सम्मानित हुने देखिने उल्लेख गरेका छन् । संसदलाई छलेर अध्यादेशको बाटो हिंड्ने सरकारलाई संसदको औचित्य र शक्ति याद दिलाउनु पर्ने देखिएको बताउदै अध्यादेशको बाटो लिएर सरकार चलाउन उद्दत प्रधानमन्त्रीले अभिभावकीय भूमिका खेल्न सकेको नदेखिएको बताउदै सीमा रक्षा गर्न नसक्ने नालायक सरकार गरीब दुःखी जनतालाई आतंकित बनाउन र बेघर बनाएर बेहाल बनाउन बाहेक अर्थोक केही नगरेको, न्युनतम जिम्मेवारी समेत पूरा नगरेको प्रति खेद व्यक्त समत गरेका छन् । साम्पाङले दिएका चार कारण: १- प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेललाई आफ्नो नीति तथा कार्यक्रम पढ्न लगाएर राष्ट्रपतिले उक्त नीति तथा कार्यक्रम पढ्दापढ्दै गरेको अवस्थामा आफू चाहिँ बाहिरिनु र सभामा नफर्कनु । २- मिति २०८३-१-३० गते नीति तथा कार्यक्रम छलफलको लागि संसदमा पेश गर्न अनुपस्थित रहनु, प्रतिपक्षहरुले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दा समेत उपस्थित नहुनु, संसदमा उपस्थित नभई नजीकै रहेको आफ्नै कार्यालयबाट संसदका सम्पूर्ण गतिविधि लाइभमा हेरिबस्नु तर उपस्थित नहुनु । ३- मिति २०८३-१-३१ गते प्रस्तुत नीति तथा कार्यक्रममा छलफल हुँदा बखत अनुपस्थित रहनु र नीति तथा कार्यक्रम बारे उठेका प्रश्नहरुको उत्तर दिन प्रधानमन्त्री स्वयम् उपस्थित रहनु पर्ने संसदीय परम्पराको बेवास्ता गरेर बिना कुनै कारण अनुपस्थित रहनु । ४- आजका मितिसम्म संसदमा कुनै पनि वैठकमा जनतालाई सम्बोध नगर्नु ।

१८- नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण, छुट नवीकरण तथा अद्यावधिकसम्बन्धी सम्पूर्ण काम आगामी जेठ २१ गतेभित्र अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने निर्णय गरेको छ । सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठक पार्टीका महामन्त्री तथा संयोजक प्रदीप पौडेलको सभापतित्वमा बसेको बैठकले जेठ २१ गते भित्र अनिवार्य रुपमा क्रियाशील अध्यावधिक गर्नुपर्ने निर्णय गरेको हो । समितिले क्रियाशील सदस्यताको अभिलेखीकरणलाई डिजिटल माध्यमबाट व्यवस्थित गर्दै नेपाली कांग्रेसलाई सबैभन्दा बलियो सदस्य सञ्जाल भएको पार्टी बनाउने लक्ष्यसहित विभिन्न प्रविधिमैत्री व्यवस्था लागू गरेको जनाएको छ । नयाँ व्यवस्थाअनुसार नेपाली कांग्रेसका प्रत्येक क्रियाशील सदस्यले आफ्नै मोबाइलमार्फत अनलाइन फाराम भरेर सदस्यता अद्यावधिक गर्न सक्नेछन् । यसका लागि पार्टीको सदस्यता पोर्टलमा ‘स्वयं सदस्यता आवेदन फाराम’ उपलब्ध गराइएको छ । अनलाइनमार्फत अद्यावधिक गर्दा समस्या आएमा ९७०१२५५५५५ नम्बरमा सम्पर्क गरेर कृत्रिम बुद्धिमत्ता आधारित सहायकमार्फत सहयोग लिन सकिने व्यवस्था गरिएको समितिले जनाएको छ । त्यसैगरी केन्द्रीय कार्यालयको डिजिटल सहायता केन्द्रका ९७१२०५६३५१ र ९७१२०५६३५२ नम्बरमा सम्पर्क गरेर पनि समस्या समाधान गर्न सकिने बताइएको छ । साथै ९७०१२५५५५५ नम्बरमा सम्पर्क गर्दा सोधिने प्रश्नहरूको उत्तर दिएर फोनबाटै अद्यावधिक फाराम भर्न सकिने सुविधा पनि मिलाइएको जनाएको छ । विदेशमा रहेका नेपाली कांग्रेससँग आवद्ध नेपाली जनसम्पर्क समितिका सदस्यका लागि समेत ‘स्वयं सदस्यता आवेदन फाराम’ उपलब्ध गराइएको काँग्रेसले जनाएको छ । समितिले सदस्यता अद्यावधिक नगर्ने तथा कांग्रेस परिचयपत्र प्राप्त नगर्ने व्यक्तिले पार्टीको १५औं महाधिवेशन प्रक्रियामा सहभागी हुन नपाउने विधानमा व्यवस्था रहेको उल्लेख गर्दै तोकिएको समयभित्रै सदस्यता अद्यावधिक गर्न र गराउन मातहत निकायलाई निर्देशन दिएको छ ।
१९- नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्यमा पाँच जनाको नाम नियुक्त गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले खुला प्रतिस्पर्धाबाट छनोट प्रक्रियामा सहभागी उम्मेदवारहरूमध्ये पाँच जना नियुक्त गरेको हो । मन्त्रालयले सार्वजनिक गरेको सूचीमा डा. दीपकप्रसाद बास्तोला (पोखरा–३०, कास्की), प्रविन भट्टराई (भरतपुर–२, चितवन), महेन्द्रभक्त श्रेष्ठ (ललितपुर–१३, ललितपुर), रूप लामिछाने (गोकर्णेश्वर–१, काठमाडौं) र लिलाराज ढकाल (आँधीखोला–६, स्याङ्जा) रहेका छन् । मन्त्रालयका अनुसार नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा ४ बमोजिम सञ्चालक सदस्य नियुक्तिका लागि गत १२ वैशाखमा सात दिने सार्वजनिक सूचना प्रकाशित गरिएको थियो । उक्त सूचनाअनुसार २७ जनाले आवेदन दिएका थिए । आवेदन दिनेहरुको शैक्षिक योग्यता, अनुभव, व्यावसायिक कार्ययोजना परीक्षण, प्रस्तुतीकरण र अन्तर्वार्ता पश्चात छनौट समितिको सिफारिसका आधारमा मन्त्रीस्तरीय निर्णयबाट पाँच जना छानिएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले नियुक्ति लिन सम्बन्धित उम्मेदवारलाई सात दिनभित्र मन्त्रालयमा उपस्थित हुन पनि आग्रह गरेको छ ।
२०- मुम्बई इण्डियन्सले जारी आइपिएलमा पञ्जाव किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा मुम्बईले पञ्जावलाई ६ विकेटले पराजित गरेको हो । पञ्जावले दिएको २०१ रनको लक्ष्य पछाएको मुम्बईले १९.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । मुम्बईको जितमा तिलक बर्माले सर्बाधिक ७५ रन बनाए भने रयान रिकेलटनले ४८ रन बनाएका थिए । त्यस्तै रोहित शर्मा र विल ज्याकले २५-२५ रन बनाए भने शेरफान रुथरफोर्डले २० रन बनाएका थिए । त्यसैगरी पञ्जावका बलर अज्मतुल्लाह ओमरजाईले २ विकेट लिए भने मार्को जानसेन र युजवेंद्र चहलले एक एक विकेट लिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पञ्जावले २० ओभरमा ८ विकेट गुमाएर २०० रन बनाएको थियो । पञ्जावका लागि प्रभसिमरन सिंहले सर्बाधिक ५७ रन बनाए भने ओज्मतुलाह ओमारजाईले ३८. प्रियांस आर्याले २२ र कूपर क्नोलीले २१ रन बनाएका थिए । यो यस सिजनमा मुम्बईको चौथो जित हो । १२ खेलमा ८ अंक हासिल गरेको मुम्बई हाल नवौं स्थानमा छ । त्यस्तै पञ्जाको भने यस सिजनमा लगातार यो पाँचौं हार हो । १२ खेलमा १३ अंकसहित पञ्जा चौथो स्थानमा रहेको छ ।



