उत्तर–पश्चिम पाकिस्तानमा आत्मघाती आक्रमणः ९ सुरक्षाकर्मीको मृत्यु, २१ जना घाइते

 

पाकिस्तानको उत्तर–पश्चिम प्रान्त खैबर पख्तुनख्वामा भएको एक आत्मघाती बम विष्फोटमा परी ९ जना सुरक्षाकर्मीको मृत्यु भएको छ भने २१ जना अन्य घाइते भएका छन् । प्रहरी स्रोतका अनुसार बाजाउर जिल्लास्थित स्काउट्स क्याम्पको मुख्यालयलाई लक्षित गरी विस्फोटक पदार्थले भरिएको एक सवारी साधन ठोक्काएर उक्त आत्मघाती आक्रमण गराइएको हो ।

Nepal life insurance

प्रारम्भिक विवरणअनुसार विस्फोटक पदार्थ बोकेको सवारी साधन मुख्यालयको मुख्य ढोकातर्फ अघि बढेको थियो । त्यहाँ तैनाथ सुरक्षाकर्मीहरूले उक्त सवारीलाई रोक्ने प्रयास गर्दा विष्फोट भएको र त्यसबाट मुख्य ढोका तथा वरपरका पर्खालहरूमा ठूलो क्षति पुगेको छ । विष्फोटलगत्तै अत्याधुनिक हतियारसहित आएका सशस्त्र विद्रोहीहरूले अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।

त्यसपछि मुख्यालयमा रहेका सुरक्षा बल र विद्रोहीहरूबीच केही समय दोहोरो मुठभेड भएको थियो । दोहोरो गोली हानाहानको क्रममा केही आतंककारीहरू पनि मारिएको बताइएको छ, यद्यपि उनीहरूको यकिन संख्या भने खुल्न सकेको छैन । गोली हानाहान रोकिएपछि सुरक्षा फौजले उक्त क्षेत्रमा उद्धार तथा खानतलासी अभियान (सर्च अपरेसन) शुरु गरेको छ । घाइते सुरक्षाकर्मीहरूलाई तत्काल उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ भने मृतकहरूको पहिचान गर्ने कार्य भइरहेको अधिकारीहरूले जनाएका छन् ।

हालसम्म कुनैपनि समूहले यस भीषण आक्रमणको जिम्मेवारी लिएको छैन । सुरक्षा बलले उक्त क्षेत्रलाई घेराबन्दी गरी थप अनुसन्धान जारी राखेको छ ।

 

Nepal life insuranceimagesimagesimages