सन्धिखर्क नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दीगोपना घोषणा (तस्बिर सहित)

 

-केशव पन्थी / अर्घाखाँची डटकम

सन्धिखर्क – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका लाई पूर्णखोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको छ । नगरपालिकाभित्र जन्मिएका तथा बसोबास गर्दै आएका सबै बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार आवश्यक सबै खोप समयमै प्राप्त गरेको सुनिश्चित भएपछि नगरपालिकालाई औपचारिक रूपमा पूर्णखोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको हो ।

images

यस घोषणाले बालबालिकाको स्वास्थ्य सुरक्षा, रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि तथा स्वस्थ समाज निर्माणतर्फ नगरपालिकाले हासिल गरेको महत्वपूर्ण उपलब्धिलाई प्रतिबिम्बित गरेको छ ।

नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइराला प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका प्रकाश परियारले गर्नुभएको थियो ।

No photo description available.

कार्यक्रममा सन्धिखर्क नगरपालिकाकी उपप्रमुख मिश्रा आचार्य, प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनाल, स्वास्थ्य शाखासँग आबद्ध गणेश पौडेल लगायतले मन्तव्य राख्दै पूर्णखोप सुनिश्चितता घोषणा नगरपालिकाको स्वास्थ्य क्षेत्रको ऐतिहासिक उपलब्धि भएको बताएका थिए ।

प्रमुख अतिथि जीवनारायण कोइरालाले बालबालिकालाई विभिन्न सरुवा तथा घातक रोगबाट जोगाउन खोप कार्यक्रमको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले स्थानीय सरकार, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र अभिभावकहरूको साझा प्रयासबाट यस्तो उपलब्धि सम्भव भएको उल्लेख गर्दै सन्धिखर्क नगरपालिकालाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

images

अध्यक्षता गर्दै नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बालबालिकाको स्वास्थ्यलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनुभयो । उहाँले पूर्णखोप सुनिश्चितता घोषणा एकदिने औपचारिक कार्यक्रम मात्र नभई आगामी दिनमा पनि खोप कार्यक्रमलाई निरन्तरता दिँदै यसको दीगोपना कायम राख्ने प्रतिबद्धता रहेको स्पष्ट पार्नुभयो । नगरभित्र कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ नियमित अनुगमन तथा अभिलेखीकरणलाई प्रभावकारी बनाइएको उहाँले जानकारी दिनुभयो ।

images

उपप्रमुख मिश्रा आचार्यले स्वस्थ बालबालिका नै समृद्ध समाजको आधार भएको बताउँदै स्वास्थ्य, पोषण र शिक्षालाई सँगसँगै अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले नगरपालिका, स्वास्थ्य संस्था र समुदायबीचको समन्वयका कारण पूर्णखोप सुनिश्चितता सम्भव भएको बताउनुभयो ।

No photo description available.

images

गणेश पौडेलले खोप कार्यक्रमको प्रभावकारिता, बालबालिकामा हुने रोग नियन्त्रणमा यसको योगदान तथा नियमित खोप सेवाको महत्त्वबारे जानकारी गराउनुभयो । उहाँले पूर्णखोप सुनिश्चिततापछि पनि खोप छुटेका बालबालिकाको खोजी, अभिभावकसँग समन्वय तथा जनचेतना अभिवृद्धि कार्यक्रमलाई निरन्तर सञ्चालन गरिने बताउनुभयो ।

कार्यक्रममा वक्ताहरूले क्षयरोग, पोलियो, दादुरा, रुबेला, डिप्थेरिया, कालीखोकी, टिटानस, हेपाटाइटिस ‘बी’ लगायतका रोगबाट बालबालिकालाई सुरक्षित राख्न खोप कार्यक्रम प्रभावकारी माध्यम भएको बताए । पूर्णखोप सुनिश्चितताले बाल मृत्युदर न्यूनीकरण, रोग नियन्त्रण तथा स्वस्थ समुदाय निर्माणमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरिएको थियो ।

कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले सन्धिखर्क नगरपालिकाले हासिल गरेको यो उपलब्धि जिल्लाकै लागि प्रेरणादायी उदाहरण भएको बताएका थिए ।

Nepal life insurance

#पूर्णखोप #सन्धिखर्कनगरपालिका #बालस्वास्थ्य #खोपअभियान #स्वास्थ्यसमाचार #अर्घाखाँची #स्वस्थसमाज #जनस्वास्थ्य #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

 

 

Nepal life insuranceimagesimagesimages