

हन्टाभाइरस सङ्क्रमण देखिएपछि चर्चामा आएको ‘एमभी होन्डियस’ नामक पर्यटकीय पानीजहाज (क्रुज शिप) सोमवार नेदरल्याण्ड्सको रोटरडम बन्दरगाह पुगेको छ । अन्तर्राष्ट्रिय स्वास्थ्य अधिकारीहरूको ध्यानाकर्षण गराएको उक्त जहाजलाई सरसफाइ तथा निस्संक्रमणका लागि त्यहाँ लगिएको हो ।

जहाज आइपुगेसँगै त्यसमा रहेका चालक दलका सदस्यहरू तत्काल क्वारेन्टिनमा बस्नुपर्ने भएको छ ।
डच स्वास्थ्य मन्त्रालयकाअनुसार आफ्नो देश फर्कन असमर्थ रहेका सदस्यहरूले नेदरल्याण्ड्समै क्वारेन्टिन अवधि पूरा गर्नुपर्नेछ । जहाज सञ्चालक कम्पनी ‘ओशनवाइड एक्सपिडिसन्स’का अनुसार हाल जहाजमा २५ जना चालक दलका सदस्य र २ जना स्वास्थ्यकर्मी गरी जम्मा २७ जना सवार छन् । जसमा १७ जना फिलिपिनी, ४ जना डच, ४ जना युक्रेनी, १ जना रुसी र १ जना पोल्याण्डका नागरिक रहेका छन् ।

तीमध्ये अधिकांश सदस्यहरू रोटरडममा ६ हप्ताको क्वारेन्टिनमा रहनेछन् । कम्पनीले एक विज्ञप्ति जारी गर्दै जहाजको सरसफाइ प्रक्रिया र चालक दलका सदस्यहरूलाई ओराल्ने कार्य समन्वयकारी र चरणवद्ध रूपमा गरिने जानकारी दिएको छ । यससँगै हन्टाभाइरसका कारण स्वास्थ्य जोखिममा परेको उक्त जहाजको यात्रा औपचारिक रूपमा टुङ्गिएको छ ।



