भारतको मध्य प्रदेशमा गुडिरहेको रेलमा आगलागी, सबै यात्रु सुरक्षित

 

 

भारतको मध्य प्रदेशस्थित रतलाम जिल्लामा एउटा गुडिरहेको रेलमा आगलागी भएको छ । दिल्लीतर्फ जाँदै गरेको राजधानी एक्सप्रेसको एउटा डिब्बामा अचानक आगो लागेको अधिकारीहरूले जनाएका छन् । उक्त घटनामा कुनैपनि मानवीय क्षति भने भएको छैन ।

मध्य प्रदेशको राजधानी भोपालबाट करिव २९५ किलोमिटर पश्चिममा पर्ने रतलाम जिल्लामा उक्त दुर्घटना भएको हो । रेलको एउटा डिब्बाबाट आगोको लप्का निस्किएको देखेपछि गार्डले तुरुन्तै लोको पाइलटलाई खबर गरेका थिए । त्यसलगत्तै रेल रोकेर आपतकालीन उद्धार प्रक्रिया शुरु गरिएको थियो ।

रेल्वे अधिकारीका अनुसार आगलागी भएको डिब्बामा ६८ जना यात्रु सवार थिए, जसलाई १५ मिनेटभित्रै सुरक्षित रूपमा बाहिर निकालिएको थियो । घटनामा कोही पनि यात्रु वा रेल्वे कर्मचारी घाइते नभएको रेल्वे प्रशासनले पुष्टि गरेको छ । आगलागी शुरु भएलगत्तै रेल्वे अधिकारीहरूले ओभरहेड विद्युतीय आपूर्ति बन्द गरी आगो निभाउने कार्य शुरु गरेका थिए ।

आगो प्रभावित डिब्बासँगै जोडिएको अर्को लगेज तथा गार्ड भ्यानमा पनि फैलिएको थियो । समयमै सावधानी अपनाइएका कारण ठूलो दुर्घटना हुनबाट जोगिएको अधिकारीहरूको भनाइ छ ।

 

Nepal life insuranceimagesimagesimages