

अर्घाखाँची डटकम संवाददाता
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. १० मा सामाजिक न्याय, लैङ्गिक समानता तथा समुदाय सशक्तिकरणका विषयमा सरोकारवालासँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । सामाजिक न्यायकालागि रुपान्तरण अभियान अन्तर्गत ‘हाम्रो साहस परियोजना’ मार्फत दलित महिला संघ र संयुक्त राष्ट्रसंघीय महिला संस्था को सहकार्यमा दलित चेतना विकास परिषद् नेपाल ले कार्यक्रम आयोजना गरेको हो ।

ग्रामीण तथा पछाडि पारिएका समुदायमा सामाजिक न्याय, लैङ्गिक समानता र समुदाय सशक्तिकरणको उद्देश्यसहित आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामाजिक अगुवा, महिला समूह तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।


कार्यक्रम सन्धिखर्क नगरपालिका वडा नं. १० का वडाध्यक्ष मोहनसिंह ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष ठकुरीले समाज रूपान्तरण र समतामूलक समाज निर्माणका लागि सबैको साझा भूमिका आवश्यक रहेको बताउनुभयो । उहाँले समाजमा विद्यमान कुसंस्कार, विभेद, हिंसा तथा समाजविरोधी परम्परालाई अन्त्य गर्दै एकताबद्ध समाज निर्माणतर्फ सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले निर्वाचनका क्रममा जनतासामु गरेका प्रतिबद्धताअनुसार स्थानीय सरकारको अनुभूति हुनेगरी काम गरिरहेको समेत बताउनुभयो । विकाससँगै सामाजिक चेतना अभिवृद्धि र समुदाय सशक्तिकरणलाई वडा कार्यालयले प्राथमिकतामा राखेको उहाँको भनाइ थियो ।


कार्यक्रममा संस्थाको तर्फबाट राधा नेपालीले दलित महिला संघले महिलावादी अभियान, समावेशी सशक्तिकरण तथा जातीय, लैङ्गिक र अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका क्षेत्रमा निरन्तर काम गर्दै आएको जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाले समुदायसँग सहकार्य गर्दै महिला सशक्तिकरण, सामाजिक न्याय तथा दिगो विकासका क्षेत्रमा विभिन्न परियोजना सञ्चालन गरिरहेको छ ।


उहाँले ‘हाम्रो साहस परियोजना’ अन्तर्गत सामाजिक हानिकारक मूल्यमान्यता न्यूनीकरण तथा लैङ्गिक समानताका लागि सामाजिक सोच र व्यवहार परिवर्तन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो ।

परियोजनाको मुख्य लक्षित वर्ग महिला, दलित समुदाय तथा युवाहरू रहेको उल्लेख गर्दै उहाँले सामाजिक कुरीति न्यूनीकरण, संस्थागत क्षमता अभिवृद्धि तथा लैङ्गिक हिंसा न्यूनीकरण परियोजनाको प्रमुख उद्देश्य रहेको स्पष्ट पार्नुभयो ।

राधा नेपालीले न्यायबाट टाढा रहेका, हिंसा तथा विभेदमा परेका महिला र बेसहारा अवस्थाका नागरिकलाई जीविकोपार्जनसँग जोड्न सामूहिक सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो । आर्थिक रूपमा कमजोर महिलाहरूलाई सशक्त बनाउँदै आत्मविश्वास र अधिकारको पुनःस्थापनामा कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उहाँको विश्वास थियो ।

कार्यक्रममा वडा सदस्य हरिलाल पराजुली, ईश्वरी मरासिनी, तारा चौहान नेपाली, सामाजिक अगुवा रामजी मरासिनी, गीता आचार्य, डिल बहादुर विक लगायतले मन्तव्य राख्दै सामाजिक न्याय र समानताको अभियानलाई गाउँस्तरसम्म प्रभावकारी रूपमा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको थियो ।

बराप पैरवी समूहकी अध्यक्ष मञ्जु विकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण पत्रकार अनिल नेपालीले गर्नुभएको थियो ।

कार्यक्रममा सहभागीहरूले सामाजिक रूपान्तरण, महिला सशक्तिकरण तथा लैङ्गिक समानतामूलक समाज निर्माणका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए ।



