फतहको आठौँ महाधिवेशन सम्पन्नः केन्द्रिय समिति र क्रान्तिकारी परिषद्का सदस्य निर्वाचित

 

प्यालेस्टिनी राष्ट्रिय मुक्ति आन्दोलन (फतह) को आठौँ महाधिवेशनले आफ्नो दुई उच्च नेतृत्व निकाय—केन्द्रिय समिति र क्रान्तिकारी परिषद्को निर्वाचन सम्पन्न गरेको छ । यस निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्दै महाधिवेशनको समापन गरिएको हो । महाधिवेशन आयोजक समितिको विज्ञप्ति अनुसार निर्वाचनमा ९४.६४ प्रतिशत मतदान भएको थियो ।

निर्वाचनको परिणामले फतहको केन्द्रीय समितिमा नौजना नयाँ सदस्यहरू निर्वाचित भएको देखाएको छ । निर्वाचित हुनेहरूमध्ये इजरायली जेलबाट हालै रिहा भएका अल–अक्सा ब्रिगेडका पूर्व कमाण्डर जकारिया जुबेदी समेत रहेका छन् । त्यसैगरी, प्यालेस्टिनी जनरल इन्टेलिजेन्स प्रमुख माजिद फराजले दोस्रो धेरै मत प्राप्त गर्दै केन्द्रिय समितिमा स्थान सुरक्षित गरेका छन् ।

हाल इजरायली कारागारमा रहेका प्रभावशाली प्यालेस्टिनी नेता मरवान बरघौटीले सबैभन्दा बढी मत प्राप्त गरेका छन् । केन्द्रिय समितिमा निर्वाचित अन्य प्रमुख व्यक्तिहरूमा प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासका छोरा यासिर अब्बास र रामल्लाह तथा अल–बिरेहकी गभर्नर लैला घिनाम रहेका छन् ।

फतहको आठौँ महाधिवेशन रामल्लाह, गाजा, बेरुत र कायरो गरी चारवटा स्थानमा एकैसाथ तीन दिनसम्म सञ्चालन भएको थियो। यस महाधिवेशनमा २ हजार ५८० भन्दा बढी सदस्यहरूको सहभागिता रहेको थियो । निर्वाचनको सफलतापछि प्यालेस्टिनी उपराष्ट्रपति हुसेन अल–शेखले यसलाई ‘लोकतान्त्रिक उत्सव’ को संज्ञा दिनुभएको छ ।

फतहको विधान अनुसार १८ सदस्यीय केन्द्रिय समिति र ८० सदस्यीय क्रान्तिकारी परिषद् यस आन्दोलनका दुई सर्वोच्च नेतृत्वदायी निकाय हुन् । गत बिहीवार शुरु भएको महाधिवेशनको पहिलो दिन नै राष्ट्रपति महमुद अब्बास सर्वसम्मतिले पुनः आन्दोलनको प्रमुख (प्रमुख नेता) चुनिनुभएको थियो । फतह प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन (पीएलओ) भित्रको सबैभन्दा ठूलो राजनीतिक दल हो । सन् १९९४ मा इजरायलसँगको अन्तरिम शान्ति सम्झौतापछि स्थापित प्यालेस्टिनी अथोरिटीको नेतृत्व पनि यसैले गर्दै आएको छ । यसअघि सन् २०१६ मा रामल्लाहमा फतहको सातौँ महाधिवेशन आयोजना गरिएको थियो ।

 

 

Nepal life insuranceimagesimagesimages