रुदाने हुन्थे नारायणगोपालको ड्राइभर, लरी चलाएर सधै लान्थे सिंहदरवार

 

रमण घिमिरे, कवि तथा लेखक

काठमाडौं, ६। नारायणगोपाललाई २०१८ सालतिरै रत्नशमशेर थापाको रचनामा उनले तारादेवीसँग गाएको गीत ‘ए कान्छा ठट्टैमा यो बैँस जान लाग्यो’ र दिलमाया खातीसँग गाएको ‘बिछोडको पीडा’ले लोकप्रिय बनाइसकेको थियो ।

तर, टाढा दार्जिलिङमा बसेर पढिरहेकी पेमाला लामालाई उनको स्वरले पहिलो झमटमै आकर्षित गरे पनि गीतका गेडाले त्यति छोएनन् । त्यसपछि पेमाला र नारायणगोपाल बीच लामो समयसम्म पत्रमित्रता चल्यो । पेमालाले एउटा चिठीमा नारायणगोपाललाई लेखिन्– ‘तपाईंको स्वरले मेरो हृदयमा छोयो तर तपाईंले अलि गम्भीर र भावपूर्ण गीतमा आफ्नो स्वर खेलाउनु भयो भने म मात्र होइन, सारा नेपाली श्रोता तपाईंका फ्यान बन्नेछन् ।’

सायद पेमालाको यही कुराले उनको पनि मन छोयो । त्यसपछि उनको गायनको मोड एक सय अस्सी डिग्रीको कोणमा परिवर्तित भयो । उनले त्यस पछि गम्भीर प्रकृतिका गीत गाए । गोपालको सङ्गीतमा ईश्वरवल्लभले लेखेको ‘जीवनदेखि धेरै धेरै नै थाकेर’ गीतमा नारायणगोपालले जुन आरोहमा आलाप लिएका छन्, सङ्गीतज्ञ अम्बर गुरुङका चेला पिटर जे कार्थक यति हाइस्केलमा गाउने गायक अहिले पनि नेपाली गायनमा जन्मिएको छैन भन्थे ।

यो निकै पछिको कुरा हो । अहिले हामी अलि अघिकै कुरा गरौँ । नारायणगोपाल त्रिचन्द्र कलेजमा पढ्थे । त्यतिवेला उनलाई गायक भनेर कसैले खुट्ट्याएकै थिएन । कक्षाका साथीहरू भेला पारेर डेस्क ठटाउँदै हिन्दी गीत गाउँथे।  रत्नशमशेर थापा पनि उनीसँग पढ्थे भने सङ्गीतकार नातिकाजी उनीहरूभन्दा एक कक्षा माथि थिए । रत्नशमशेर त्यही वेला मुक्तक र गीत लेखनमा बराबर कलम चलाउँथे । जब रत्नशमशेरसँग नारायणको सङ्गत बढ्यो, अनि उनले मौलिक गीतमा आफ्नो स्वर गुनगुनाउन थाले ।

सुरुको चरण अर्थात् ०१८ सालतिर उनले पहिलोपल्ट सार्वजनिक रूपमा दुईवटा गीत गाएका थिए, त्रिचन्द्र कलेजका नयाँ विद्यार्थीहरुको स्वागतार्थ । यो कार्यक्रम भएको थियो सिंहदरबारको नामी नाट्यशाला पुतलीबगैँचामा । त्यसबेला आजजस्तो प्रज्ञाभवन, नाचघरजस्ता प्रेक्षालयको कल्पनै थिएन । सिंहदरबार पुतली बगैँचामा एउटा हल थियो, जहाँ वेलावेला नाट्यसम्राट बालकृष्ण समका नाटकहरू पनि मञ्चित हुन्थे । समको ‘अमरसिंह’ नाटक त्यस हलमा लामो समयसम्म चलेको थियो । तर, यो अलि अघिको कुरा हो ।

हो, त्यही हलमा नारायणगोपालले पहिलोपटक मञ्चीय गायन प्रस्तुत गरेका थिए । ‘स्वर्गकी रानी मायाकी खानी’ र ‘आँखाको भाखा आँखैले’ बोलका यी दुई गीत उनले त्यस हलमा लगातार ४ दिन गाएका थिए । गीतकार रत्नशमशेरले यस पङ्क्तिकारसँग भनेका थिए– ‘ती चार दिन नारायणगोपालले प्रशंसै प्रशंसा मात्र पायो । उसले गाउँदा ‘वान्स मोर’ नभन्ने त दर्शकै हुँदैनथे ।’

ती गीतमा एकोर्डिएन बजाइदिने कलाकार थिए, सङ्गीतज्ञ नातिकाजी ।

त्यसबेला आजजस्तो सवारीसाधन सहज थिएन । शिक्षा मन्त्रालयले कताबाट बल्लबल्ल एउटा लरी (हिजोआजको ट्रकभन्दा सानो) को व्यवस्था गरिदिएको थियो । लरी पनि कुन जमानाको हुँदो हो, त्यसलाई ‘स्टार्ट’ गर्न आठ दस जना ज्यानदार मानिसले पछाडिबाट धक्का नै दिनु पथ्र्यो । अनि, यस्ता ज्यानदार मान्छेको खोजी भयो ।

यसका लागि एक्लै तयार भए खाइलाग्दा ज्यान भएका लोकगायक लालबहादुर खाती, जो पछि ‘च्यानपुल्टुङ च्यानपुल्टुङ झ्याइँ गर्ने बाजा’ बोलको लोकगीत गाएर प्रसिद्ध भए । खातीले धकेलेपछि त्यो लरी स्टार्ट गरेर हाँक्ने ड्राइभर पनि ज्यानदार नै चाहिन्थ्यो । अलि खोज्दा एक जना अर्का ज्यानदार ड्राइभर भेटिए । ती चानचुने मान्छे थिएनन् । ती थिए, ‘थाहावाद’ का प्रणेता रूपचन्द्र विष्ट ‘रुदाने’ ।

गीतकार रत्नशमशेर, गायक नारायणगोपाल, सङ्गीतकार नातिकाजी आदि कलाकार र विद्यार्थीहरू रूपचन्द्र विष्टले हाँकेको त्यसै लरीमा चढेर हरेक सिंहदरबार पुग्थे, जहाँ नारायणगोपालले आफ्नो गलाको कला देखाउने गर्थे।

(रमण घिमिरकाे फेसबुकवाट) 

 

Nepal life insuranceimagesimagesimages