अस्ट्रिया र हंगेरीबीच युरोपेली संघको ढाँचामा सहकार्य सुदृढ गर्ने सहमति

 

अस्ट्रिया र हंगेरीले युरोपेली संघ (ईयू) को संरचनाभित्र रहेर द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन सहमति जनाएका छन् । हंगेरीमा हालै भएको राजनीतिक परिवर्तनले दुई देशबीचको सम्बन्धमा नयाँ अध्याय शुरु भएको दुवै देशका नेताहरूले उल्लेख गरेका छन् ।

हंगेरीका प्रधानमन्त्री पिटर माग्यारको अस्ट्रिया भ्रमणका क्रममा अस्ट्रियाका चान्सलर क्रिस्चियन स्टकरसँग भएको उच्चस्तरीय भेटवार्तामा यो समझदारी भएको हो । अस्ट्रियन प्रेस एजेन्सी (एपीए) का अनुसार, दुवै पक्षले यसै वर्षको अन्त्यसम्ममा दुई सरकारको संयुक्त बैठक आयोजना गर्ने निर्णय समेत गरेका छन् । संयुक्त पत्रकार सम्मेलनमा बोल्दै चान्सलर स्टकरले अस्ट्रिया र हंगेरीले आपसी चासोका क्षेत्रमा सहकार्यलाई तिब्र रूपमा विस्तार गर्ने र संयुक्त परियोजनाहरू कार्यान्वयनमा ल्याउने लक्ष्य राखेको जानकारी दिए ।

यस्तै, प्रधानमन्त्री माग्यारले दुई छिमेकी मुलुकबीचको सम्बन्ध आपसी सहयोगमा आधारित शान्तिपूर्ण चरणमा प्रवेश गरेको बताउनु भयो । सो क्रममा उहाँले पोल्याण्ड, चेक गणतन्त्र, स्लोभाकिया र हंगेरी सम्मिलित क्षेत्रीय गठबन्धन ’भिसेग्राड समूह’ मा सहभागी हुन अस्ट्रियासमक्ष पुनः प्रश्ताव राख्नुभएको थियो ।

प्रधानमन्त्री माग्यारको प्रश्तावमा प्रतिक्रिया दिँदै चान्सलर स्टकरले समूहको विस्तारसम्बन्धी कुनैपनि निर्णय विद्यमान सदस्य राष्ट्रहरूसँगको समन्वयमा हुनुपर्ने र अस्ट्रिया एक्लैले यसबारे निर्णय लिन नसक्ने स्पष्ट पार्नुभयो । भेटवार्ताका क्रममा दुई नेताहरूबीच जलवायु संरक्षण, युरोपेली संघको विस्तार र आप्रवासनका चुनौतीहरूका विषयमा समेत गहन छलफल भएको थियो ।

 

 

Nepal life insuranceimagesimagesimages