दक्षिण टर्कीएमा भारी वर्षा र बाढीका कारण दुई जनाको मृत्यु

 

टर्कीको दक्षिणी प्रान्त हातायमा भारी वर्षापछि आएको भीषण बाढी, पहिरो र सडक कटानका कारण दुई जनाको मृत्यु भएको छ । टर्कीको सरकारी समाचार एजेन्सी अनादोलुकाअनुसार बुधवार राति परेको अविरल वर्षाले प्रान्तका विभिन्न क्षेत्रमा भौतिक संरचनामा क्षति पु¥याउनुका साथै जनजीवन प्रभावित तुल्याएको छ ।

अन्टाक्या जिल्लामा भारी वर्षाका कारण पहाडी भिरालोमा निर्मित एउटा घर भत्किएर सडकमा खस्दा एक जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । घटनास्थलमा परिचालित स्वास्थ्यकर्मी, अग्निनियन्त्रक, प्रहरी र विपद् व्यवस्थापन टोलीले भग्नावशेषबाट तीन जनालाई जीवितै उद्धार गरेका छन् ।

यसैगरी, अर्को एक दुर्घटनामा वर्षाका कारण सडक भासिँदा एउटा सवारी साधन अनियन्त्रित भई खोल्सामा खसेको थियो। उक्त दुर्घटनामा सवारी चालकको ज्यान गएको छ । भारी वर्षा र बाढीका कारण प्रान्तका मुख्य सडकहरूमा अवरोध सिर्जना हुनुका साथै यातायात सेवा समेत प्रभावित भएको छ । बाढीले धेरै घर र व्यावसायिक प्रतिष्ठानहरू जलमग्न बनाएको छ ।

घरभित्र थुनिएका स्थानीय बासिन्दाहरूको उद्धारका लागि अग्निनियन्त्रकहरू निरन्तर खटिरहेका छन् । स्थानीय प्रशासनले हाल प्रभावित क्षेत्रमा क्षतिको विस्तृत मूल्याङ्कन र आपत्कालीन उद्धार कार्य जारी राखेको छ ।

 

 

Nepal life insuranceimagesimagesimages