क्यालिफोर्नियामा रासायनिक ग्यास चुहावटः ४० हजार बासिन्दालाई सुरक्षित स्थानमा जान आदेश

 

अमेरिकाको दक्षिण क्यालिफोर्नियास्थित एक एयरोस्पेस उत्पादन केन्द्रमा औद्योगिक रसायन चुहावट भएपछि करिब ४० हजार बासिन्दालाई सुरक्षित स्थानमा जान (इभाकुएसन) आदेश दिइएको छ । ओरेन्ज काउन्टीको गार्डेन ग्रोभ सहरमा रहेको ‘जीकेएन एयरोस्पेस’को प्लान्टमा रहेको भण्डारण ट्याङ्कबाट ग्यास चुहावट भएपछि ठुलो विष्फोट वा विषाक्त फैलने डरले स्थानीय प्रशासनले उक्त आदेश जारी गरेको हो ।

अधिकारीहरूका अनुसार बिहीबार दिउँसो उक्त उद्योगको शीतलीकरण प्रणाली (कुलिङ सिस्टम) मा समस्या आएपछि ‘मिथाइल मेथ्याक्राइलेट’ नामक रसायन रहेको ट्याङ्क अत्यधिक तात्तिएर हानिकारक बाफ उत्सर्जन हुन थालेको थियो । मिथाइल मेथ्याक्राइलेट एक अत्यधिक प्रज्वलनशील रसायन हो, जसको प्रयोग एक्रिलिक प्लास्टिक र एयरोस्पेसका पार्टपुर्जा निर्माणमा गरिन्छ ।

यसबाट गार्डेन ग्रोभसहित अनाहिम, बुएना पार्क, साइप्रस, स्ट्यान्टन र वेस्टमिन्स्टर लगायतका क्षेत्रका बासिन्दा प्रभावित भएका छन् । सुरक्षा सतर्कतालाई ध्यानमा राख्दै गार्डेन ग्रोभ एकीकृत विद्यालय जिल्लाका धेरै विद्यालयहरू बन्द गरिएका छन् । आपतकालीन टोलीले ट्याङ्क फुट्न सक्ने वा विष्फोट हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न उच्च शतर्कता अपनाइरहेका छन् । रसायन ढल वा नजिकैका जलस्रोतमा मिसिन नदिन बालुवाका बोराहरू राखेर अवरोध सिर्जना गरिएको छ ।
हालसम्म यस घटनामा कुनै मानवीय क्षति वा कोही घाइते भएको विवरण प्राप्त भएको छैन । यद्यपि, स्वास्थ्य अधिकारीहरूले यो रसायनको सम्पर्कमा आउँदा श्वासप्रश्वासमा समस्या, चक्कर लाग्ने र वाकवाकी लाग्ने जस्ता स्वास्थ्य समस्या देखिन सक्ने चेतावनी दिएका छन् । विशेषगरी श्वासप्रश्वास सम्बन्धी समस्या भएका व्यक्तिहरूलाई यसले गम्भीर असर पार्न सक्ने बताइएको छ । अमेरिकी वातावरण संरक्षण एजेन्सी र दक्षिण तटीय वायु गुणस्तर व्यवस्थापन जिल्लाले उक्त क्षेत्रको वायुको गुणस्तर निरन्तर अनुगमन गरिरहेका छन् ।

क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमको कार्यालयले घटनाको बारेमा जानकारी लिएको र राज्यका आपतकालीन निकायहरूले स्थानीय अधिकारीहरूसँग समन्वय गरिरहेको जनाएको छ । विष्फोट वा थप चुहावट रोक्नु नै आफूहरूको मुख्य प्राथमिकता रहेको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

 

 

Nepal life insuranceimagesimagesimages