

काठमाडौँ । इन्टर मायामीको खेलमा खेलको ७२औं मिनेटमा लियोनेल मेसीले मैदान छोडेपछि उनी घाइते भएको अनुमान गरिएको छ ।
अमेरिकन लिग सकर अन्तर्गत फिलाडेल्फिया युनियनविरुद्ध सोमबार बिहान सम्पन्न खेलमा मेसीले ७२औं मिनेटमा मैदान छोडेका थिए । त्यति बेला इन्टर मियामी ४-४ को बराबरीमा रहेको थियो । यो खेल पछि इन्टर मियामीले लुइस स्वरेजको ह्याट्रिकमा ६-४ ले जित्यो ।

खेलका क्रममा मेसीले अचानक मैदान छोडेपछि समर्थकहरू चिन्तित बनेका थिए । खेलको ७२औँ मिनेटमा मेसीले देब्रे खुट्टाको पछाडिको भाग समातेका थिए । त्यसपछि उनले परिवर्तन माग्दै सिधै विश्राम कक्षतर्फ लागेका थिए । सन् २०२६ विश्वकप नजिकिँदै गर्दा उनको अवस्था लिएर चिन्ता बढेको थियो ।
तर खेलपछि पत्रकार सम्मेलनमा प्रशिक्षक होयोसले मेसीलाई चोट नलागेको स्पष्ट पारे । उनका अनुसार उनी केवल अत्यधिक थकाइका कारण बाहिरिएका हुन् । उनले भने- ‘हामीसँग कुनै चोटको जानकारी छैन । उनी साँच्चै थकित थिए, त्यो केवल थकाइ मात्र हो ।’

मांसपेशीमा समस्या भएको हो कि भन्ने प्रश्नमा पनि होयोसले खेलको शारीरिक दबाबका कारण सावधानी अपनाइएको बताए । उनले मैदानको अवस्था पनि कठिन रहेको उल्लेख गर्दै जोखिम नलिइएको स्पष्ट पारे ।
योखेल पछि अब मेसी अर्जेन्टिना राष्ट्रिय टोलीसँग विश्वकप तयारीमा जोडिनेछन् । अर्जेन्टिना आगामी जुन १६ मा अल्जेरियाविरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्ने तालिकामा छ । यसै कारण कप्तान मेसीको स्वास्थ्य अवस्थालाई प्रशिक्षक टोली र समर्थकहरूले नजिकबाट निगरानी गरिरहेका छन् । प्रशिक्षकको स्पष्टीकरणपछि अहिले समर्थकहरूलाई भने केही राहत भएको छ ।



