अर्घाखाँचीका विद्यालयमा शुल्क आतंक : सामुदायिक तथा निजी विद्यालयमा ‘Due Fee’, ‘Development Fee’ लगायत शीर्षकमा मनपरी असुली, सम्बन्धित निकाय मौन भन्दै अभिभावक आक्रोशित

अर्घाखाँची डटकम।

अर्घाखाँची- अर्घाखाँची जिल्लाका केही सामुदायिक, बोर्डिङ तथा मन्टेश्वरी विद्यालयहरूमा विभिन्न शीर्षकमा अतिरिक्त शुल्क असुल्ने प्रवृत्ति बढ्दै गएको भन्दै अभिभावकहरूबाट गुनासो आउन थालेको छ । मालारानी गाउँपालिकास्थित श्री शान्ति माध्यमिक विद्यालय मा ‘अभिभावक सहयोग’ शीर्षकमा शुल्क लिएको विषय सार्वजनिक भएसँगै जिल्लाका अन्य विद्यालयहरूमा पनि ‘Previous Due’, ‘Development Fee’, ‘Exam Charge’, ‘Activity Fee’ लगायत फरक–फरक शीर्षकमा रकम असुल्ने गरिएको जानकारी प्राप्त हुन थालेको हो ।

images

स्थानीय अभिभावक तथा सरोकारवालाहरूले प्राविधिक शिक्षातर्फ अध्ययनरत विद्यार्थीबाट उठाइएको शुल्क, विभिन्न शीर्षकमा संकलित रकम तथा विद्यालयको आयव्यय विवरणको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् ।

उनीहरूले प्रत्येक प्राविधिकतर्फका विद्यार्थीबाट लिइएको रकमको विवरण लेखापरीक्षण प्रतिवेदनसँग मेल खान्छ वा खाँदैन भन्ने विषय गम्भीर रूपमा परीक्षण हुनुपर्ने बताएका छन् । साथै साधारणतर्फ अध्ययनरत विद्यार्थीहरूबाट समेत विभिन्न शीर्षकमा रकम उठाइएको विषयमा स्पष्ट विवरण सार्वजनिक गर्नुपर्ने माग गरिएको छ ।

त्यस्तै विद्यालयमा प्राप्त हुने विभिन्न शैक्षिक अनुदान, सहयोग तथा कार्यक्रमहरूको प्रभावकारी अनुगमन नभएको भन्दै सम्बन्धित निकायको भूमिकामाथि समेत प्रश्न उठाइएको छ । केही अभिभावक तथा स्थानीयले शिक्षा शाखाबाट पर्याप्त अनुगमन नहुँदा मिलेमतोमा रकम दुरुपयोग भएको आशंका व्यक्त गर्दै मालारानी गाउँपालिकाको शिक्षा शाखाको भूमिकामाथि पनि निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

सरोकारवालाहरूले शिक्षा क्षेत्रजस्तो संवेदनशील विषयमा पारदर्शिता, उत्तरदायित्व र आर्थिक अनुशासन अनिवार्य हुनुपर्ने बताएका छन् ।

केही बोर्डिङ तथा मन्टेश्वरी विद्यालयहरूले समेत भर्ना, मासिक शुल्क र अतिरिक्त क्रियाकलापका नाममा अभिभावकमाथि आर्थिक भार थप्ने गरेको गुनासो अभिभावकहरूले गरेका छन् । विशेषगरी नयाँ शैक्षिक सत्र सुरु भएसँगै शुल्क असुलीमा मनपरी बढेको भन्दै स्थानीय स्तरमा चासो बढ्न थालेको छ ।

हाल नेपाल सरकारको प्रचलित शिक्षा नीति, स्थानीय शिक्षा ऐन तथा शिक्षा सम्बन्धी निर्देशिकाअनुसार आधारभूत तहसम्मको शिक्षा अनिवार्य तथा निःशुल्क हुने व्यवस्था गरिएको छ ।सामुदायिक विद्यालयहरूले भर्ना शुल्कका नाममा अनिवार्य रकम लिन नपाइने व्यवस्था उल्लेख गरिएको छ ।

विद्यालय सञ्चालन, परीक्षा, अतिरिक्त क्रियाकलाप वा अन्य शीर्षकमा शुल्क लिनुपरे सम्बन्धित स्थानीय तह तथा शिक्षा शाखाको स्वीकृति आवश्यक पर्ने प्रावधान रहेको छ । त्यस्तै संस्थागत (निजी) विद्यालयहरूले शुल्क निर्धारण गर्दा स्थानीय तहमा विवरण पेश गर्नुपर्ने, मनपरी शुल्क वृद्धि गर्न नपाइने तथा अभिभावकलाई स्पष्ट जानकारी दिनुपर्ने व्यवस्था शिक्षा नियमावलीमा उल्लेख छ ।

पछिल्लो समय शिक्षा तथा मानव स्रोत विकास केन्द्र र विभिन्न स्थानीय तहहरूले “अनधिकृत भर्ना शुल्क, अतिरिक्त शुल्क तथा दबाबमूलक रकम असुली नगर्न” विद्यालयहरूलाई निर्देशन दिँदै आएका छन् । कुनै विद्यालयले नियमविपरीत शुल्क असुलेको गुनासो आएमा सम्बन्धित पालिकाको शिक्षा शाखा, जिल्ला प्रशासन कार्यालय वा शिक्षा सम्बन्धित निकायमा उजुरी दिन सकिने व्यवस्था पनि रहेको छ ।

यस विषयमा अर्घाखाँचीका सांसद हरि प्रसाद भुसाल ले शिक्षा क्षेत्रमा पारदर्शिता र अभिभावकमैत्री वातावरण कायम हुनुपर्नेमा जोड दिएका छन् । सरोकारवालाहरूले विद्यालय शुल्कसम्बन्धी गुनासोमा सम्बन्धित निकायले गम्भीर रूपमा अनुगमन तथा आवश्यक छानबिन गर्नुपर्ने बताएका छन् ।

अर्घाखाँची डटकम लाई प्राप्त सुचना , जानकारीअनुसार जिल्लाका केही विद्यालयहरूमा भित्रभित्रै विभिन्न शीर्षकमा शुल्क असुल्ने कार्य भइरहेको गुनासो आइरहेको छ । यस विषयमा नियमित फलोअप, तथ्य सङ्कलन तथा सरोकारवालासँग संवादलाई निरन्तरता दिइने जनाइएको छ ।

शिक्षा क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र अभिभावकमैत्री वातावरण कायम गर्न सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्ने स्थानीयको माग रहेको छ ।


#विद्यालयशुल्क #अतिरिक्तशुल्क #अर्घाखाँची #हरिप्रसादभुसाल #शिक्षानीति #सामुदायिकविद्यालय #बोर्डिङस्कूल #मन्टेश्वरी #अभिभावकचिन्ता #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

 

 

Nepal life insuranceimagesimagesimages