

अर्घाखाँचीको सितगंगा नगरपालिकामा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुसँग वैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रम नगर प्रमुख छविलाल पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा मन्तव्य राख्दै नगर प्रमुख पौडेलले संघीय संरचना अनुरूप स्थानीय तहलाई प्राप्त अधिकार प्रयोग गर्दै वैदेशिक रोजगारीबाट फर्किएका नागरिकको पुनर्स्थापनाका लागि नीतिगत तथा कार्यक्रमगत पहललाई प्रभावकारी बनाइने उल्लेख गर्नुभयो। उहाँले प्रदेश र संघीय सरकारसँग समन्वय गरी सहुलियतपूर्ण कर्जा, सीपमूलक तालिम र उद्यम विकासका कार्यक्रम स्थानीय तहमा कार्यान्वयन गरिने स्पष्ट पार्नुभयो। साथै, वैदेशिक रोजगारीबाट फर्किएका नागरिकका समस्याप्रति नगरपालिका संवेदनशील रहेको र पुनर्स्थापनाका लागि आवश्यक पहल गरिने बताउनुभयो।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले वैदेशिक रोजगारीबाट फर्किएका कामदारको पुनर्स्थापना तथा सीप उपयोगसम्बन्धी नीति र प्रदेश सरकारको रोजगार तथा उद्यमशीलता प्रवर्द्धन कार्ययोजनासँग तालमेल मिलाउँदै आगामी आर्थिक वर्षमा विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा सहभागीहरूसँग अन्तरक्रिया गर्दै विदेशमा भोग्नुपरेका समस्या, स्वदेश फर्किएपछि पुनःस्थापित हुनुपरेका चुनौती तथा अनुभवहरूबारे व्यापक छलफल गरिएको थियो। सहभागीहरूले सीपअनुसारको रोजगारी, सहुलियतपूर्ण कर्जा तथा लक्षित कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका थिए।

कार्यक्रममा सामीका जिल्ला संयोजक वसन्त श्रेष्ठले वैदेशिक रोजगारी सम्बन्धी अनुशिक्षण दिनुभएको थियो भने कार्यक्रम सञ्चालन नगरपालिका रोजगार संयोजक रमेश कुमार बेल्बासेले गर्नुभएको थियो।
#Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD #SitgangaMunicipality #ForeignEmployment #ReturneeMigrantWorkers #EmploymentProgram #SkillDevelopment #NepalNews #LocalGovernment #UdyamSilsila



