

बाँके – “आजको रक्तदान, भोलिको मुस्कान” भन्ने नारासहित राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेशको आयोजनामा बाँकेको जानकी गाउँपालिकामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

जानकी गाउँपालिका कार्यालय, मानपुर बाँकेको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त संचार केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा आयोजित उक्त कार्यक्रमले सामाजिक सेवामा रक्तदानको महत्वलाई उजागर गरेको छ।


कार्यक्रम जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँको प्रमुख आतिथ्य र उपाध्यक्ष रामप्यारी यादवको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि खाँ लगायत विशिष्ट अतिथिहरूलाई नेपाल रेडक्रस प्रादेशिक रक्त संचार केन्द्र नेपालगन्जका सोम प्रकाश सापकोटाले रक्तदान सामग्री (प्याकेज) हस्तान्तरण गर्दै गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष छब्बन खाँले रक्तदान केवल सामाजिक सेवा मात्र नभई व्यक्तिको स्वास्थ्यका लागि पनि लाभदायक रहेको उल्लेख गर्दै यसले बिरामी तथा आपतकालीन अवस्थामा रहेका व्यक्तिहरूको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

त्यसैगरी सभाध्यक्ष तथा उपाध्यक्ष रामप्यारी यादवले गाउँपालिकामा रगत अभावका कारण रातिको समयमा समेत फोन आउने अवस्था रहेको उल्लेख गर्दै रक्तदानले ग्रामीण क्षेत्रमा रहेका गरिब तथा असहाय नागरिकको जीवन रक्षा गर्न महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। उहाँले गाउँपालिकाले पछिल्ला दिनमा रक्तदान कार्यक्रमलाई प्राथमिकता दिँदै आएको पनि जानकारी दिनुभयो।

कार्यक्रममा पत्रकार, जनप्रतिनिधि, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूमा पत्रकार प्रेम एसके, पवन जैसवाल, दिनेश ठाकुर, लक्ष्मी तिमिल्सेना, शम्भु चौधरी, राष्ट्रिय दलित पत्रकार संघ केन्द्रीय सदस्य भीम बहादुर नेपाली, केन्द्रीय पार्षद कुशल दर्लामी, बर्दिया जिल्ला अध्यक्ष दल बहादुर सुनार, बाँके कार्यवाहक अध्यक्ष आशा परियार, जानकी सूचना केन्द्रका पूर्वअध्यक्ष नारायण पाल, समाजसेवी गीता वि.क., सामाजिक विकास समिति संयोजक रामअभल धोबी, प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, योजना शाखा प्रमुख शोभा पौडेल, आईटी प्रमुख विकास जिसी तथा रेडक्रसका सोम प्रकाश सापकोटा लगायत रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै आयोजक राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेश अध्यक्ष टेकेन्द्र बस्यालले रक्तदान कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै संघ–संस्था, जनप्रतिनिधि, पत्रकार तथा सहभागीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रममा कुल ६७ जनाको सहभागिता रहेकोमा स्वास्थ्य परीक्षणपछि २१ जनाले रक्तदान गरेका थिए।
#DalitJournalistFederation #BloodDonation #JankiGaunpalika #Banke #NepalNews #SocialService #LifeSaving #RedCrossNepal #CommunityService #BloodDonationProgram #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD



