लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन: अर्घाखाँचीका सभासद रामजी घिमिरे बने लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री
जेष्ठ २१ गते, २०८३ मा प्रकाशित
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन: अर्घाखाँचीका सभासद रामजी घिमिरे बने लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री
-अर्घाखाँची डटकम
अर्घाखाँची । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ मन्त्रीहरूलाई मन्त्रालयगत जिम्मेवारी तोक्नुभएको छ। पुनर्गठनसँगै अर्घाखाँचीका प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरे स्वास्थ्य मन्त्री नियुक्त हुनुभएको छ।
मुख्यमन्त्री आचार्यले नेकपा (एमाले) बाट चार जना र जनता समाजवादी पार्टी (जसपा) बाट एक जना गरी पाँच नयाँ मन्त्रीलाई मन्त्रिपरिषद्मा समावेश गर्नुभएको हो।
पुनर्गठित मन्त्रिपरिषद्अनुसार तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यस्तै जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ।
नवनियुक्त मन्त्रीहरूको शपथग्रहण आगामी जेठ २५ गते सोमबार हुने तय भएको छ। अर्घाखाँचीबाट निर्वाचित रामजी घिमिरे स्वास्थ्य मन्त्री बनेसँगै जिल्लावासीमा समेत उत्साह थपिएको छ।