माउन्ट एभरेष्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने, १४ लाखभन्दा बढी कित्ता सेयर सर्वसाधारणलाई

 

काठमाडौं, २१ जेठ । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने मिति तय गरेको छ। कम्पनीले असार ३ गतेदेखि १४ लाख २७ हजार ६ सय कित्ता आईपीओ बिक्री खुला गर्ने भएको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा उक्त सेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको जनाएको छ। यसअघि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरी बाँडफाँड गरिसकेको कम्पनीले अब दोस्रो चरणअन्तर्गत सर्वसाधारणलाई सेयर बिक्री गर्न लागेको हो।

सर्वसाधारणका लागि खुला हुने आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्युयर रेटिङ’ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

आईपीओमा आवेदन दिने अवधि छिटोमा असार ८ गतेसम्म रहनेछ। सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि असार १७ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखामार्फत आवेदन दिन सक्नेछन्। साथै, ‘मेरो सेयर’ प्रणालीबाट अनलाइन आवेदनको व्यवस्था पनि गरिएको छ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईएमबि एस क्यापिटल लिमिटेडले सम्हालेको छ।

 

 

Nepal life insuranceimagesimagesimages