

ललितपुर, २१ जेठ । टिकटकर तुलसा अधिकारी जेल चलान भएकी छन् ।

जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले ठगी प्रकरणमा समातिएकी अधिकारीलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो। उनलाई नख्खु कारागार लगिनेछ ।

ललितपुरका जिल्ला प्रहरी प्रमुख एसएसपी होबिन्द्र बोगटीका अनुसार कुमार चिमोरियाको जाहेरीले नेपाल सरकार वादी रहेको उक्त मुद्दामा टिकटकर अधिकारी, अशोककुमार अग्रवालसहित १० जना प्रतिवादी रहेका छन् । उनीहरुका विरुद्ध आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध र सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) समेतको कसुरमा मुद्दा चलार्ईएको थियो ।

चिमोरियाले गत साउन २४ गते टिकटकर अधिकारी माथी ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको आरोपसहित जाहेरी दिएका थिए । साथै, टिकटकर अधिकारीको २१ करोड सम्पत्तिको स्रोत नखुलेका कारण सम्पत्ति शुद्धीकरण मुद्दासमेत चलाइएको छ ।

२०८२ भदौदेखि फरार उनी चीन हुँदै थाइल्याण्ड पुगेपछि गत शुक्रबार अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल इन्टरपोलको सहयोगमा पक्राउ परेकी थिइन् ।



