रास्वपा अर्घाखाँची जिल्ला अधिवेशन: नेतृत्व दौड रोचक बन्दै, सभापति पदमा बाबुराम भुसालको सशक्त दाबेदारी

 

अर्घाखाँची डटकम संवाददाता

अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको बहुप्रतीक्षित जिल्ला अधिवेशन आगामी २०८३ जेठ  २४ गते सन्धिखर्कस्थित सभाहलमा हुने भएको छ। जिल्ला पार्टीले अधिवेशनको सम्पूर्ण तयारी तीव्र बनाएको जनाएको छ। अधिवेशनको मिति नजिकिँदै जाँदा जिल्लाभर राजनीतिक चहलपहल बढेको छ भने नेतृत्व चयनलाई लिएर कार्यकर्तामाझ उत्साह र चासो समेत बढ्दै गएको छ।

Nepal life insurance

पार्टीका अनुसार अधिवेशनले नयाँ जिल्ला नेतृत्व चयन गर्नुका साथै आगामी कार्यदिशा, संगठन विस्तार, जनसम्पर्क अभियान तथा जिल्लामा पार्टीको भूमिकाबारे महत्वपूर्ण निर्णय गर्नेछ। जिल्लाभरबाट प्रतिनिधिहरूको सहभागिता रहने अधिवेशनलाई रास्वपा अर्घाखाँचीको संगठनात्मक रूपमा महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

अधिवेशनमा जिल्ला सभापति लगायत विभिन्न पदमा प्रतिस्पर्धा हुने संकेत देखिएको छ। यसैबीच समाजसेवी तथा रास्वपा अर्घाखाँचीका जिल्ला नेता बाबुराम भुसालले पनि जिल्ला सभापति पदमा आफ्नो सशक्त दाबेदारी प्रस्तुत गरेका छन्।

भुसालले आफू लामो समयदेखि पार्टी संगठन निर्माण, जनसम्पर्क विस्तार तथा जिल्लाका विविध सामाजिक र राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएको उल्लेख गर्दै आगामी नेतृत्वले पार्टीलाई अझ व्यवस्थित, सशक्त र जनमुखी बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

उनले पार्टीभित्र विधि, प्रक्रिया, पारदर्शिता, जवाफदेहिता र संस्थागत निर्णय प्रणालीलाई बलियो बनाउने आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन्। साथै अर्घाखाँचीका विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगार तथा सुशासनका सवाललाई पार्टीको प्रमुख एजेन्डाका रूपमा अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

भुसाल भन्छन्, “आज देशको राजनीतिक संकट केवल सरकार परिवर्तनको विषय होइन, राजनीतिक संस्कार परिवर्तनको विषय पनि हो। भ्रष्टाचार, शक्ति दुरुपयोग, नातावाद र कृपावादप्रति जनतामा बढ्दो असन्तुष्टि देखिएको छ। यस्तो अवस्थामा जनताको बीचमा रहेर काम गर्न सक्ने, स्पष्ट धारणा राख्ने र उत्तरदायी नेतृत्वको आवश्यकता बढेको छ।”

उनले आफ्नो उम्मेदवारीलाई केवल पद प्राप्तिको प्रयासका रूपमा नभई पार्टीभित्र सकारात्मक राजनीतिक संस्कृति निर्माण गर्ने अभियानका रूपमा लिन आग्रह गरेका छन्।

भुसालले भने, “नेतृत्व भाषणले होइन, काम, इमानदारी, आचरण र जनतासँगको सम्बन्धले प्रमाणित हुन्छ। पार्टीका प्रतिनिधि, नेता तथा कार्यकर्ताले मेरो योगदान र क्षमताको निष्पक्ष मूल्याङ्कन गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।”

रास्वपा अर्घाखाँचीभित्र नेतृत्व चयनलाई लिएर विभिन्न तहमा छलफल, भेटघाट र परामर्श जारी रहेका छन्। सभापति पदका लागि अन्य आकांक्षीहरू पनि सक्रिय देखिएसँगै यसपटकको अधिवेशनमा रोचक र प्रतिस्पर्धात्मक माहोल बन्ने अनुमान गरिएको छ।

जिल्लाका राजनीतिक विश्लेषकहरूका अनुसार अधिवेशनबाट चयन हुने नेतृत्वले आगामी दिनमा अर्घाखाँचीमा रास्वपाको संगठन विस्तार, जनविश्वास अभिवृद्धि तथा पार्टीको राजनीतिक प्रभाव बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ।

अधिवेशनको मिति नजिकिँदै जाँदा नेतृत्वका आकांक्षीहरूले आ–आफ्ना योजना, दृष्टिकोण र संगठन निर्माणका अवधारणासहित प्रतिनिधिहरूसँग संवाद बढाएका छन्। यही कारणले पनि रास्वपा अर्घाखाँचीको आगामी जिल्ला अधिवेशनलाई जिल्लाको राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

#रास्वपा_अर्घाखाँची #जिल्ला_अधिवेशन #बाबुराम_भुसाल #सन्धिखर्क #रास्वपा #अर्घाखाँची #Arghakhanchicom #ArghakhanchicomHD #Arghakhanchidotcom

 

Nepal life insuranceimagesimagesimages

अन्य समाचारहरु