मौसम विभागको उच्च सतर्कता अपनाउन आग्रह : १४ जिल्लामा तातो लहरको जोखिम, भैरहवामा तापक्रम ४१ डिग्री पुग्यो

मौसम विभागको उच्च सतर्कता: १४ जिल्लामा तातो लहरको जोखिम, भैरहवामा तापक्रम ४१ डिग्री पुग्यो

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले तराईका विभिन्न जिल्लामा आगामी तीन दिनसम्म तातो हावा तथा तातो लहर (Heat Wave) को प्रभाव रहने चेतावनी दिँदै सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

मौसम पूर्वानुमान महाशाखाले बिहीबार अपराह्न विशेष बुलेटिन जारी गर्दै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुग्ने सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार बिहीबार देशकै उच्च तापक्रम भैरहवामा ४१ डिग्री सेल्सियस मापन गरिएको छ भने नेपालगञ्जमा ४० डिग्री सेल्सियस पुगेको छ। बढ्दो गर्मीसँगै मधेश र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा मध्यम स्तरको तातो लहर चल्ने सम्भावना रहेको विभागले जनाएको छ।

विभागले बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, पश्चिम नवलपरासी, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लाका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

त्यस्तै कञ्चनपुर, कैलाली, पूर्वी नवलपरासी, चितवन, सुनसरी, मोरङ र झापा जिल्लाका नागरिकलाई पनि मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा हेर्न अनुरोध गरिएको छ।

मौसमविद्हरूका अनुसार तातो हावा तथा तातो लहरका कारण अत्यधिक थकान, कमजोरी, टाउको दुख्ने, चक्कर लाग्ने, शरीरमा पानीको कमी हुने, मांसपेशी बाउँडिने, बान्ता हुने तथा बेहोस हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्छन्।

विभागले चर्को घामको समयमा सकेसम्म घरभित्र वा चिसो स्थानमा बस्न, अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन, हल्का तथा सुतीका कपडा लगाउन, बाहिर निस्कँदा टाउको छोप्न र प्रशस्त मात्रामा पानी तथा झोल पदार्थ सेवन गर्न सुझाव दिएको छ। स्वास्थ्यमा कुनै समस्या देखिएमा तत्काल स्वास्थ्यकर्मीको परामर्श लिन पनि आग्रह गरिएको छ।

 

#तातो_लहर #मौसम_चेतावनी #HeatWave #भैरहवा #रुपन्देही #लुम्बिनी #मौसम_अपडेट #नेपाल_मौसम #Arghakhanchicom #ArghakhanchicomHD #Arghakhanchidotcom

 

Nepal life insuranceimagesimagesimages