कारागारबाट उपचारका नाममा बाहिरिएका हत्याका आरोपीको ‘होटल र टिकटक’ काण्ड

 

सञ्जय मिश्रा

रौतहट २२ जेठ।  रौतहट जिल्ला कारागार गौरमा पुर्पक्षका लागि थुनामा रहेका हत्या अभियोगका आरोपी शेख नुरुल्लाह उपचारको बहानामा बाहिरिएर सरकारी सवारीसाधनको दुरुपयोग गर्दै होटलमा आरामसँग बसेर खाना खाएको र टिकटक भिडियो बनाएको तथ्य सार्वजनिक भएको छ। देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल शाहले प्रयोग गर्ने सरकारी गाडी चढेर वीरगन्ज पुगेका नुरुल्लाहको गतिविधिले राज्य संयन्त्र कै भूमिकामाथि गम्भीर प्रश्न उठाएको हो।

देवाही गोनाही नगरपालिका–१ का पूर्ववडाध्यक्षसमेत रहेका नुरुल्लाह ७८ वर्षीय शेख तैयब हत्या प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्। उनी गत मंगलबार दिउँसो करिब १२ बजे गौर कारागारबाट प्रहरी निगरानीमा उपचारका लागि वीरगन्जतर्फ लगिएका थिए।

तर उपचारका लागि लगिएको भनिए पनि सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा उनी वीरगन्जको एक होटलमा सहज रूपमा खाना खाइरहेको देखिन्छ। ‘एमडीलार्ड’ नामक फेसबुक आइडीबाट सार्वजनिक टिकटक भिडियोमा उनले “वेट एन्ड सी” भन्दै चुनौतीपूर्ण अभिव्यक्ति दिएको सुनिन्छ। भिडियोमा नजिकै प्रहरी कर्मचारीसमेत उभिएको स्पष्ट देखिन्छ।

घटना बाहिरिएपछि कारागार प्रशासन र प्रहरी प्रशासन दुवैको भूमिकामाथि प्रश्न उठेको छ। गौर कारागारका जेलर प्रदीप पौडेलले उपचारका लागि दुई कैदी वीरगन्ज पठाइएको स्वीकार गरे पनि होटलमा बसेर टिकटक बनाइएको विषयमा आफूलाई जानकारी नभएको दाबी गरेका छन्। उनले घटनाबारे आन्तरिक छानबिन गर्ने बताएका छन्।

यस्तै, रौतहटका प्रहरी प्रमुख एसपी सीताराम रिजालले उपचारका क्रममा नुरुल्लाहले कलैयामा खाना खाएको जानकारी आएको बताएका छन्। उनका अनुसार छोरा समेत साथमा रहेकाले भोक लागेपछि खाना खाएको बुझिएको हो। तर उपचार यात्राको क्रममा कुनै दुरुपयोग भएको प्रमाणित भएमा छानबिन गरिने उनले स्पष्ट पारेका छन्।

images

२०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम ९हाल जसपा० बाट वडाध्यक्ष निर्वाचित भएका नुरुल्लाहमाथि २०८० जेठ ११ गते देवाही गोनाही–१ करुनियाका ७८ वर्षीय शेख तैयबको गोली हानी हत्या गरेको आरोप छ। उनी २०८१ वैशाखमा पक्राउ परेका थिए र हाल पुर्पक्षका लागि कारागारमा छन्।

images

उपचारका नाममा कारागारबाट बाहिरिएका थुनुवाले सरकारी गाडी प्रयोग गर्नु, होटलमा आराम गर्नु र सामाजिक सञ्जालमा भिडियो बनाउनु सामान्य लापरबाही हो कि राज्य संयन्त्रकै संरक्षणमा भएको विशेष सुविधा रु भन्ने प्रश्न यतिबेला सर्वत्र उठ्न थालेको छ। अब यसको उत्तर छानबिनले दिनेछ।

 

images

Nepal life insuranceimagesimagesimages