
काठमाडौं । फिफा विश्वकप २०२६ को खेल अनधिकृत रूपमा प्रत्यक्ष प्रसारण गर्ने ३८ वटा वेबसाइट तथा मोबाइल एपमाथि सरकारले प्रतिबन्ध लगाउने प्रक्रिया अघि बढाएको छ। प्रतिलिपि अधिकार संरक्षण तथा आधिकारिक प्रसारण अधिकारको सुनिश्चितताका लागि सूचना तथा सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) लाई आवश्यक कारबाही गर्न निर्देशन दिएको हो।
नेपालमा फिफा विश्वकप २०२६ को आधिकारिक प्रसारण अधिकार प्राप्त कम्पनी एस प्रो मिडिया प्रालिका अध्यक्ष सोम धितालले अनधिकृत रूपमा खेल प्रसारण गरिरहेका तथा प्रसारण गर्न सक्ने वेबसाइट र मोबाइल एपहरू बन्द गर्न मन्त्रालयसमक्ष औपचारिक अनुरोध गरेका थिए। सोही अनुरोधका आधारमा मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको जनाएको छ।

प्राधिकरणले इन्टरनेट सेवा प्रदायक (ISP) तथा मोबाइल सेवा प्रदायकहरूसँग समन्वय गरी प्रतिलिपि अधिकार उल्लंघन गर्ने र अवैध रूपमा विश्वकप प्रसारण गर्ने ३८ वटा प्लेटफर्ममाथि पहुँच रोक्ने प्रक्रिया सुरु गरिसकेको छ। यस कदममार्फत विश्वकपका खेलहरू आधिकारिक माध्यमबाहेक अन्यत्रबाट प्रसारण हुन नदिने सरकारको तयारी रहेको छ।


प्रतिबन्धको सूचीमा Sportzfy, Cricfy TV, Susmiplays जस्ता मोबाइल एपहरूका साथै Smartcric, Webcric, CricHD, Ronaldo7, StreamEast लगायतका चर्चित स्ट्रिमिङ वेबसाइटहरू परेका छन्। यी प्लेटफर्महरूले अनुमति बिना खेलकुद सामग्री प्रसारण गर्दै आएको आरोप छ।
सरकारको यो कदम केवल प्रतिलिपि अधिकार संरक्षणमा मात्र सीमित छैन। हालै विश्वकपका नाममा निःशुल्क लाइभ स्ट्रिमिङको प्रलोभन देखाएर साइबर ठगीका घटनासमेत बढिरहेका छन्। नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार विश्वकप हेर्न भन्दै डाउनलोड गरिएका अनधिकृत एप र लिंकमार्फत लाखौं रुपैयाँ ठगी भएका उजुरीहरू प्राप्त भएका छन्। सर्वसाधारणलाई आधिकारिक प्लेटफर्मबाहेक अन्य लिंक वा एप प्रयोग नगर्न आग्रह गरिएको छ।

दूरसञ्चार प्राधिकरणका अनुसार विश्वकप प्रसारण अधिकार प्राप्त आधिकारिक संस्थाको लगानी र कानुनी अधिकारको संरक्षण गर्नुका साथै डिजिटल पाइरेसी नियन्त्रण गर्न यो अभियान सञ्चालन गरिएको हो। प्राधिकरणले अवैध प्रसारणमा संलग्न थप वेबसाइट तथा एपहरू फेला परेमा भविष्यमा पनि कारबाही जारी रहने जनाएको छ।
फुटबलप्रेमी दर्शकहरूलाई विश्वकपका खेलहरू केवल आधिकारिक प्रसारण माध्यमबाट मात्र हेर्न र शंकास्पद वेबसाइट तथा एपहरूबाट टाढा रहन सम्बन्धित निकायहरूले अनुरोध गरेका छन्।

#FIFAWorldCup2026 #WorldCup #DigitalPiracy #NTA #LiveStreaming #CyberSecurity #argakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD




