कालीकोटमा भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण शुरु (तस्बिर सहित )

कर्णाली प्रदेशको कालीकोट जिल्लास्थित सान्नीत्रिवेणी गाउँपालिका–४ मा श्री जनज्योति माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ । भारत सरकारको करिव ९ करोड ३० रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको यो परियोजना कालीकोट जिल्लाकै पहिलो ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ हो ।

यस परियोजनाको कार्यान्वयन सान्नीत्रिवेणी गाउँपालिकामार्फत गरिने जानकारी दिइएको छ । शिलान्यास कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तथा अन्य सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गर्नुभयो । नयाँ भौतिक पूर्वाधारको निर्माणसँगै विद्यार्थी र शिक्षकहरूका लागि गुणस्तरीय सिकाइ वातावरण सुदृढ हुने विश्वास उनीहरूले व्यक्त गरेका छन् ।

नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले एक भिडियो सन्देशमार्फत यस परियोजनाका सम्पूर्ण सरोकारवालाहरूलाई शुभकामना व्यक्त गर्नुभयो ।  राजदुत श्रीवास्तवले साझा विकास र समृद्धि हासिल गर्न नेपाल सरकार र नेपाली जनतासँग सहकार्य गर्ने भारत सरकारको दृढ प्रतिबद्धतालाई पुनः दोहो¥याउनु भयो । उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत भारत सरकारले नेपालका सातै प्रदेश र ७४ जिल्ला समेट्ने गरी हालसम्म करिव ६ सय वटा परियोजनाहरू सञ्चालन गरिसकेको छ । जसमध्ये १८ वटा परियोजनाहरू कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा अवस्थित छन् ।

यसका अतिरिक्त, भारत सरकारले कर्णाली प्रदेशको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कार्यरत विभिन्न संस्थाहरूलाई हालसम्म ५६ वटा एम्बुलेन्स र १४ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिसकेको छ । यसमा कालीकोट जिल्लाले प्राप्त गरेका ४ वटा एम्बुलेन्स र २ वटा स्कुल बस समेत समावेश छन् ।

नजिकको छिमेकीको नाताले नेपाल र भारतबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ । प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास गरी समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासमा यो परियोजनाले थप बल पु¥याउने विश्वास लिइएको छ ।

images