अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं, ३० जेठ। अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई हालै प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमि नगरपालिका-९ बस्ने दोलखा शैलुङ गाउँपालिका-२ घर भएकी ४५ वर्षीया रूकु कुमारी श्रेष्ठ र काठमाडौं टोखा नगरपालिका(६ बस्ने मोरङ उर्लाबारी नगरपालिका(६ घर भएका ३५ वर्षीय शैलेन्द्र शाक्य रहेका छन् ।

पक्राउ मध्ये रूकु कुमारीले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३५ लाख रूपैयाँ र शैलेन्द्रले क्रोएशिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रूकु कुमारीलाई भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ बाट र शैलेन्द्रलाई काठमाडौं महानगरपालिका-११ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।