
केशव पन्थि अर्घाखाँची ड्टकम।
अर्घाखाँची, जेठ ३०। नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँचीको १७ औँ स्थापना दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ। स्थापना दिवसको अवसरमा आयोजित विशेष समारोहमा जिल्लाका अग्रज पत्रकार, सञ्चारकर्मी, जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।


नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचीव रविन प्रियासन प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रियासनले लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरण, सुशासन प्रवर्द्धन तथा नागरिक अधिकारको संरक्षणमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। उहाँले पत्रकारिता क्षेत्रलाई थप मर्यादित, उत्तरदायी, विश्वसनीय र जनमुखी बनाउन पत्रकारहरूबीच एकता, पेशागत प्रतिबद्धता र निरन्तर क्षमता विकास आवश्यक रहेको उल्लेख गर्नुभयो। सत्य, तथ्य र निष्पक्ष पत्रकारितामार्फत समाज रूपान्तरणमा सञ्चारकर्मीको भूमिका अझ प्रभावकारी बन्नुपर्ने उहाँको भनाइ थियो।


कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइराला, सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल, प्रमुख जिल्ला अधिकारी तोजनारायण सुवेदी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सचिव पाण्डव शर्मा तथा प्रदेश कोषाध्यक्ष प्रेमनारायण आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।


वक्ताहरूले प्रेस स्वतन्त्रताको संरक्षण, पत्रकारको पेशागत सुरक्षाको प्रत्याभूति तथा सञ्चारमाध्यमको संस्थागत विकासका लागि सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले बदलिँदो सूचना प्रविधिको युगमा पत्रकारितालाई थप जिम्मेवार, तथ्यपरक र जनउत्तरदायी बनाउन आवश्यक रहेको धारणा राखेका थिए।

स्थापना दिवसका अवसरमा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका संस्थापक अध्यक्ष विष्णु भुसालसहित पूर्व अध्यक्षहरू निमबहादुर रिजाल, हिमबहादुर जीसी ‘लेकाली’, शोभाखर पन्थी तथा अशोक खनाललाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो। पत्रकारिता क्षेत्रको विकास, संस्थागत सुदृढीकरण तथा प्रेस स्वतन्त्रताको पक्षमा पुर्याएको योगदानको कदर गर्दै उहाँहरूलाई सम्मान गरिएको महासंघले जनाएको छ।


सम्मानित व्यक्तित्वहरूले पत्रकारिता क्षेत्रमा बिताएका अनुभवहरू सुनाउँदै नयाँ पुस्ताका पत्रकारलाई सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारितामा केन्द्रित हुन आग्रह गर्नुभयो। उहाँहरूले पत्रकारिता पेशा चुनौतीपूर्ण भए पनि समाज परिवर्तनको महत्वपूर्ण माध्यम भएकाले यसको गरिमा कायम राख्न सबै सञ्चारकर्मी प्रतिबद्ध हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, पूर्व पत्रकार महासंघ पदाधिकारी, सञ्चारकर्मी तथा सरोकारवालाहरूले समेत शुभकामना मन्तव्य व्यक्त गरेका थिए। सहभागीहरूले पत्रकारिताको वर्तमान अवस्था, देखिएका चुनौती, अवसर तथा आगामी दिनमा महासंघले निर्वाह गर्नुपर्ने भूमिकाबारे आ–आफ्ना विचार राखेका थिए।

स्थापना दिवस समारोहमा महासंघको स्थापना कालदेखि पत्रकारिता क्षेत्रको विकासमा योगदान पुर्याउने व्यक्तित्वहरूको योगदानको स्मरणसमेत गरिएको थियो। पत्रकारिता क्षेत्रको इतिहास, उपलब्धि र आगामी कार्यदिशाबारे समेत छलफल गरिएको कार्यक्रममा जिल्लाको सञ्चार क्षेत्रलाई थप सबल र प्रभावकारी बनाउने विषयमा विशेष जोड दिइएको थियो।


कार्यक्रमको समापन गर्दै महासंघका अध्यक्ष गणेश खनालले पत्रकारहरूको पेशागत हकहित, प्रेस स्वतन्त्रताको संरक्षण तथा व्यावसायिक पत्रकारिताको विकासका लागि महासंघ निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले पत्रकारितामा देखिएका चुनौतीहरूको सामूहिक रूपमा सामना गर्दै जिल्लाको सञ्चार क्षेत्रलाई थप सशक्त बनाउने दिशामा महासंघ अग्रसर रहने बताउनुभयो।

नेपाल पत्रकार महासंघ अर्घाखाँचीले स्थापना दिवसलाई पत्रकारिता क्षेत्रको सुदृढीकरण, पेशागत एकता, अनुभव आदानप्रदान तथा पत्रकारहरूको मनोबल अभिवृद्धि गर्ने अवसरका रूपमा मनाएको जनाएको छ।















