विश्वकपमा स्पेनले पहिलो खेल खेल्दै, ‘ब्लु शार्क्स’ केप भर्डेले दिन सक्ला चुनौती ?

काठमाडौँ । स्पेनले विश्वकप २०२६ मा आफ्नो पहिलो खेल खेल्दै समूह एच अन्तर्गत प्रतियोगितामामा पहिलो पटक सहभागी केप भर्डेसँग आजराती खेल्दैछ ।

यो खेल नेपाली समय अनुसार आज राति ९: ४५ बजेदेखि अमेरिकाको एटलान्टास्थित मर्सिडिज बेन्ज स्टेडियममा हुदैछ ।

यस विश्वकपकै प्रमुख दाबेदार मानिएको स्पेन यस खेलमा स्पष्ट रूपमा बलियो टोली मानिएको छ । तर विश्वकपको सुरुवातमा आएको ठूलो जितले अन्तिम सफलता सुनिश्चित हुँदैन भन्ने उदाहरण स्पेनले आफैं चार वर्षअघि देखिसकेको छ । त्यतिबेला उसले पहिलो खेलमा कोस्टारिकालाई ७–० ले हराएको थियो तर पछि अन्तिम १६ मा मोरोक्कोसँग हार्दै बाहिरिएको थियो । त्यसपछि सुरुवाती चमक कमजोर प्रतिद्वन्द्वीविरुद्ध मात्र सीमित भएको थियो ।

यसैले यो खेल ठूलो जित मात्र नभई स्थिर प्रदर्शन, साफ खेल र गोल अन्तर सुधार्ने अवसरका रूपमा हेरिएको छ ।

मुख्य प्रशिक्षक लुइस दे ला फुएन्तेले खेलअघि लामिन यमल दोस्रो हाफमा केही समय खेल्ने र उनी चोटबाट पूर्ण रूपमा निको भइसकेको बताएका छन् । त्यस्तै निको विलियम्स पनि बेन्चबाट मैदानमा आउने सम्भावना छ, जसको उद्देश्य उनको फिटनेस सुधार गर्नु र समूह चरणको पछिल्लो खेलमा यमलसँग मिलेर विङ्ग आक्रमणलाई बलियो बनाउनु हो ।

स्पेनको सुरुवाती टोलीमा बार्सिलोनाका तीन खेलाडी पाउ कुबार्सी, पेड्री र फेरान टोरेस रहेका छन् । अन्तिम अभ्यास खेलमा पेरुविरुद्ध यी तीनै खेलाडी राम्रो फर्ममा देखिएका थिए । पेड्रीलाई टोलीको सबैभन्दा महत्वपूर्ण खेलाडीमध्ये एक मानिएको छ र आक्रमणको धेरैजसो खेल उनैबाट अघि बढ्ने अपेक्षा गरिएको छ । त्यस्तै फेरान टोरेसले लामिन यमलको अनुपस्थितिमा सुरु गर्ने अवसर पाएका छन् र उनले राम्रो प्रदर्शन गर्दै आगामी खेलहरूमा पनि स्थान बनाउन चाहन्छन् । त्यस्तै गाभी र डानी ओल्मो पनि बेन्चबाट अवसर पाएमा प्रभाव छोड्ने लक्ष्यमा छन् ।

यस विश्वकपमा कतार, हाइटी र अष्ट्रेलियाजस्ता टिमले यस विश्वकपमा कमजोर मानिएका टोलीलाई हल्का रूपमा लिन नहुने देखाइसकेका छन् । केप भर्डे पनि कमजोर मानिए पनि स्पेनलाई कडा चुनौती दिन सक्ने क्षमता राख्छ ।

एटलान्टिक महासागरमा रहेका १० वटा टापुहरूको यो देशले विश्वकपमा ऐतिहासिक डेब्यु गर्दैछ । अफ्रिकाका १० प्रतिनिधिमध्ये एकका रूपमा केप भर्डे पहिलो पटक विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा उत्रिन लागेको हो । पोर्चुगलबाट स्वतन्त्र भएको ५० वर्ष पूरा भएको अवसरसँगै आएको यो ‘सपना जस्तो’ छनोट यात्रापछि केप भर्डेले विश्वकप स्थान सुरक्षित गरेको हो । ६ लाखभन्दा कम जनसंख्या भएको यो देश जनसंख्याका हिसाबले विश्वकप पुग्ने तेस्रो सबैभन्दा सानो राष्ट्र बनेको छ । यसअघि २०१८ मा आइसल्यान्ड र २०२६ मै कुरासाओले पनि यो उपलब्धि हासिल गरेका थिए ।

images

पछिल्ला वर्षहरूमा केप भर्डेले आफ्नो टोलीलाई क्रमशः बलियो बनाउँदै विश्व फुटबलमा विश्वास दिलाउँदै आएको छ । २०१३ मा पहिलो पटक अफ्रिका कप अफ नेसन्समा छनोट हुँदै क्वार्टरफाइनलसम्म पुगेपछि उनीहरूको अन्तर्राष्ट्रिय पहिचान बनेको थियो । राष्ट्रिय टोलीले अहिले विभिन्न देशमा खेल्ने खेलाडीहरूलाई समेट्दै आफ्नो टोली विस्तार गरेको छ । केप भर्डेका अधिकांश खेलाडीहरु पोर्चुगल, नेदरल्याण्डस र अमेरिकाका विभिन्न क्लबमा खेल्ने गर्दछन् ।

केप भर्डेका फर्वार्ड डाइलोन लिभ्रामेन्टोले छनोट चरणमा चार गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले अंगोला र क्यामरुनविरुद्ध निर्णायक गोल पनि गरेका थिए र समूहमा संयुक्त रूपमा सर्वाधिक गोलकर्ता बनेका थिए ।

images

केप भर्डेको टोलीको जिम्मेवारी पूर्व कप्तान पेड्रो लिताओ ब्रिटो, जसलाई प्रेमपूर्वक ‘बुबिस्ता’ भनेर चिनिन्छ, ले सम्हालिरहेका छन् । उनी सन् २०२० देखि टोलीको मुख्य प्रशिक्षकका रूपमा छन् । आगामी चुनौतीमा उत्कृष्ट नतिजा निकाल्न उनले बलियो र अनुशासित रक्षात्मक रणनीतिमा भर पर्नुपर्नेछ ।

‘ब्लु शार्क्स’ भनेर चिनिने केप भर्डेले अफ्रिकी छनोट चरणको अत्यन्त कठिन समूहलाई शीर्ष स्थानमा समाप्त गर्दै उत्तर अमेरिकाको विश्वकप यात्रा सुनिश्चित गरेको हो । यो देशको इतिहासमै पहिलो विश्वकप सहभागिता हो, जसलाई वास्तविक परीकथा जस्तो उपलब्धि मानिएको छ । घरेलु मैदानमा देखाएको मजबुत प्रदर्शन यस सफलताको मुख्य आधार बनेको थियो, जसमा क्यामरुनविरुद्धको महत्वपूर्ण जित पनि समावेश छ ।

images