
काठमाडौं, १ असार। आइतबार नेपाल पर्यटन बोर्डको सभाकक्षमा आयोजित एक विशेष समारोहबीच सातजना लेखक तथा कथाकारका नौवटा बालसाहित्यका कथा कृतिहरू एकसाथ लोकार्पण गरिएको छ। नेपाली बालसाहित्यको श्रीवृद्धिका लागि नयाँ पुस्तामा पठन संस्कृति विकास गर्ने उद्देश्यसहित आयोजित उक्त कार्यक्रममा यमुना पराजुलीका ‘थोपाहरूको घुमघाम’ र ‘छिरबिरेको तागत’, जितेन्द्र रसिकको ‘सुपर पावर’, श्रीश भण्डारीका ‘पाँच साथी’ र ‘भाडाकुँडाको भोज’, बिन्दु अधिकारी ढकालको ‘कौशी खेती’, मणि लोहनीको ‘भगेराको भोक’, सजनी नौबागेको ‘बाबालाई उपहार’ र रविन्द्र मानन्धरको ‘चन्द्र यान’ सार्वजनिक गरिएका हुन्।
कार्यक्रममा वक्ताहरूले बाल मनोविज्ञानमा आधारित यस्ता सिर्जनाहरूले बालबालिकाको कल्पनाशीलता र सिर्जनात्मक क्षमताको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए। बालसाहित्य क्षेत्रमा एकैपटक यति ठूलो संख्यामा कृतिहरू लोकार्पण हुनुले नेपाली बालसाहित्यको बजार र गुणस्तरमा थप उत्साह थपेको टिप्पणी गरिएको छ।


विभिन्न विषयवस्तु र परिवेश समेटिएका यी पुस्तकहरूले बालबालिकाको पठन रुचि बढाउन र उनीहरूलाई नेपाली मौलिक कथावस्तुसँग जोड्न थप सहयोग पुर्याउने विश्वास आयोजकले लिएको छ। कार्यक्रम अक्षर आँगनको आयोजना गरेको हो ।





