आत्मघाती गोलले इजिप्ट विश्वकपमा पहिलो जितबाट वञ्चित, बेल्जियमसँग बराबरी

काठमाडौँ । दोस्रो हाफमा भएको आत्मघाती गोलका कारण इजिप्ट विश्वकप इतिहासमै पहिलो जित हासिल गर्नबाट वञ्चित भएको छ। समूह ‘जी’ अन्तर्गत सियाटलमा भएको उद्घाटन खेलमा बेल्जियमले १–१ को बराबरी गर्दै एक अंक जोगाएको हो ।

इजिप्टले खेलको २१औँ मिनेटमा अग्रता लिएको थियो । अल अह्लीका मिडफिल्डर इमाम आशुरले करिब २० यार्ड टाढाबाट प्रहार गरेको शक्तिशाली प्रहार बेल्जियमका गोलरक्षक थिबाउट कोर्टोइसलाई पार गर्दै जालीको कुनामा पुगेको थियो ।

तर ६६औँ मिनेटमा बेल्जियमले बराबरी गोल फर्कायो । थोमस मुनिएरले दिएको तल्लो क्रसलाई इजिप्टका रक्षक मोहम्मद हानीले आफ्नै पोस्टमा छिराएका थिए । उनी बेल्जियमका वैकल्पिक खेलाडी रोमेलु लुकाकुको दबाबमा थिए ।

सन् १९३४ मा पहिलोपटक विश्वकपमा सहभागी भएको इजिप्ट विश्वकपमा आठ खेलपछि पहिलो जितको खोजीमा थियो । अमेरिकाको पश्चिमी तटमा रहेका ठूलो संख्याका इजिप्टेली समर्थकहरूले टोलीलाई उत्साहपूर्ण समर्थन गरेका थिए ।

तर अन्ततः सात पटकको अफ्रिकी च्याम्पियन इजिप्टले अन्तिम समयसम्म दबाब झेल्दै बराबरी जोगाउन सफल भयो। यससँगै इजिप्टले विश्वकपमा आफ्नो इतिहासमा तेस्रो पटक मात्रै हार टार्न सफल भएको छ ।