काठमाडौं नै नदेखेका सन्तबहादुरले केएमसीमा यसरी पाए निःशुल्क उपचार

काठमाडौं। पश्चिम रुकुमको आठबीसकोट नगरपालिका निवासी सन्तबहादुर देवकोटाको जीवन सामान्य संघर्षमै बितिरहेको थियो। परिवारको गुजारा चलाउन उनी कहिले ज्यालामजदुरी गर्थे, कहिले काठका मुढा बोक्ने र लोड गर्ने काममा खटिन्थे। जीवन कठिन थियो, तर चलिरहेकै थियो। यत्तिकैमा एक दिनको घटनाले उनलाई अचानक मृत्युको मुखमा पुर्‍यायो।

अर्घाखाँचीमा ट्र्याक्टरमा काठका मुढा लोड गर्ने क्रममा अचानक एउटा ठूलो मुढा उनको पेटमा ठोक्किन पुग्यो। त्यसको चोट यति गम्भीर थियो कि उनी घटनास्थलमै बेहोस भए। त्यसपछि कहाँ लगियो, कसले उठायो, के भयो भन्ने कुनै स्मरण छैन उनीसँग। बेहोस अवस्थामा उनलाई एम्बुलेन्समार्फत बुटवलस्थित अस्पताल पुर्‍याइयो। परीक्षणपछि चिकित्सकहरूले पेटभित्र गम्भीर क्षति पुगेको पत्ता लगाए। चोटका कारण उनको आन्द्रा छिनेको थियो। त्यहाँ प्रारम्भिक शल्यक्रिया गरिए पनि अवस्था जटिल रहेकाले थप उपचारका लागि काठमाडौं रिफर गरियो।

देवकोटाका लागि काठमाडौं भनेको नाम मात्र सुनेको शहर थियो। उनले जीवनमा कहिल्यै राजधानी देखेका थिएनन्। तर जीवन जोगाउने आशामा उनकी पत्नीले श्रीमान्लाई साथ लिएर एम्बुलेन्समा काठमाडौंको यात्रा तय गरिन्। उपचारको खोजीमा राजधानी आइपुगेपछि उनीहरू एउटा सरकारी अस्पताल पुगे। तर त्यहाँ आईसीयू बेड उपलब्ध भएन। बिरामीको अवस्था निरन्तर जटिल बन्दै गइरहेको थियो।

अपरिचित शहर, गम्भीर बिरामी, आर्थिक अभाव र उपचारको अनिश्चितता। यस्ता अनेकौं चुनौतीका कारण उनीहरू लगभग निराश भइसकेका थिए। त्यही दौडधूपका क्रममा उनीहरूले काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र त्यसका सञ्चालक सुनीलकुमार शर्माले आर्थिक रूपमा कमजोर तथा अप्ठ्यारोमा परेका बिरामीलाई उपचारमा सहयोग गर्ने गरेको कुरा सुने।

त्यसपछि उनीहरू काठमाडौं मेडिकल कलेज पुगे। त्यहाँ कार्यरत डाक्टर प्रवीण घिमिरेमार्फत सन्तबहादुरको कथा सुनील शर्माको कानसम्म पुग्यो। त्यसलगत्तै शर्माकै निर्देशनमा केएमसीको दुवाकोट युनिटमा देवकोटाको निःशुल्क उपचार सुरु भयो। उपचारको खर्च मात्र होइन, कुरुवाका लागि खानबस्ने व्यवस्थासमेत निःशुल्क गरियो।

केएमसी दुवाकोटमा पुगेपछि डाक्टर स्पन्दन अधिकारीको नेतृत्वमा चिकित्सक टोलीले उनको सघन उपचार सुरु ग¥यो। डाक्टर अधिकारीका अनुसार पेटमा लागेको चोटका कारण सन्तबहादुरको सानो आन्द्रामा प्वाल परेको थियो। उनी बुटवलमा शल्यक्रिया गराएर केएमसी आइपुगेका भए पनि त्यहाँबाट चुहावट भइरहेको अवस्था थियो। चोटका कारण डुडेनम भनिने आन्द्राको करिब ६० प्रतिशत भाग फुटेको थियो।

उपचारका क्रममा सुरुमा उनको पेटमा विशेष फिडिङ ट्युब राखिएको थियो र त्यसैमार्फत खाना खुवाइन्थ्यो। अस्पतालमा रहँदा केएमसीका नर्सिङ स्टाफले उनलाई आफ्नै परिवारका सदस्यझैँ स्याहारसुसार गरे। खानपानदेखि दैनिक हेरचाहसम्म नर्सहरूले विशेष ध्यान दिएका थिए। उपचारपछि अहिले उनी मुखबाटै खाना खान सक्ने अवस्थामा पुगेका छन्।

केही साताअघिसम्म जीवन र मृत्युबीच संघर्ष गरिरहेका सन्तबहादुर अहिले निको भएर घर फर्किने तयारीमा छन्। उनको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ। उनकी पत्नीका लागि पनि त्यो समय कम पीडादायी थिएन। अपरिचित शहरमा गम्भीर बिरामी श्रीमान्लाई लिएर अस्पताल–अस्पताल धाउँदाको तनाव, आर्थिक चिन्ता र जीवन जोगाउने संघर्ष उनी अझै बिर्सन सकेकिरहेकी छैनन्। तर अहिले दुवैको अनुहारमा हाँसो, खुशी छाएको छ। उनीहरू उपचारमा संलग्न चिकित्सक, नर्सिङ स्टाफ, अस्पताल प्रशासन र सुनील कुमार शर्माप्रति मुक्तकण्ठले आभार व्यक्त गरिरहेका छन्। काठमाडौं नदेखेको सन्तबहादुर दम्पती आज सुनील शर्माको सहयोगका कारण त्यही शहरबाट नयाँ आशा, नयाँ भरोसा र नयाँ जीवनसहित घर फर्किने तयारीमा छ।