
काठमाडौं, असार ५ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेको छ। यसको प्रभावले देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा बादल लागेको छ भने तराईका धेरै स्थानमा मौसम मुख्यतः सफा रहेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही पहाडी क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन्।


यता, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रहरूमा तातो लहर (Heat Wave) को जोखिम रहेको छ भने बागमती र गण्डकीका तराई भूभागमा पनि गर्मी बढ्ने अनुमान गरिएको छ।

रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना रहने विभागले जनाएको छ।
मौसमविद्हरूले चट्याङ, वर्षा तथा अत्यधिक गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।





