अनुदानको मल जथाभावी बेचेको आरोपमा अर्घाखाँचीमा एक जना नियन्त्रणमा

अर्घाखाँची, २०८३ असार ४ गते। किसानका लागि सरकारले उपलब्ध गराएको अनुदानको मल जथाभावी बिक्री गरेको आरोपमा अर्घाखाँची प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सन्धिखर्कले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नयाँ नेपाल एग्रोमार्टका सञ्चालक युवराज पौडेललाई नियन्त्रणमा लिएको जानकारी दिएको हो।

मलमा अनुदान कटौती गर्ने सरकारको निर्णयविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा

प्रहरीका अनुसार, सन्धिखर्क नगरपालिका वडा नं. १, शान्ति बँगैचामा रहेको नयाँ नेपाल एग्रोमार्टका सञ्चालक पौडेललाई २०८३ असार ४ गते नियन्त्रणमा लिइएको हो। उनी पाणिनी गाउँपालिका वडा नं. ७ स्थायी ठेगाना भई हाल सन्धिखर्कमा बस्दै आएका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मी प्रसाद पन्थीले जारी गरेको विज्ञप्तिमा किसानलाई वितरण गर्नुपर्ने अनुदानको मल जथाभावी बिक्री गरेको आशङ्कामा पौडेललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उल्लेख छ। यस घटनाले किसानहरूका लागि आएको मलमा हुने अनियमिततालाई उजागर गरेको छ।
प्रहरीले यस विषयमा गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको र दोषीमाथि कारबाही हुने जनाएको छ।