नवलपरासी पश्चिममा बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते

काठमाडौँ । नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–२ चिसापानीस्थित पूर्व-पश्चिम राजमार्गमा शनिबार बिहान बस र ट्रक एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

शनिबार बिहान करिब ५ बजे काठमाडौँबाट त्रिवेणीतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०६६५ नम्बरको बसले चिसापानीमा यात्रु ओराली सडक मोड्ने क्रममा सोही दिशातर्फ आइरहेको ना ५ ख १९०५ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा विनयी त्रिवेणी गाउँपालिका–६ की ३० वर्षीया नेहा गुरुङ गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि चिसापानी अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा विनयी त्रिवेणी गाउँपालिका–६ का ३२ वर्षीय मदन क्षेत्री, बस चालक बर्दघाट नगरपालिका–४ का ४८ वर्षीय लक्ष्मण ज्ञवाली र प्रतापपुर गाउँपालिका–९ का ३५ वर्षीय दिनानाथ चौधरी घाइते भएका छन् ।

घाइतेमध्ये चालक ज्ञवालीलाई थप उपचारका लागि रुपन्देहीस्थित देवदह मेडिकल कलेजमा रिफर गरिएको छ भने अन्यको चिसापानी अस्पतालमा उपचार भइरहेको छ । बसमा सवार १५ यात्रुमध्ये ११ जना सकुशल रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि ट्रक चालक धादिङको सिद्धलेक गाउँपालिका–३ का २३ वर्षीय विष्णु थापा मगरलाई नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।