नक्कली गहनाले भाँडियो विवाह, भारतबाट बेहुलीबिनै जन्ती फर्कियो

सञ्जय मिश्रा
रौतहट, ९ असार । भारतको बिहार राज्यस्थित पूर्वी चम्पारण जिल्लाको सुगौली थाना क्षेत्रको बेलवतिया गाउँमा नक्कली गहनाको विवादले विवाह समारोह नै भाँडिएको छ।

सिन्दूरदान हुनै लाग्दा बेहुलीलाई चढाइएको गहना नक्कली भएको आरोप लागेपछि दुवै पक्षबीच विवाद चर्किएको थियो। अन्ततः विवाह रोकिएसँगै नेपालका बारा जिल्लाबाट पुगेको जन्ती टोली बेहुली बिनै फर्किएको छ।

जानकारी अनुसार बारा जिल्लाको परसौतीपुर गाउँका युगल सहनीका छोरा सुभाषकुमार सहनीको जन्ती बेलवतिया पुगेको थियो। दुवै परिवारको सहमतिमा विवाहका सम्पूर्ण तयारी पूरा भएका थिए। स्वागत, जयमाला लगायतका अधिकांश वैवाहिक कार्यक्रम सम्पन्न भइसकेका थिए भने अन्तिम चरणको सिन्दूर दानको तयारी भइरहेको थियो।

यही क्रममा बेहुलीलाई उपहार स्वरूप चढाइएका गहनाको परीक्षण गर्दा ती नक्कली भएको दाबी गरियो। उक्त विषय सार्वजनिक भए पछि विवाहस्थलमा तनाव सिर्जना भएको र दुवै पक्षबीच चर्काचर्की सुरु भएको बताइएको छ।

बेहुलीका पिता लक्ष्मीनारायण सहनीले केटा पक्षको मागअनुसार नगद तथा अन्य उपहारहरू पहिल्यै उपलब्ध गराइसकेको अवस्थामा नक्कली गहना चढाइएको जानकारी पाए पछि विवाह अघि बढाउन अस्वीकार गरेको बताएका छन्। उनका अनुसार यस्तो व्यवहार गर्ने परिवारमा छोरीको भविष्य सुरक्षित नहुने निष्कर्षसहित विवाह रोकिएको हो।

विवाद बढ्दै जाँदा बेहुली पक्षले विवाहका लागि गरिएको खानपान, सजावट तथा अन्य व्यवस्थापनमा भएको खर्चको क्षतिपूर्ति माग गरेको थियो। रातभर स्थानीय स्तरमा छलफल, पञ्चायती र सहमतिको प्रयास भए पनि कुनै निष्कर्ष ननिस्किए पछि विवाह स्थगित मात्रै होइन, पूर्ण रूपमा भंग भएको बताइएको छ।

घटनापछि स्थानीय प्रहरी घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको थियो। प्रहरी, जनप्रतिनिधि तथा गाउँका अगुवाहरूको उपस्थितिमा दुवै पक्षबीच पटक–पटक वार्ता भए पनि विवाद समाधान हुन सकेन।

अन्ततः विवाह सम्पन्न हुन नसकेपछि नेपालबाट पुगेको जन्ती टोली निराश बनेर घर फर्किएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। यो घटनाले दुवै परिवारमा मात्र होइन, स्थानीय क्षेत्रमा समेत व्यापक चर्चा पाएको छ।