इजिप्ट विश्वकपको नकआउट चरणमाः समर्थकद्वारा ऐतिहासिक सफलताको भव्य उत्सव

सन् २०२६ को फिफा विश्वकपमा इजिप्टको राष्ट्रिय टोली पहिलो पटक समूह चरण पार गर्दै नकआउट चरणमा प्रवेश गरेपछि देशभर उत्सव मनाइएको छ । इजिप्टका क्याफे, घर र अपार्टमेन्टका बार्दलीहरूमा समर्थकहरूको उत्साहजनक नाराबाजी र खुशीयाली सुनिएको थियो । समूह ‘जी’ को आफ्नो अन्तिम खेलमा इरानसँग १–१ गोलको बराबरी खेल्दै ‘द फ्यारोज’ उपनामले चिनिने इजिप्टको टोलीले ऐतिहासिक उपलब्धि हासिल गरेको हो । यो बराबरीसँगै इजिप्टले तीन खेलबाट ५ अंक जोड्दै समूहको दोस्रो स्थान सुरक्षित ग¥यो ।

सोही समूहको अर्को खेलमा न्युजिल्याण्डलाई ५–१ को फराकिलो अन्तरले पराजित गरेको बेल्जियम समूह विजेताको रूपमा अर्को चरणमा पुगेको छ ।

विश्वकपको इतिहासमा इजिप्टको यो चौथो सहभागिता हो । यसअघि सन् १९३४, १९९० र २०१८ मा विश्वकप खेलेको इजिप्ट पहिलो पटक नकआउट चरणमा पुग्न सफल भएको हो ।

समर्थकहरूले आफ्नो टोलीको यो यात्रा अझै अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । ऐतिहासिक सफलता हात पारेको इजिप्टले अब आगामी जुलाई ३ मा हुने ‘राउन्ड अफ ३२’ को खेलमा अस्ट्रेलियाको सामना गर्नेछ ।