आजको मौसम : देशभर बदली, केही स्थानमा वर्षा जारी, भारी वर्षाको पनि सम्भावना

काठमाडौं — जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ।

महाशाखाका अनुसार अहिले देशभर सामान्यतया बदली रहेको छ। बागमती प्रदेशका केही स्थान तथा कोशी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। देशका हिमाली र पहाडी भू–भागका केही स्थान तथा तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ। साथै, देशका पहाडी तथा तराई भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने र कोशी, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।