
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रार कार्यालयमा आकस्मिक अनुगमन गरेका छन् । मन्त्रालयका सचिव कृष्णबहादुर राउतसहितको टोलीसँग कार्यालय पुगेएकी यादवले सेवा प्रवाह, प्रविधिको प्रयोग तथा प्रशासनिक व्यवस्थाको अवस्थाबारे जानकारी लिएकी हुन् ।
अनुगमनका क्रममा कम्पनी रजिष्ट्रार कृष्णकुमारी श्रेष्ठले पछिल्लो एक महिनामा कार्यालयले गरेको सुधारबारे मन्त्री यादवलाई जानकारी गराएका थिए । उहाँका अनुसार सरकारको शासकीय सुधारसम्बन्धी प्रतिवेदनको सुझाव कार्यान्वयन गर्दै कम्पनी दर्ता प्रक्रियालाई पूर्ण रूपमा अनलाइन प्रणालीमा रूपान्तरण गरिएको छ ।

नयाँ व्यवस्थाअनुसार अब कम्पनी दर्ताका लागि सेवाग्राही कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ। घरबाटै अनलाइनमार्फत सम्पूर्ण प्रक्रिया पूरा गर्न सकिने व्यवस्था लागू गरिएको छ । साथै कम्पनी दर्तापछि स्थायी लेखा नम्बर प्राप्त गर्न आन्तरिक राजस्व कार्यालयमा छुट्टै जानुपर्ने आवश्यकता पनि हटाइएको छ। प्रविधिको एकीकृत प्रयोगबाट समय र लागत दुवै बचत हुने कार्यालयको दाबी छ ।


कार्यालयले सेवाग्राहीका गुनासा तथा जिज्ञासा समाधानका लागि कृत्रिम बौद्धिकता प्रविधिमा आधारित सहायता केन्द्र पनि सञ्चालनमा ल्याएको जनाएको छ। यसमार्फत चौबीसै घण्टा कम्पनी दर्तासम्बन्धी जानकारी तथा सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
अनुगमनका क्रममा मन्त्री यादवले कार्यालयका विभिन्न शाखाको निरीक्षण गर्दै सेवाग्राहीलाई कुनै पनि प्रकारको झन्झट हुन नदिन र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन नयाँ प्रविधिको अधिकतम प्रयोग गर्न निर्देशन दिएकी थिइन् ।

यसैबीच, डिजिटल प्रणाली पूर्ण रूपमा लागू भएसँगै कार्यालयले जनशक्ति व्यवस्थापनमा पनि परिवर्तनको प्रस्ताव अघि सारेको छ । रजिष्ट्रार श्रेष्ठले प्रविधिको प्रभावकारी प्रयोगबाट कम कर्मचारीबाट पनि छिटो र बढी काम गर्न सकिने उल्लेख गर्दै २८ प्रतिशत कर्मचारी कटौतीको प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसमक्ष पेस गरिएको जानकारी दिइन् । यसबाट प्रशासनिक खर्चमा उल्लेखनीय कमी आउने विश्वास कार्यालयको छ ।
अनुगमन कार्यक्रममा मन्त्रालयका सचिव कृष्णबहादुर राउतसहितको टोली सहभागी रहेको थियो। निरीक्षणका क्रममा रजिष्ट्रार श्रेष्ठले मन्त्री तथा मन्त्रालयको टोलीलाई कार्यालयका विभिन्न कार्यकक्ष र सेवा प्रवाह प्रणालीबारे जानकारी गराएका थिए ।





