सर्पसँग खेल्ने क्रममा अर्घाखाँचीका २३ वर्षीय युवाको दुःखद निधन

अर्घाखाँची, असार २० — अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१, चिदिका बडडाँडा निवासी २३ वर्षीय पुष्कर कुमालको सर्पले टोकेपछि उपचारका क्रममा दुःखद निधन भएको छ।

स्थानीयवासीका अनुसार कुमालले सर्पसँग खेल्ने तथा समात्ने क्रममा अचानक सर्पले टोकेपछि उनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो। घटना लगत्तै परिवार तथा स्थानीयले उनलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएका थिए। तर अस्पताल पुग्नासाथ चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरेका थिए।

घटनापछि चिदिका बडडाँडा क्षेत्र शोकमग्न बनेको छ। युवा अवस्थामै भएको उनको असामयिक निधनले परिवार, आफन्त र स्थानीयवासीलाई स्तब्ध बनाएको छ।

स्थानीयहरूले सर्पसँग खेल्ने, समात्ने वा अनावश्यक जोखिमपूर्ण गतिविधि नगर्न सबैलाई आग्रह गरेका छन्। विशेषगरी वर्षायाममा सर्पको जोखिम बढ्ने भएकाले सर्प देखिएमा आफैं समात्ने प्रयास नगरी सुरक्षित दूरी कायम गर्दै सम्बन्धित निकाय वा सर्प उद्धारमा दक्ष व्यक्तिको सहयोग लिनुपर्ने उनीहरूको भनाइ छ।

सर्पदंशको घटना भएमा झारफुक वा घरेलु उपचारमा अल्झिनुभन्दा बिरामीलाई सकेसम्म छिटो नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पुर्‍याउन स्वास्थ्यकर्मीहरूले पनि आग्रह गर्दै आएका छन्।